सम्मेलनमा लगानीका क्षेत्रहरुबारे चर्चा : नेपालमा लगानीको उपयुक्त वातावरण

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , असाेज २८ ।काठमाडौँमा जारी गैरआवासीय नेपाली विश्व सम्मेलनमा नेपालमा लगानीका विभिन्न क्षेत्रहरुबारे चर्चा भएको छ । मङ्गलबार भएको आर्थिक उन्नतिका लागि स्रोतहरुको परिचालन विषयक कार्यक्रमका वक्ताहरुले नेपालमा लगानीका क्षेत्रहरु व्यापक भएकोले सरकारसँगको सहकार्यमा विभिन्न पूर्वाधारहरुमा लगानी गर्न सकिनेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकालले गैरआवासीय नेपालीले गरेको महत्त्वपूर्ण पूर्वाधारका रुपमा निर्माणाधिन २७ मेगावाटको धोर्दी खोला हाइडोपावर र सफल सञ्चालनको अवस्थामा चन्द्रागिरी हिल्स केवलकार उदाहरण रहेको बताए ।

उनले कुनै पनि आयोजना सामुहिक लगानीमा गर्दा सफल हुने बताउँदै त्यसका लागि गैरआवासीय नेपालीले अन्य क्षेत्रको पहिचान गरेर लगानी गर्न सक्ने बताए ।

उनले अहिले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले चन्द्रागिरी जस्तै कुनै परियोजना निर्माणका लागि आग्रह गरेको बताउँदै यसतर्फ पनि गैरआवासीय नेपाली लगानीकर्ताले ध्यान दिनुपर्नेमा जोड दिए । उनले कतिपय एनआरएनले नेपालमा राम्रो व्यवस्था छैन भनेपनि यहाँ अमेरिका बनाउने ठाउँ रहेको उल्लेख गर्दै सरकराले पनि अहिले लगानीका लागि राम्रो वातावरण बनाइरहेको उल्लेख गरे ।

नेपालमा जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा सामुहिक लगानी गरी लाभ हासिल गर्ने सम्भवना रहेकोले लगानीकर्ता यसतर्फ आर्कषित हुनुपर्ने बताए ।

अर्का व्यवसायी सतिस कुमार मोरले नेपालमा अहिले राजनीतिक स्थीरता रहेको बताउँदै लगानीको उपयुक्त वातावरण रहेकोमा जोड दिए ।

उनले पर्यटन क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको बताउँदै भने, ‘नेपालमा पर्यटनको ठूलो सम्भावना छ । हामी युरोप जान्छौँ तर त्यहाँ भन्दा यहाँ धेरै राम्रा सम्भावनाका ठाउँहरु छन् । पर्यटकका लागि धेरै प्रकारका योजनाहरु अघि सार्न सकिन्छ ।

उनले चिनियाँ राष्ट्रपतिको राजकीय भोजमा आफु सहभागी भएको बताउँदै चिनियाँ राष्टपति र चिनियाँ व्यवसायीले नेपाललाई सच्चा मित्रको रुपमा लिएको बताए । नेपाललाई ल्याण्डलक्डबाट ल्याण्ड लिङ्कडमा जान साथ दिन्छु भनेको, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने भनेको स्मरण गर्दै छिमेकी मित्रले देखाइदिएको बाटो पूरा गर्न तर्फ लाग्नुपर्ने बताए ।

उनले नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर हुन सकेको बताउँदै जुन–जुन क्षेत्रका लागि ८० प्रतिशत भन्दा बढी कच्चा पदार्थ स्वदेशमा उपलब्ध छन्, त्यो क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सकिने बताए । उनले भने, ‘त्यसका लागि वातारणीय पर्यावरणको रक्षाका साथै काम गर्नका लागि वातावरण बनाउन आवश्यक छ । यसका लागि नीति निर्माताहरुले पनि ध्यान दिनुपर्छ ।’

यस्तै पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको राष्ट्रियता नेपालको सीमानाभित्र मात्र नभएर सीमानाबाहिर भावनात्मक रुपमा रहेको बताए । उनले २०४६ सालपछि नेपालले सुरु गरेको आर्थिक उदाधिकरणले नेपालले आर्थिक विकास गर्दै गएको बताउँदै विदेशमा बसेर कमाएको आम्दानी नेपालमा पनि लगानी भइरहेको उल्लेख गरे ।

सन् २०३० सम्म नेपालले विश्वव्यापी १७ वटा लक्ष्यहरु पुरा गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि नेपालसँगै काम गर्ने साधन रहेको बताए ।

उनले जलविद्युतमा नेपाल दक्षिण एसियामा ग्रीन पावरहाउसको रुपमा रहेको बताउदै यस्ता विषयहरु प्रयोग गरेर नेपाललाई अगाडि बढाउन सकिने उल्लेख गरे ।

उनले भने ः विश्व बैंकको एउटा रिर्पोट अनुसार आर्थिक विकासमा नेपालमा पछाडि छ तर गरिबी निवारणमा नेपाल अगाडि छ । उत्पादन बढाउनका लागि लगानी आवश्यक छ । लगानीका लागि राष्टिय र बाह्य लगानी बढाउन आवश्यक छ । नेपालको बार्षिक बजेट बढ्दै गएपनि उत्पादन भने कम भइरहेको छ । निजी पुँजीलाई लगानीका लागि कसरी आकर्षित गर्ने अहिलेको मुख्य चुनौति हो । अहिलेको ३ तहको सरकार बनेपछि विकास खर्चभन्दा पनि प्रशासनीक खर्च बढेको छ ।

उनले अख्तियारले हात हालेको सत्र अठार आयोजनाहरुले १ सय १८ अर्ब सरकारी लगानी अलपत्र पारेको रिर्पोट रहेको बताउँदै सरकारी लगानी सदुपयोग र नीजि लगानी बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले नीजि लगानी बढाउनका लागि गैरआवासीय नेपालीको भूमिका ठूलो हुने बताउँदै चीनको विकास गर्न लागि पनि सुरुमा त्यहाँका गैरआवासिय नागरिकको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘नेपालको सन्र्दभमा पनि गैरआवासीय नेपालीको भूमिका हुन्छ  । त्यसका लागि सरकारले सहयोग गर्न आवश्यक छ । नेपालमा वर्षेनी दश बाह्र अर्ब बाह्य लगानी आउने गर्छ । भौतिक पूर्वाधार विकासमा सरकारले हाइवेहरुको विकासमा हुनुपर्छ । सुशासनका लागि सरकारी कार्यालय बलियो हुनुपर्छ, समयमा निर्णय गर्न सक्ने र काम गर्न सक्नुपर्छ ।

उनले तेश्रो मुलुकमा सामान विक्री गर्ने उद्देश्यले ठूलो मात्रामा कृषिजन्य उद्योगहरुको उत्पादन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा नेपालको हीतका पक्षमा विभिन्न छलफल कार्यक्रमहरु जारी रहेको छ ।राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!