विमानस्थल तोडफोड प्रकरण: विमानस्थलमा सुटुक्क छिरेर प्रदर्शन

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुर,असाेज २८– जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई  जिप्रका धनुषामा ल्याइएको छ । मंगलबार दिउँसो २ बजे काठमाडौंबाट उडेको बुद्ध एयरको विमानले डिले गरी बेलुका ४ः ३९ मा जनकपुर विमानस्थलमा अवतरण गरेपछि सांसद साहले काउन्टरमा विवाद सृजना गरेका थिए ।

सोही क्रममा उनले काउन्टरमा तोडफोड समेत गरेका थिए । सोही आरोपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका साहलाई प्रहरीले अदालतमा हाजिर गराउनका लागि आज धनुषा ल्याएको थियो । समयअभावका कारण धनुषा जिल्ला अदालतमा हाजिर गराउन नसक्दा उनको म्याद थप्ने कार्य भने हुन सकेन ।

प्रहरीले अदालतलाई ढिलो गरी आउने भनेर जानकारी गराएपछि न्यायधीश र श्रेस्तेदार यज्ञप्रसाद आचार्यसहितको टोलीले करिब ५ः३० बजेसम्म सांसद साहको प्रतिक्षा गरेको थियो । तर सांसद साहलाई लिएर आएको प्रहरी टोली केही मिनेट ढिलो अदालत पुगेपछि उनको म्याद थप्ने काम हुन नसकेको हो । साहलाई बुधबार बिहान १० बजे अदालतमा गराइने भएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यता, सांसद साह पक्राउ परेलगत्तै प्रदेश नम्बर २ को सत्तारुढ दल समेत रहेको राजपा नेपाल आन्दोलित भएको छ । आज दिनभर जनकपुर विमानस्थलदेखि जिल्ला प्रहरी कार्यालय धनुषा जाने बाटोसम्म राजपा नेपालले सांसद साहको समर्थनमा प्रदर्शन गर्दै बुद्ध एयरको विरुद्धमा समेत प्रदर्शन गरेको छ ।

विमानस्थलमा सुटुक्क छिरेर प्रदर्शन

राजपाका कार्यकर्ताले बिहान ११ बजे विमानस्थलमा पुगेर विरोध प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरी र जनपथ प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद पनि राजपाका प्रमुख सचेतक परमेश्वर साह र पक्राउ परेका सांसद प्रमोदकुमार साहकी श्रीमती समेत रहेकी प्रदेशसभा सदस्य निरा साह लगायतको नेतृत्वमा प्रदर्शन भएको हो । उनीहरुको नेतृत्वमा करिब एक दर्जन नेता तथा कार्यकर्ताहरुले विमानस्थलमै पुगेर प्रदर्शन गरेको थियो ।

यसअघि जिल्ला अदालत धनुषाले विमानस्थलमा तोडफोड गरेको आरोपमा सांसद प्रमोद कुमार साहको नाउँमा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गराएपछि उनी बिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जी जारीपछि सांसद साह काठमाडौंमा पक्राउ परेका थिए । सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएपछि राजपाक कार्यकर्ताले जिप्रका धनुषा परिसरमा समेत प्रदर्शन गरेका छन् ।

राजपा नेपालले पक्राउ परेका साहलाई अबिलम्ब रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिँदै यस घटनाको निश्पक्ष छानविनका लागि माग समेत गरेको छ । राजपा धनुषाका संयोजक प्रमोद यादवले सांसद साहलाई अबिलम्ब रिहाईको माग राख्दै आफूहरु आन्दोलित भएको बताए । उनले बुधबार देखि चरणबद्ध आन्दोलनको तयारीमा रहेको समेत चेतावनी दिए । त्यस्तै, साहको समर्थनमा उनी निर्वाचित सर्लाहीमा समेत विरोध प्रदर्शन भएको छ । राताेपाटिबाट

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!