एनआरएनमा उम्मेदवारको दाबेदारी र दौडधुप सुरु

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आउँदो असोज २८ देखि आयोजना हुने गैरआवासीय नेपाली संघको नबौं सम्मेलन नजिकिँदै गर्दा उम्मेदवारको दाबेदारी र दौडधुप सुरु भएको छ ।

विशेषगरी अध्यक्ष, उपाध्यक्षद्वय र महासचिवका उम्मेदवारहरुको दौडले रफ्तार लिएको छ । त्यसैगरी अन्य पदमा युरोप, अमेरिका, अष्ट्रेलिया र जापानबाट उम्मेदवारीको ओइरो लागेको छ ।

सम्मेलनमा यी देशका प्रतिनिधिहरुको उल्लेख्य उपस्थित हुने भएको कारणले पनि उम्मेदवारीमा दाबेदारी बढेको हो ।

हालसम्म अध्यक्षका लागि बेलायतबाट वर्तमान उपाध्यक्ष कुल आचार्य र जर्मनीबाट अर्का वर्तमान उपाध्यक्ष कुमार पन्तको मात्र दाबेदारी सुनिएको छ । यी दुवै अध्यक्षका उम्मेदवारहरु विश्व भ्रमणको तुफानी दौडमा छन् ।

त्यसैगरी अमेरिकाबाट महासचिवमा अमेरिकामा दुई कार्यकाल अध्यक्ष बिताएका डा.केशव पौडेल, उपाध्यक्षमा रविना थापा, सचिवमा हालका उत्तरअमेरिका संयोजक गौरीराज जोशी, उत्तरअमेरिकाका संयोजकमा हालका उपसंयोजक नवीन शेरचनले दाबेदारी प्रस्तुत गरेका छन् ।

त्यसैगरी बेल्जियमबाट महासचिवमा हालकी सचिव जानकी गुरुङ र युरोप संयोजकमा पोर्चुगलका जनसम्पर्क समिति र एनआरएनका संस्थापक अध्यक्ष रहिसकेका पूर्ण हमाल, बेल्जियमबाट गंगाधार गौतम र पद्म गुरुङले दाबी गरेका छन् ।

यसरी नै अष्ट्रेलियाबाट उपाध्यक्षमा मन केसी, सचिवमा जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरी र अभिमानसिंह बस्नेत र अष्ट्रेलिया संयोजकमा प्रेम सापकोटा, बालचन्द्र भट्टराई र दिनेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

साथै, जापानबाट उपाध्यक्षमा किरणविक्रम थापा, कोषाध्यक्षमा महेश श्रेष्ठ र सुदन थापा, एसिया प्यासिफिक संयोजकमा ओम गुरुङ, पारसमणि पोखरेल र गोविन्द श्रेष्ठले उम्मेदवारी दाबी गरेका छन् ।

त्यसैगरी उपसंयोजकमा भने ३६ वर्षदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय तथा सामाजिक कार्य गरेर बसेका कपिलदेव थापाको एक्लो दाबी छ, देशान्तरमा उल्लेख छ  ।

मत संख्या राम्रै भए पनि हालसम्म खाडीका मुलुकहरु कतार, साउदीअरब, यूएई, बहरान र कुवेतबाट अहिलेसम्म पदाधिकारीमा दाबी सुनिएको छैन । त्यसैगरी मलेसिया, थाइल्यान्ड, हङकङ र चीनबाट पदाधिकारीमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!