भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’ को नाममा अवैधरुपमा मदिरा आयात

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की 

काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरी केही व्यवसायीहरुले अवैधरुपमा मदिरा आयात गरेको भेटिएको छ । भारतीय नाका र चिनियाँ नाकाबाट सम्बन्धित भन्सार कर्मचारीकै मिलेमतोमा पछिल्लो समयमा ‘जुस’को नाममा अवैध मदिरा नेपाल भित्र्याएका हुन् । स्रोतका अनुसार अवैधरुपमा नेपाल भित्रिएका मदिराजन्य पदार्थलाई भन्सार कर्मचारीले ‘जुस’को नाममा प्रज्ञापन–पत्र बनाई भन्सार छुटाउने गरेका छन् । सरकारले दशैँ तिहारजस्तोे चाडपर्वमा अवैध मदिरा बेचबिखनमा पूर्णरुपमा बन्देज लगाइने भन्दै सरकारले प्रचार गर्दै आए पनि कर्मचारीकै मिलेमतोमा व्यवसायीले नयाँ रुपमा विना भन्सार गुणस्तरहीन मदिरा नेपाल भित्रिन थालेका छन् ।

चाडपर्व नजिकिँदै गरेको समयमा अवैध मदिरा र राजस्व छली गरेर बेचिने मदिरालाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई सरकारले निर्देशन दिए पनि सो निर्देशनको पालना भन्सार कर्मचारीबाटै बेवास्ता हुँदै आएको छ । ऐनअनुसार अवैध मदिराले राजस्व, शान्ति सुरक्षा र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै विना भन्सार नेपाल भित्रिएका मदिरा बिक्री वितरणमा बन्देज लगाइएको छ । तर सोही बन्देज लगाएको मदिरालाई कर्मचारीले कमिसन लिँदै जुसको नाममा भन्सार प्रज्ञापनपत्र बनाउँदै भित्र्याउन दिएको स्रोतको दाबी छ ।

चाडबाडको समयमा अत्यधिकमात्रामा मदिराको माग हुने भएकाले अवैधरुपमा व्यवसायीहरुले अवैध मदिरा नेपाल भित्र्याएका हुन् । आन्तरिक राजस्व विभागबाट इजाजत लिएकाहरूले नै जुसको नाममा अवैध मदिरा नेपाल भित्र्याइरहेको स्रोतले जानकारी दियो ।

उनीहरुले गैरकानुनी काम गरी नक्कली स्टिकरको प्रयोग गरी विना भन्सार मदिरा आयात गरिरहेको स्रोतको भनाइ रहेको छ । सरकारी कर्मचारीको मिलेमतोमा दक्षिणी नाकाभन्दा पनि बढीमात्रामा उत्तरी नाकाबाट अवैधरुपमा जुसको नाममा मदिरा भित्रिने गरेको छ ।राजधानीको विभिन्न स्थानमा रहेका मदिरा बिक्रीवितरण केन्द्रको मदिरा आयात गर्ने जिम्मेवारी लिएर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङबाट अवैधरुपमा नेपाल भित्र्याउने गरिन्छ । काठमाडौं र तराईक्षेत्रका केही मारवाडी व्यापारीको समान आयातको जिम्मा लिएका ‘क्यारिङ’ गर्ने व्यवसायीहरुले भन्सार छली गरी मदिरा भित्राउने गरेका छन् ।

विगत एक दशकयता नेपालमा बढीमात्रामा चिनियाँ मदिरा आयातमा वृद्धि हुँदै गएको छ । सो अवैध मदिरा रोक्नका लागि सबै नाकामा प्रहरी प्रशासन जोडतोडका साथ लागे पनि भन्सार कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिने गरेको छ । अवैधरुपमा सिमिकोट जिल्लाको लिमि, चुवाखोला, चेंखेलीको टाँके लाग्ना अवैध चिनियाँ मदिरा आयात हुने मुख्य नाकाका रुपमा रहेका छन् । नेपालमा खासरी स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका देशबाट अत्यधिकमात्रामा मदिरा आयात हुने गरेको छ ।

अधिकांश व्यवसायीहरुले कर्मचारीसँग सेटिङ मिलाएर कतिपय विना भन्सार र कतिपय न्यून मूल्यांकन गरेर नेपालमा ठूलो मात्रामा मदिरा भित्र्याउने गरेका छन् । नेपालमा खपत हुने कुल मदिराको ७५ प्रतिशत हिस्सा चोरीपैठारीबाट आउने गरेको छ ।नेपालमा वार्षिक पाँच खर्ब बराबरको मदिरा कारोबार हुने गरेको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । नेपाल मदिरा व्यापार महासंघका अनुसार दशैंको बेला मात्रै वार्षिक कारोबारको झण्डै ५० प्रतिशत मदिराको कारोबार हुने गरेको जनाएको छ । दशैंदेखि तिहारसम्म ५० अर्ब रुपैयाँबराबरको मदिरा बिक्री हुने गरेको अनुमान महासंघले गरेको छ । नेपाली बजारमा बढी चल्ने मदिरामा भोड्का, ह्विस्की, जीन, रम, बियर, वाइनलगायत रहेका छन् । जसमध्ये दशैंमा सबैभन्दा बढी बियरको व्यापार बढी हुने गरेको व्यवसायी बताउँछन् ।

यसैबीच सरकारले मदिराको उत्पादन, आयात, बेचबिखन र सेवनमा कडाइ गर्ने कार्यकारी आदेश जारी गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको पाँच पृष्ठ लामो कार्यकारी आदेश अनुमोदनका लागि मन्त्रिपरिषद्मा लगेको छ । गृह मन्त्रालयले ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५’ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएपछि कूटनीतिज्ञहरुले गहिरो चासो प्रकट गरेका थिए । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदाले सबैभन्दा ठूलो असर विदेशी मदिरा आयातकर्ता र स्थानीय उत्पादकलाई पुग्नेछ । सो कार्यकारी आदेशअनुसार अल्कोहलको परिमाणसहित स्वास्थ्यमा पर्ने सम्भावित जोखिमको सन्देश र अधिकतम बिक्री मूल्य नतोकिएको मदिरा आयात गर्न पाइनेछैन भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । ।

इजाजत प्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गर्नेबाहेकका सञ्चालनमा आउन बाँकी मदिरा उद्योगलाई सञ्चालन अनुमति अर्को व्यवस्था नहुन्जेलका लागि रोक्का गरिनेछ । इजाजत प्राप्त गरी सञ्चालनमा रहेका मदिरा उद्योगको शाखा विस्तार तथा क्षमता अभिवृद्धि अनुमति हाललाई स्थगित गरिनेछ । नेपाल–भारत सीमा (दश गजा)बाट नेपालतर्फको एक किलोमिटरभित्रका क्षेत्रमा नयाँ मदिरा पसल सञ्चालनको अनुमति दिइनेछैन ।

सरकारले लागू गर्ने नयाँ नियमअनुसार धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा तीन किलोमिटर टाढा पर्ने गरी उद्योग सञ्चालन गर्नुपर्नेछ । सञ्चारमाध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको प्रत्यक्ष वा अप्रत्यक्ष विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न, सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य पदार्थसम्बन्धी होर्डिङ बोर्ड, पर्चा पोष्टर टाँस्न, वितरण गर्न र मदिरा उद्योगले खेलकुद, कन्सर्टलगायतका सार्वजनिक कार्यक्रमहरुको प्रायोजनमा समेत कार्यकारी आदेशले रोक लगाएको छ ।

त्यस्तै, मदिरा बिक्रीवितरण गर्न इजाजतप्राप्त कम्पनी, फर्म व्यक्तिले मदिरा बिक्रीवितरण गर्दा मदिरा खरिद गर्नेको पहिचान खुल्ने कागजात हेरी निजको नाम, ठेगाना र उमेरको अभिलेख राखी मदिरा बिक्री गर्नुपर्ने समेत आदेशमा उल्लेख छ । मदिरा बिक्रीवितरणको लागि इजाजतपत्र जारी गर्नुअघि स्थानीय प्रहरी कार्यालयको राय लिनुपर्नेछ । इजाजतपत्र प्राप्त मदिरा बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र सिलबन्दी मदिरा बिक्रीवितरण पाउनेछन् । मदिरा बिक्रीवितरण तथा सेवन गराउन इजाजतपत्र प्राप्त होटेल, लज, बार तथा रेष्टुरेन्टले बेलुकी ५ बजेदेखि १० बजेसम्म मात्र मदिरा बिक्रीवितरण तथा सेवन गराउन सक्नेछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!