‘मोदी र सी दुवै नेपाल नआउने’

- September 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, केही समयअघि भारतीय विदेश मन्त्री जयशंकर सुर्वमण्यमले नेपाल भ्रमण गरे । उनी नेपाल आएपछि सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटारमा स्वागत गरे ।

नेपालका समकक्षी प्रदीप ज्ञवालीको अपमान हुने गरी ओलीले जयशंकरलाई बालुवाटारमा भेटेर गोप्य कुराकानी गर्न समेत भ्याए । उक्त भेटलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने चर्चा चल्यो ।

प्रधानमन्त्री ओलीले जयशंकरमार्फत समकक्षी मोदीलाई भ्रमणको निम्तो पठाएको र मोदी असोज ३ अर्थात् संविधान दिवसमा विशेष पाहुना बनेर नेपाल आउने कुरा बालुवाटारबाट बाहिरियो ।

तर, निम्तो पाएपछि मोदीले आफू आउन नसक्ने सूचना कूटनीतिक च्यानलबाट पठाएपछि भने प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले आफूहरुले निम्तै नपठाएको बताएर सरकारको लाज ढाक्ने प्रयत्न गरेका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएको कुरा कतै भन्दै नहिँडेको र अहिले उनी नआउने कुरा पनि कसरी आयो आफूलाई थाहा नभएको बताए ।

उनले एक अनलाइन मार्फत आफूहरुले संविधान दिवसमा आउन निम्तो नदिएको बताए । जानकार सूत्रका अनुसार ओलीले मोदीलाई जयशंकरमार्फत संविधान दिवसमा नेपाल आउन निम्ता पठाएका थिए ।

मोदीलाई विशेष पाहुना बनाउन आफूले चाहेका खबर ओलीले पठाए पनि मोदीले त्यसलाई महत्व नदिएको स्रोतले बतायो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि भुटान पुगिसकेका मोदीले यसपटक नेपाललाई आफ्नो भ्रमणको सूचीमा नराखेको बताइन्छ । मोदी ओलीप्रति सशंकित रहेकाले पनि नेपाल आउन इच्छुक नभएको बताइन्छ ।

ओलीले मोदीलाई संविधान दिवसमा आएर लुम्बिनी भ्रमणको इच्छा पूरा गर्न पनि आग्रह गरेका थिए । तर, मोदीले आफू व्यस्त रहेकाले आउन नसक्ने बताएर ओलीको चाहनामा पानी खन्याइदिए ।

यसले मोदी तत्काल नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनसमेत बुझ्न तयार नरहेको संकेत पनि गरेको छ । जयशंकरमार्फत ओलीले ईपीजी प्रतिवेदन बुझ्न मोदीलाई आग्रह गरेका थिए ।

तर, मादीले उक्त प्रतिवेदनप्रति आफ्नो चासो नरहेको कुरा कूटनीतिक रुपमा प्रवाह गरिसकेका छन् । पहिलो कार्यकालमा मोदीले भुटानपछि नेपाललाई दोस्रो गन्तव्य बनाएका थिए । उनले धार्मिक र सांस्कृतिक भ्रमण गर्दै पशुपतिनाथ र मुक्तिनाथको दर्शनसमेत गरेका थिए ।

मोदी लुम्बिनी जाने च र्चा चलेको थियो । उता चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टुबरमा नेपाल आउने चर्चा सरकारी स्तरबाट चलाइएको छ ।

आउँदो अक्टोबरमा राष्ट्रपति सी भारत भ्रमणमा आउने र भारतीय प्रधानमन्त्री मोदीसँग बनारसमा एक्ला एक्लै वार्ता गर्ने योजना रहेको छ ।

त्यही दौरानमा धेरै पहिले भ्रमणको निम्तो स्वीकार गरिसकेको नेपाल पनि उनी आउने अनुमानका आधारमा प्रधानमन्त्री ओलीको सविचलायबाट सुनियोजित समाचार बाहिर ल्याइयो, देशान्तरमा उल्लेख छ ।

तर, चिनियाँ दूतावास सूत्रका अनुसार चिनियाँ राष्ट्रपति भारत आए पनि नेपाल आउने कुनै योजना बनिसकेको छैन । ओली सरकारप्रति पछिल्लो समयमा आएर चीनको संशयपूर्ण दृष्टि रहँदै आएको छ ।

त्यसैले उसले आफ्नो राष्ट्रपतिको भ्रमण हुने नहुने कुरा नेपालमै निर्भर रहेको बताउँदै आएको छ । कूटनीतिक रुपमा यसको अर्थ हो नेपाल सरकारको रवैयाप्रति चीन अझै पनि सशंकित छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!