शाश्वत विज्ञान कसरी ?

- September 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

न जायते म्रियते वा कदाचि –
न्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्य शाश्वतो अयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।
– ।।२०।। गीता २–२०

यो आत्मा कुनै पनि काल÷समयमा न जन्मन्छ न त मर्छ नै किनकि यस आत्माले बस्त्र बदले जस्तो गरी आवश्यकता अनुसार विभिन्न शरीर धारण गर्दछ । न त यो आत्मापछि यसले कुनै अर्को जन्म लिने हो किनकि यो अजन्मा, नित्य, शाश्वत, पुरातन र सनातन छ ।

शरीरको अन्त्य भए पनि आत्माको अन्त्य हुँदैन, आत्मा मात्रै सत्य, पुरातन, नित्य, अजर अमर, सनातन र शाश्वत छ । शरीर पञ्च भौतिक तत्वहरु मिलेर बनेको छ तर आत्मा ती पञ्च भौतिक तत्वमध्ये कुनै पनि होइन । यसको अर्थ आत्मा शरीरभन्दा टाढा भएर पनि शरीरमा मात्रै होइन, यत्रतत्र सर्वत्र व्याप्त छ ।

तपाईँ को हो भन्दा सनातन धर्मको अनुयायी, यसको अर्थ कुनै धर्मलाई अनुशरण गर्ने भनेको होइन कि आत्माको अबस्थालाई मानेको हो । सनातन के हो त भन्दा आत्मा हो, तपाईँ आत्माको अनुयायी हुनुहुन्छ ।

यसमा कसैलाई कुनै आपत्ती हुने त प्रश्न नै भएन – आत्मा, परमात्मा र ब्रह्म एक आपसका पर्यायवाची शव्द हुन् । तपाईँ को हो त भन्दा शाश्वत धर्मको उपासक । अब शाश्वत धर्म के हो त भन्दा आत्मा हो अर्थात् तपाईँ हामी सबै आत्माका उपासक हौं । यदि तपाईँ आत्मिक मार्गको बारेमा ज्ञात हुनुहुन्न भने तपाईँसँग शाश्वत सनातन नामको कुनै पनि बस्तु छैन भन्ने जान्नुहोस् ।

यस विश्व ब्रह्माण्डमा मानिसहरुको आत्मा भनेको एउटै हो, शाश्वत सत्य एउटै छ । त्यो आत्माले विभिन्न व्यक्तिभित्र उसको प्रकृति अनुसार विभिन्न प्रकारले कार्य सम्पन्न गरिरहेको हुन्छ ।

जसरी विधुतले ताप दिन्छ, हावा दिन्छ, प्रकाश दिन्छ, चीसो दिन्छ आदि आदि त्यसै गरी आत्माले पनि अवस्था अनुसार कार्य गरी नै रहेको हुन्छ । त्यसैले यस विश्वमा कोही कसैले यदि आत्मालाई जान्दछ र त्यो मार्गमा हिड्नको लागि प्रयत्नशील छ भने त्यो व्यक्ति सनातनधर्मी हो । त्यो व्यक्तिले चाहे आफूलाई ईसाई, मुसल्मान, हिन्दू, यहुदी, जैन, बुद्धिष्ट, चार्वाक जे सुकै  किन नभनोस् ।

यो दीव्यग्रन्थ जसलाई शाश्वत विज्ञान भनेर नामाकरण गरियो, यो त मात्रै इशारा हो । यसलाई शाश्वत  विज्ञान किन भनियो र यस ग्रन्थलाई दिव्यग्रन्थ किन भनियो भन्ने यथार्थतिर केन्द्रीत हुन चाहन्छु –
दिव्य –  कुनै पनि कार्य गर्दा मानिसको भाव राम्रो हुनु जरुरी छ, जसको भाव राम्रो हुन्छ त्यसैको प्रभाव हुन्छ ।

यो अलौकिक, ईश्वरीय, आत्मासित सम्बन्धित, असल गुणले युक्त, उत्तम, अदृश्य वस्तु र विषयलाई ठम्याउँने भित्री आँखा, ज्ञानदृष्टि, ज्ञानचक्षु, ध्यानदृष्टि, उत्तम वा असम्भब गुणले युक्त भएको पुरुष, देववाणी, आकाशवाणी आदिले युक्त छ ।

आत्मालाई पनि हामीहरुले देख्न सक्दैनौ तर दृश्यमान नहुँदा नहुँदै पनि यसको अस्तित्वलाई नकार्न सक्ने ठाउँ पनि त छैन । यसरी दिव्य शव्दले दिएका अर्थकै बारेमा यस ग्रन्थमा केन्द्रीत रहिएकोले गर्दा पनि यस ग्रन्थको नाम दिव्यग्रन्थ राखिएको हो ।

दिव्य भन्ने जुन शव्द छ त्यो शव्द दैवी शव्दबाट उत्पत्ती भएको हो । दैवी शव्द आध्यात्मिकतासँग सम्बन्धित छ । आत्माबाट नै आध्यात्मिक भन्ने शव्द बनेको हो र आत्माभन्दा अरु कुनै पनि शाश्वत हुन सक्दैन । शाश्वत यात्रा र सनातन यात्रा आत्माको मात्रै हुन सक्छ ।

शाश्वत – यस ग्रन्थमा अध्यात्म सम्बन्धी विषय बस्तुलाई मात्रै विशेष गरेर प्रस्तुत गरिएकोले यसलाई आत्मग्रन्थ भन्न पनि मिल्ने हो । दिव्यग्रन्थ र आत्मग्रन्थको भावमा भिन्नता नदेखिएकोले शाव्दिक जालमा पर्नु आबश्यक ठानिन ।

शाव्दिक रुपमा आत्मग्रन्थ र दिव्यग्रन्थ दुईवटा शव्द भए तापनि आत्मिक रुपमा यी दुबैको अर्थ एउटै नै हो । यो ग्रन्थमा शारीरिक सुस्वास्थ्यता बीना धर्तीमा उपलव्ध कुनै पनि उपलव्धीको आश्वादन गर्न नसकिने भएकोले शरीर माध्याम खलु धर्म साधनम्को शाश्वततालाई हृदयङ्गम गर्दै अध्यात्म र भौतिकता एक आपसका विरोधी नभई परिपुरक हुन भन्ने यथार्थतामाथि जोड दिइएको छ । त्यसैले आत्माको अस्तित्व भनेको शाश्वत नै हुन्छ, यो कहिल्यै पनि नाश हुँदैन । यो चिरस्थायी नै हुन्छ ।

विज्ञान – कुनै पनि विषयमा विशेष प्रकारको ज्ञान आर्जन गर्नुलाई नै विज्ञान भनिएको हो । भौतिक विषयको तत्व, सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्रलाई नै विज्ञान भनिन्छ भनेर अथ्र्याइएको छ तर विज्ञान दुई प्रकारका हुन्छन् – एउटा भौतिक विज्ञान र अर्को अध्यात्म विज्ञान ।

अध्यात्म विज्ञानकै विशिष्ट रुप शाश्वत विज्ञान हो, अझ मैले प्रष्ट पारिदिऊँ कि अध्यात्म विज्ञान अनुशासन हो भने  शाश्वत विज्ञान जागरण हो । विज्ञान भनेको विशिष्ट ज्ञान, प्रज्ञा, बुद्धि, ईश्वर, आत्मालाई समेट्ने अद्भूत शव्द पनि हो ।

बौद्ध दर्शनका अनुसार विज्ञान सम्बन्धी ज्ञान भएको व्यक्तिलाई मात्र आत्म स्वरुपको ज्ञान हुन्छ, प्रज्ञामय ज्ञानी पुरुष पनि त्यसैलाई भनिन्छ । विज्ञानले कुनै पनि विषयको बारेमा विशेष ज्ञान राख्न सक्दछ, आत्मा र परमात्माको बारेमा तत्व ज्ञानलाई बोध गर्न सक्दछ ।

विज्ञानले नै हरेक ज्ञानलाई राम्रोसँग लिपिबद्ध गर्न सक्दछ, विज्ञानले जीवनका कुनै पनि पाटोको राम्रोसँग परीक्षण गर्न सक्दछ ।

त्यसैले यस ग्रन्थको नाम शाश्वत विज्ञान रहन गयो र यस प्रकाशनलाई मात्रै ग्रन्थ नभनिकन दिव्यग्रन्थ भनेर पनि अगाडि सारिएको छ ।

यसको बारेमा गीताको २ अध्यायको २० श्लोकले पनि राम्रोसँग प्रष्ट्याएको छ । छोटकरीका त्यसको बारेमा यसै प्रस्तुतीको सुरुमा प्रस्तुत गरिसकेको छु । साभार : अभियान टाइम्स


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!