तोडफोडले विमानस्थलको अवस्था तनावग्रस्त,सांसद साह माथि जिप्रकामा उजुरि दर्ता

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुर, असाेज २८ । जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ । 

मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सांसद साहले मङ्गलबार जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् ।

यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।

‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नी विरामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ सांसद साहले भने।

‘त्यसमाथि म आउँदा विमानस्थलको विशिष्ट कक्षमा राति  देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका थिए । पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ,’ उनले भने ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे ।  ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा  तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!