तस्करको चिनी नेपाली ब्राण्डको नामका बिक्री

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगन्ज, असाेज २८ : भारतबाट राजश्व छलेर ल्याइएको चिनी नेपाली चिनी उद्योगको बोरामा राखेर बजारमा बिक्री गर्ने गरिएको फेला परेको छ। भारतबाट बाराको ग्रामीण भेगका नाका हुँदै अवैध रूपमा भित्र्याइएको चिनी कारोबारीले सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर सुगर एण्ड केमिकल इण्डस्ट्रि प्रालिको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको बोरामा राखेर बजारमा बिक्री गर्दै आएको फेला परेको हो।

बाराको कलैया उपहानगरपालिका-६ स्थित एक घरबाट प्रहरीले तस्करी गरेर ल्याइएको ३८ बोरामा रहेको १७ क्वीन्टल चिनी बरामद गरेपछि यो तथ्य बाहिर आएको हो। कलैया उपमहानगरपालिका ६ मछरहट्टा टोलमा रहेको रामनारायण यादवको घरमा भण्डारण गरेर राखिएको ३८ बोरा चिनी, चिनीको बोरा सिलाउने मेसिन १ थान र इन्दु शंकर चिनी उद्योगको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको खाली बोरा २ सय थान प्रहरीले बरामद गरेको हो।

कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले यादवको घरमा कोठा भाडामा लिएर भारतबाट राजश्व छलेर ल्याइएको चिनी भण्डारण गरी राखेको सुचना पाएपछि प्रहरी टोलीले यादवको घरमा छापा मारेर चिनी बरामद गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। दिनेश र रमेश दाजुभाइ हुन्।

बरामद चिनी आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जानकारी दिँदै खनालले भने, ‘चिनीको अवैध कारोबारी दिनेश र रमेश फरार छन् , उनीहरूको खोजी कार्य भइरहेको छ।’

अनुसन्धानका क्रममा दिनेश र रमेशले भारतबाट तस्करी गरेर ल्याइएको चिनी, इन्दु शंकर चिनी उद्योगको ब्राण्ड छापिएको बोरामा प्याक गरेर बजारमा नेपाली चिनी भनेर आपुर्ति गर्दै आएको देखिएको प्रहरी उपरीक्षक खनालले बताए । तिहार र छठमा चिनीको खपत बढी हुन्छ। नेपाली उद्योगको भन्दा भारतको चिनी सस्तो पनि पर्छ। त्यहि भएर कारोबारीले अहिले तिहार र छठ नजिकिएको बेला भारतबाट अवैध रूपमा चिनी भित्र्याउन थालेका हुन्।राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!