बुलबुल समुद्री आँधीका कारण लाखौं मानिस प्रभावित

- November 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ढाका,कात्तिक २४ । समुद्री आँधी बुलबुल बंगालको खाडीमा आइपुग्दा भारत र बंगलादेशमा बीस लाखभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ । सो आँधी शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बंगालमा प्रवेश गरेको थियो । आँधीका कारण समुद्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । आँधीका कारण भारतको पश्चिम बंगाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ । जसमा निकै व्यस्त रहने कोलकाता विमानस्थल समेत रहेको छ ।

समुद्री आँधी बुलबुलको मार्गमा खतरामा परेको बेंगल टाइगर प्रजातिको बाघको बसोबास रहेको सुन्दरवन समेत परेको छ । बुलबुलले पश्चिम बंगालको तटीय क्षेत्रमा प्रभाव पारेको छ । आँधीको केन्द्र पश्चिम बंगालको २४ परगना जिल्लाको सुन्दवन नेशनल पार्कबाट दक्षिणमा रहेको बताइएको छ । यहाँबाट पश्चिम बंगालको तटीय सीमा करिब १२ किलोमिटर टाढा रहेको छ ।

सो आँधीका क्रममा केही स्थानमा ठूलो हावा चल्नुका साथै कतिपय स्थानमा रुख ढलेका छन् । भारतको उडिसामा पनि आँधीका कारण कृषि क्षेत्रमा नोक्सानी भएको छ । उडिसाका उत्तरी–तटीय जिल्लामा ६ लाख हेक्टर जमिनमा लगाइएको ३० देखि ४० प्रतिशत धान नष्ट भएको अधिकारीहरूले जनाएका छन् ।

बंगलादेशका दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चटगाउँलाई बन्द गरिएको छ भने चटगाउँ विमानस्थलमा उडानहरू रद्द गरिएका छन् । बंगलादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समुद्री आँधीका कारण ५ हजार ५ सयलाई सुरक्षित आश्रयस्थलमा लगिएको जानकारी दिएका छन् । मौसम पूर्वानुमान अधिकारीहरूले सो आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर भएको बताएका छन् ।

बंगलादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १ सय २० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ । हजारौं स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन् । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीले जमिनमा नहान्दै सामाजिक सञ्जाल ट्विटमार्फत् ‘नआत्तिन’ आग्रह गरेकी थिइन् ।

बंगलादेशमा यसअघि पनि आँधी आउँदा हजारौं मानिसको मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरूमा पूर्वतयारीका कारण बंगलादेशमा यस्ता आँधीले मृत्यु हुने दरमा कमी आएको छ । आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिदा अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय समेत प्राप्त हुने गरेको छ ।

आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू समेत निर्माण गरिएको छ । स्थानीय अधिकारीहरूले शिविर बाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्दार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन् ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!