भूकम्पले भत्काएका सार्वजनिक भवनको निर्माण सुस्त गतिमा

- November 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेका दर्जनौं सार्वजनिक भवनको अझै पनि पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम थालेपनि पुनर्निर्माण हुन नसकेको हो ।

अति महत्वका क्षेत्र मानिने स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाका भवनसमेत अझै पुनर्निर्माण सुरु भएको छैन । हालसम्म ६७१ वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणले ७ हजार ५५३ सार्वजनिक विद्यालय पुनर्निर्माण गर्ने लक्ष्य राखेकोमा ५ हजार ६३ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणका अनुसार १ हजार ८१८ विद्यालय निर्माणाधीन छन् ।

प्राधिकरणले ४० हजार ७९८ वटा सार्वजनिक विद्यालयका कक्षाकोठा पुनर्निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यसमा २५ हजार १२८ वटा पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले १२ हजार ६५९ वटा निर्माणाधीन रहेको जनाएको छ । ३ हजार ११ वटाको निर्माण कार्य भने सुरु भएको छैन ।

अति महत्वको क्षेत्र मानिएको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणमा समेत सरकारले कम चासो देखाएको पाइएको छ । भूकम्पको चार वर्ष बित्दा अझै स्वास्थ्य संस्थाका ३८३ भवनहरूको निर्माण सुरु भएको छैन । प्राधिकरणले ५४४ वटा भवन पुनर्निर्माण र ६५३ वटा भवनको प्रबलीकरण गर्ने लक्ष्य राखेकोमा ३१४ वटाको पुनर्निर्माण र ३५१ वटाको प्रबलीकरण सम्पन्न गरेको छ भने ७५ वटा पुनर्निर्माण र ७४ वटाको प्रबलीकरण जारी छ ।

सरकारी भवनको पुनर्निर्माणमा भने सरकारले सक्रियता देखाएको छ । १६२ वटा भवनको पुनर्निर्माण र २५३ भवनको प्रबलीकरण गर्ने लक्ष्य राखेकोमा अब चारवटाको मात्र काम सुरु हुन बाँकी छ । ७१ वटाको पुनर्निर्माण सम्पन्न भएको भने २४० वटाको प्रबलीकरण भएको छ । ८९ वटाको पुनर्निर्माण र ११ वटाको प्रबलीकरण जारी छ ।
सरकारले ८९१ वटा पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्ने लक्ष्य राखेकोमा ३८० वटाको निर्माण सम्पन्न गरेको छ । १२३ वटाको पुनर्निर्माण जारी रहेको प्राधिकरणले जनाएको छ । ३८८ पुरातात्त्विक सम्पदाको पुनर्निर्माण भने अझै पनि सुरु हुन सकेको छैन ।

सुरक्षा निकायतर्फ पनि अझै ६६ वटाको निर्माण सुरु हुन सकेको छैन । ३८३ वटाको पुनर्निर्माण गर्ने लक्ष्य रहेकोमा १६५ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने ५२ वटाको पुनर्निर्माण जारी छ ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!