विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न : मन्त्री धिमिरे

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इटहरी,  प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ ।

आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताउनुभयो ।

त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा  त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताउनुभयो ।

सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!