चेतावनी शैलीमा देउवा, ‘अब कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्नेछ’

- August 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुर्खेत : कांग्रेस सभापति शेरबहादुर देउवाले देश ‘कम्युनिस्ट स्टेट’ (कम्युनिस्ट शासन व्यवस्था) तिर अघि बढेको बताएका छन् । विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको उनले आरोप लगाएका छन् ।

‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन,’ सुर्खेतमा शुक्रबार आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रममा उनले भने, ‘अरू त अरू, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ । अब कहाँ रह्यो लोकतन्त्र ?’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत गरिरहेको उनले बताए ।

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्ण लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने बताए । २००७ सालयताका हरेक आन्दोलन पूर्ण लोकतन्त्रका लागि भए पनि त्यसअनुरूप जनताले प्रत्याभूति गर्न नपाएको उनको भनाइ थियो । पूर्ण लोकतन्त्रका लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको भनाइ उनको थियो । ‘अब कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्नेछ,’ उनले भने, ‘अन्तिम लडाइँका लागि तपाईंहरू तयार रहनुहोला ।’

सभापति देउवाले अर्को प्रसंगमा आफ्नै पार्टीमा अनुशासनहीनता मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे । अनुशासनहीन काम गर्ने जोकोहीलाई कारबाही गरिने पनि उनले बताए । ‘जुन पार्टीमा अनुशासन छैन, त्यो कसरी चल्छ ?’ प्रदेशभरका महाधिवेशन प्रतिनिधि र अगुवा कार्यकर्ताले खचाखच हलमा उनले भने, ‘अनुशासनहीनलाई कारबाही गर्नका लागि सहमति आवश्यक पर्दैन । प्रमाणका आधारमा कारबाही अघि बढाइन्छ ।’ चुनावी पराजयलाई बिर्सेर एकताबद्ध भई अघि बढ्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र नेता पूर्णबहादुर खडकालगायतले पार्टीलाई गुटमुक्त बनाउँदै आगामी निर्वाचनमा ‘एक नम्बर’ पार्टी बनाउने गरी संगठन निर्माणमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए । कान्तिपुरबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!