१६ सहकर्मीका हत्या गरी भागेका माझी उत्तर कोरियालाई जिम्मा

- November 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्योङयाङ । माछा मार्ने क्रममा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशंका गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तर कोरियाली अधिकारीको जिम्मा लगाएको छ । उत्तर कोरियाबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो ।

उत्तर कोरियाबाट भागेर आफ्नो देशमा आएका अधिकांशलाई दक्षिण कोरियाले शरण दिँदै आएको थियो । तर आफ्नै सहकर्मीको हत्या गरेको आशंका गरिएका दुई माझीबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै उत्तर कोरियालाई नै जिम्मा लगाएको हो । उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधमा संलग्न व्यक्तिको रुपमा व्यवहार गरिएको बताइएको छ ।

माछा मार्न प्रयोग हुने डुंगामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार अर्का एकजना व्यक्तिसँग मिलेर उनीहरूले डुंगाका प्रमुख चालकलाई अक्टोबरमा हत्या गरेको स्वीकार गरेका छन् । आफूसँग नराम्रो व्यवहार गरिएका कारण त्यसको गरेको उनीहरुको भनाइ रहेको दक्षिणका अधिकारीहरूले जनाएका छन् । चालकको हत्याको विरोध गरेका अन्य १५ जना कर्मचारीको पनि उनीहरुले हत्या गरेर सबै शव समुद्रमा फालिदिएका थिए ।

सुरुमा तीन जना नै उत्तर कोरिया फर्किएपनि एक जनालाई प्रहरीले बन्दरगाहमा समातेपछि बाँकी दुई जना डुंगामै दक्षिण कोरिया भागेका थिए । आफूले उनीहरू भागेर दक्षिण आउनुको कारणमा विश्वास गर्न नसकेको र उनीहरुलाई बस्ने अनुमति नदिएको दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ ।

उनीहरूलाई सीमावर्ती पानमुनजोम गाउँनजिकै दुई देशबीच रहेको असैनिकीकृत क्षेत्रमा हस्तान्तरण गरिएको थियो । उत्तर र दक्षिण कोरियाबीच सुपुर्दगीसम्बन्धी कुनै सहमति भएको छैन । दक्षिणले पानमुनजोमबाट पहिलोपटक उत्तर कोरियाली नागरिकलाई फिर्ता पठाएको हो ।

उत्तरमा कोरियामा कठोर कम्युनिस्ट शासन भएकाले उत्तर कोरियाबाट मानिसहरू भागेर दक्षिण कोरिया जाने गरेका छन् । सर्वसाधारणमात्रै नभएर उत्तर कोरियाली सैनिकहरु समेत भाग्ने गरेकमा छन् । तर यसरी भाग्नेहरुले आफ्नो ज्यानको बाजी थाप्नुपर्ने हुन्छ ।

दक्षिण कोरियाकाअनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन् । दक्षिण कोरियाली तथ्यांकअनुसार पछिल्ला वर्षमा उत्तर कोरियालीहरु भागेर आउने क्रम कम भएको छ ।

सन् २०११ मा २ हजार ७०६ जना भागेर आएकोमा सन् २०१७ मा यो संख्या घटेर १ हजार १२७ रहेको थियो । उत्तर कोरियाबाट भाग्नेहरुमध्ये अधिकांश चीन भएर दक्षिण कोरिया छिर्ने गर्छन् । उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएका कारण उनीहरुले त्यसलाई भाग्नका लागि उपयोग गर्ने गरेका छन् । विविसिबाट

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!