के ‘ट्रम्प’ जस्तै होलान् त कास्कीका खेमराज !

- November 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

‘पटकपटक कांग्रेस हारेको क्षेत्रमा जितको आधार के हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पको उदाहरण दिएका हुन्। खेमराज ट्रम्प भन्दा तीन वर्ष जेठा छन् । पौडेलले सरकारले जनताको भावना अनुसार काम गर्न नसक्नु नै आफ्नो जितको आधार भएको दाबी गरे। ‘सरकारले जनताको काम नगर्नु नै मेरो जितको आधार हो’, उनले भने।

बिपी कोइराला, सुवर्ण शमशेर र शेरबहादुर देउवासँग वनारसमा संगतगरेका पौडेललाई स्वर्गीय रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रमा उनकी पत्नी विद्या भट्टराईलाई पराजित गर्नु फलामे च्यूरा बराबर भएको अनुमान भइरहेका बेला उनले भने आफ्नो दरिलो आत्मविश्वास साटेका हुन्। पौडेल लालकिल्ला तोड्ने बताउँछन्।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै पौडेलले प्रमुख प्रतिपक्षलाई बलियो बनाएर सरकारलाई सही बाटोमा हिडाउनु आफ्नो प्रमुख भूमिका रहेको उल्लेख गरे।निर्वाचनका बेला जनतासँग नेकपाले गरेको प्रतिवद्धता अनुसार काम नगरेकोले सरकारलाई सही बाटोमा हिडाउँनु पर्ने आवश्यकता भएको उनको जोड छ।

उपनिर्वाचन भएकाले सरकारका कमी कमजोरी औल्याएर सही बाटोमा हिडाउनु नै प्रमुख प्रतिपक्षको भूमिका रहेको उनले भनाइ। कास्की-२ का समस्यालाई समाधान गरेर विकास निर्माण गर्न पनि आफ्नो भूमिका रहने उनले बताए।

नेकपाले आफ्नो बाँचा पुरा नगरेकोले पनि उपनिर्वाचनमा आफ्नो जित निश्चित भएको उनको दाबी छ। पार्टी एक ढिक्का भएर चुनावमा होमीएको छ। ‘देवराज जी र म को चुनावमा उम्मेदवारका आकांक्षी थियौँ। अहिले उहाँ र मसंगै चुनावी अभियानमा लागेको र्छौ’, उनेले भने।

को हुन् खेमराज ?

नेपाली कांग्रेसले कास्की-२ को उपनिर्वाचनका उम्मेदवार पौडेल पार्टी सभापति शेरबहादुर देउवाकै समकालीन हुन्। देउवाले नेपाली कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उक्त पार्टीको कास्की कमान्ड पौडेलले सम्हालेका थिए। २०१७ सालदेखि नै प्रजातन्त्रका लागि कटिबद्ध भएर निरन्तर लागेका पौडेल आधा शताब्दीभन्दा धेरै राजनीतिमा खटिए। तर ७६ वर्षे उमेरमा आइपुगेपछि मात्रै पहिलोपटक पार्टीले उनलाई आमचुनावको उम्मेदवार बनाएको हो।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै सुकुम्बासी आयोग कास्कीको अध्यक्ष हुनुबाहेक खेमराज पौडेलले सार्वजनिक लाभको पद र उम्मेदवारीको अवसर पाएनन्। पञ्चायतकालमा २० वर्ष शिक्षक हुँदासमेत प्रजातन्त्रका लागि लडेका उनी २०४२, ४६ र २०६२ /६३ मा गरी ३ पटक जेल परे। २०२६ सालमा पहिलोपटक कास्कीमा धीरबहाहदुर गुरुङको सभापतित्वमा नेपाली कांग्रेसको जिल्ला समिति गठन हुँदा खेमराज कार्यसमिति सदस्य थिए। २०४६ ताका तारानाथ रानाभाट जिल्ला कार्यसमिति सभापति हुँदा पौडेल उपसभापति थिए।

शिक्षक पृष्ठभूमिको भएकैले ‘खेमराज गुरु’बाट सम्बोधित हुने भद्र छविका पौडेलले सहानुभूतिका मतसमेत तान्न सक्ने कांग्रेसजन बताउँछन्। अन्तर्घातको कांग्रेसी रोगले उनलाई नसताउने विश्वास पनि उनीहरुको छ। पोखरा २२ पुम्दीभुम्दीका पौडेलले मंसिर १४ को चुनावमा आफैँलाई मतदान गर्न पाउने छैनन्। उनी मतदाता रहेको क्षेत्र कास्की-३ हो। उनी भन्छन्, ‘पहिला त मेरो गाउँ पनि त्यही क्षेत्रमा थियो, अहिले ३ मा परेको छ तर मेरो कार्यक्षेत्र र मेरो राजनीतिक लगानी भएको क्षेत्र नम्बर २ हो।’

अध्ययनका सिलसिलामा वनारस पुगेका पौडेलले उतै नेता बिपी कोइराला, सुवर्ण शमशेर र शेरबहादुर देउवाको संगत गर्ने अवसर पाएका थिए। उक्त क्षेत्रमा युवा नेता रवीन्द्रले लगातार ३ पटकसम्म चुनाव जितेका थिए, त्यसलाई तोड्ने कडा चुनौती खेमराजलाई छ। २०७४ को चुनावमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्रले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए।

कास्की क्षेत्र नम्बर २ को प्रनिनिधिसभा सदस्यका लागि उम्मेदवार दर्ता गराउँदै नेपाली कांग्रेसका खेमराज पौडेल।  अन्नपुर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!