सानफ्रान्स्किोमा रहेको चर्चमा नेपालीले बनाएको बुद्ध मूर्ति

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर,  नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ । सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँ उक्त बुद्धको मूर्ति राख्न लागिएको हो ।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार विरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो । उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन् । उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिने छ । तामाका उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार विरेन्द्रले बताए ।

उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धीलाई यो कामले थप उचाई दिएको बताए । उनले मूर्तिकारको कामको प्रशंसा गर्दै महानगरले कला, संस्कृतिको संरक्षणका प्रतिबद्ध रहेको बताए ।

‘भिला परासोल टेम्पल’ले शाक्य ह्यान्डि क्राफ्टलाई मूर्ति निर्माणको लागि अनुरोध गरेको क्राफ्टका ‘प्रोप्राइटर’सागर शाक्यले बताए । उभिएको बुद्धको उक्त मूर्ति निकै आकर्षक भएको बताउँदै आफ्नो कारखानाबाट धेरै यस्ता मूर्ति विदेश पठाएको जानकारी दिए ।

भिला परासोल टेम्पलका ‘बोर्ड अफ डिरेक्टर’अल्फ्रेड वाङले चर्च किनेर त्यसलाई गुम्बाको रुपमा डिजाइन गरेपछि बुद्धको मूर्ति बनाउन ‘अर्डर’ दिएको बताए । बुद्धको मूर्ति प्रतिस्थापनाले गुम्बालाई अझै मनमोहक बनाउने बताए ।

यसैगरी भिला परासोल टेम्पलका अध्यक्ष मरिआन हुङले बुद्धको मूर्ति मिहिनेतका साथ तयार गरेको खुशी व्यक्त गर्दै नेपाली मूर्तिकारको क्षमताको प्रसंशा गरिन् । विदेशी पाहुनासँग कुरा गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको पहिचान, कला र संस्कृति भएको बताए ।

विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं कला नगरी घोषणा गरेको बताउँदै उक्त घोषणाले कला, संस्कृतिको संरक्षणमा महानगर जिम्मेवार, सर्तक र संवेदनशील भएको बताए । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!