सिंगापुर जानु अघि ओलीले दिए आक्रोशपूर्ण अभिव्यक्ति

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली सिंगापुरमा उपचार गरेर फर्किएको दस दिनमै फेरि उपचारकै लागि उतै गएका छन् । प्रधानमन्त्री ओलीले सिंगापुर जाने अघिल्लो दिन केही आक्रोशपूर्ण अभिव्यक्ति दिए ।

कसैको नाम नलिई उनले भने–मरिहालोस भन्नेहरुलाई भन्न चाहन्छु अर्को चुनावमा पनि प्रतिष्पर्धा गर्न तयार भए हुन्छ । नाजुक स्वास्थ्य अवस्थाका ओलीलाई कसैले पनि सार्वजनिक रुपमा मरे हुन्थ्यो भनेको सुनिएको छैन ।

तर, पनि प्रधानमन्त्री ओलीले जुन आक्रोश व्यक्त गरे त्यसबाट उनी अलि हतास मनस्थितिमा थिए भन्ने प्रष्ट पार्दछ । प्रधानमन्त्री ओलीले सिंगापुर जाने अघिल्लो दिन मन्त्रीपरिषद् बैठक संचालन कार्यविधि संशोधन गराए ।

मन्त्रिपरिषद्को बैठक भिडियो कलबाट गर्ने गरी कार्यविधि संशोधन गरिएको हो । ओलीले उपप्रधानमन्त्रीहरु मध्ये एउटालाई कार्यबाहक नदिएर किन भिडियो कलबाट मन्त्रीपरिषद् बैठकमा चासो दिए भन्दा उनी अलि लामै समय बस्नुपर्ने भएकाले त्यसो गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै सिंगापुर उड्नु केही घण्टा अघि पार्टी सचिवालयको बैठक राखेर पार्टी बैठक संचालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिए । त्यसो त सिंगापुरबाट फर्केर दस दिन काठमाडौंमा बिताउँदा ओलीले हतार हतारमा अरु पनि केही निर्णयहरु गराए ।

पार्टीमा लामो समयदेखि बल्झिएको विभागीय विवादहरुलाई पूर्णता दिए । त्यसो गर्दै गर्दा उनले विधानमै व्यवस्था नभएको उपाध्यक्षमा वामदेव गौतमलाई ल्याए भने ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मा दिलाए ।

त्यसो गर्नुको अर्थ दाहाललाई पार्टी अध्यक्षताको जिम्मेवारी दिएपछि वामदेव र ईश्वर मार्फत दाहाललाई चेक गर्नु हो । माधव नेपालको बदख्वाई गर्दै झलनाथ खनाललाई तेस्रो वरियतामा राखे ।

पार्टीभित्रका काम गर्दै गर्दा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर गणतन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै परिवर्तनका पक्षधरहरुलाई एकजुट हुन पनि आह्वान गर्न भ्याए ।

गत सोमबारको संसद सम्बोधनको एक मात्र उद्देश्य गणतन्त्रमाथि खतरा उत्पन्न भयो भन्नु बाहेक अरु केही थिएन भन्ने उनको ४० मिनेटको भाषणबाट पनि प्रष्ट भयो । त्यसो त आफ्नो स्वास्थ्य अवस्था निकै कमजोर भएको समाचारहरु प्रवाह भएपछि त्यसलाई जवाफ दिनु पनि उनी चाहन्थे ।

यसैबीचमा बैठकको नौटंकी पनि गरे । प्रधानमन्त्री बनेको डेढ वर्षसम्म मुलुकमा विपक्षीहरु पनि छन् र भने जस्तो व्यवहार गर्दै आएका ओलीले भारतीय विदेशमन्त्री एस जयशंकर आउनु अघिल्लो दिन सर्वदलीय बैठक डाके ।

त्यहाँ पनि उनले संसदकै कुरा दोहोर्याए कि गणतन्त्र लगायतका उपलब्धिहरु गुम्ने खतरा बढ्यो, एकजुट हुनुपर्यो ।

बालुवाटारमा स्वभाविक रुपमा त्यहाँ सहभागी विपक्षीहरुको पनि त्यस विषयमा धारणा आउने थियो । र, प्रचार गणतन्त्र बचाउन सबै दल एकजुट छन् भन्ने गराइयो ।

भारतीय विदेशमन्त्री जयशंकरलाई सन्देश दिने उद्देश्य पनि थियो भन्ने बुझ्न कठिन छैन । मुखले नभने पनि घटनाक्रमहरु सत्ताधारीहरुले गणतन्त्र खतरामा पर्यो भनेर भारततर्फ औंला ठड्याउन खोजेका हुन भन्ने प्रष्ट बनायो ।

यो मनको बाघले खाएको हो वा साँच्चिकै केही विकास भईरहेको छ भन्ने कुरा थाहा पाउन केही समय पर्खनु नै पर्ने छ ।

सिंगापुर जानु अघिल्लो दिन मात्रै संविधान दिवस तयारी समितिको बैठकमा मिडिया बोलाई प्रधानमनत्री ओलीले संविधान दिवसलाई भव्यताका साथ मनाउनु, पोलपोलमा झण्डा लगाउनु, घर घरमा दीपावली गर्नु भन्ने आदेशपूर्ण निर्देशन दिए ।

उनको बोलीको शैली देख्दा उनी संविधान दिवस अर्थात असोज ३ गते नेपालमा हुने छैनन् भन्ने बुझिन्थ्यो । नत्र यो गर्नु उसो गर्नु भनेर एक महिना अघि नै निर्देशन दिनु आवश्यक थिएन, त्यो पनि मिडियाको अघितिर ।

यसले पनि प्रधानमन्त्री ओली भित्रभित्रै निकै हतास अवस्थामा छन् भन्ने बुझिन्छ । अर्कोतर्फ संसदको सम्बोधनदेखि सर्वदलीय बैठकसम्म कतै पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था खासमा कस्तो हो भन्ने खुलाएनन् ।

स्वास्थ्य अवस्थाको जानकारी खोज्ने मिडिया वा सरोकारवाला सबैसँग उनको प्रस्तुती निहुँ खोज्ने खालको रह्यो ।

कसैले कल्पना समेत नगरेको मरेहुन्थ्यो भन्नेहरुसँग अर्को चुनावमा पनि भिड्छु भनेर पदीय हैसियत बाहिरको अभिव्यक्ति दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उनको मेडिकल टीम पनि मौन रहेको छ । उनीहरु मिडियाको सम्पर्कमा आउनै चाहँदैनन् । अघिल्लो पटक सिंगापुरको अस्पतालले १२ वर्षदेखि लिँदै आएको औषधि फेरिदिएको थियो ।

नेपाल आउनासाथ औषधिले आसातित् रुपमा काम नगरेको देखिएपछि प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका हुन् । उपचार र औषधिले काम नगरेमा फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था समेत आउने बुझिएको छ ।

त्यसो गर्दा कतिको सफलता हात लाग्छ भन्ने कुरा अत्यन्तै संवेदनशील भएको विज्ञहरु बताउँछन् । कथम्कदाचित स्वास्थ्यमा जटिलता उत्पन्न भयो कमजोर बनिसकेका शरीरले कति थेग्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ, नेपालीपत्रमा उल्लेख छ ।

यसै पनि ओली स्वास्थ्य अवस्थाले भन्दा पनि आत्मविश्वासले चल्दै आएका हुन भन्नेमा चिकित्सकहरु सहमत छन् । तर, ओलीका पछिल्ला अभिव्यक्तिहरुले उनको आत्मविश्वास पनि धर्मराउन थालेको हो कि भन्ने आशंका बढाएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!