अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ कदम चालेपछी घूस खाने तरिका फेरियो

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । उपत्यकाका मालपोत कार्यालयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतहरु परिचालन गरेपछि घूस खाने तरिका फेरिएको छ । सेवाग्राहीको बढी भीडभाड हुने मालपोत कार्यालयहरु काठमाडौँ डिल्लीबजार, कलंकी, चावहिल, ललितपुर र भक्तपुर पर्दछन् । त्यसबाहेक उपत्यकाका गोटीखेल, मनमैजु र साँखु मालपोतमा पनि सेवाग्राहीको भीड लाग्दछ ।

सेवाग्राहीको भेषमा खटिएका अख्तियारका कर्मचारीहरुले कार्यालयभित्र हुने गरेको घूसखोरी र भ्रष्टाचार भिडियो खिचेर १० जना कर्मचारीहरुलाई नियन्त्रणमा लिए पनि घूसखोरी नरोकिएको सरोकारवालाहरुले बताएका छन् ।

मालपोतमा अख्तियारको निगरानी बढेपछि भ्रष्टाचार कम भयो भने दङ्ग परेका मन्त्रालय र विभागका उच्च पदस्थ अधिकारीहरुलाई थाङ्ग्नामा सुताएर भ्रष्टहरुले नयाँ तरिका अपनाउन थालेको घरजग्गाको काम गर्नेहरुले बताएका छन् ।

घरजग्गा कारोबार (खरिदबिक्री)मा मन्दी आए पनि मालपोतका भ्रष्टहरुले लेखापढी व्यवसायीहरुमार्फत् रकम बुझ्ने गरेको रहस्य पत्ता लागेको छ ।

सेवाग्राहीलाई लेखापढी व्यवसायीहरुको बैंक खातामा पैसा राख्न लगाएरपछि उनीहरुमार्फत् रकम बुझ्ने गरेको समाचार स्रोतले बताएको छ । यस्तो क्रम पछिल्लो समय बढ्न थालेपछि लेखापढी व्यवसायीहरु पनि अख्तियारको निशानामा परेका छन् ।

मालपोत कार्यालयहरुमा भइरहेको सुब्बा आतंकको निशानामा भक्तपुर मालपोतका नायब सुब्बालाई चार हजार रुपैयाँ घूसकाण्डमा अख्तियारले समातेको छ ।

मालपोतका भ्रष्ट कर्मचारीहरुले घरजग्गा खरिद, हालसाबिक लगायतका काममा सेवाग्राहीलाई सताउने गरेको बताइएको छ ।

यसैगरी, कतिपय भ्रष्ट कर्मचारीले लाभकरसमेत झ्वाम पार्ने गरेको जानकारहरुले बताएको खबर नयाँ विमर्शमा उल्लेख छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!