हामी निरन्तर जनतामाझ गैरहेका छौं

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दिपक दोर्जे लामा, उपमहासचिव, नेपाल लोकतान्त्रिक पार्टी

मुलुकको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
देशको वर्तमान अवस्था देखाउने दाँत एउटा, खाने दाँत अर्को जस्तो देखिन्छ । यो कुरा आम जनताले पनि बुझि सकेका छन् । तर यसबाट उम्कन चैं सकेका छैनन् । जनता स्वच्छ र सही राजनीतिका लागि बाटो खोजिरहेका छन् । विकल्प खोजिरहेका छन् । हाम्रो पार्टीले यो विकल्प दिन सक्छ भन्ने हामीलाई विश्वास छ । देश भ्रष्टाचार र कुशासनमा व्याप्त छ । यसबाट पनि आम जनता आजित छन् । यस अवस्थामा हामी जनताको दुखको साथी हुन चाहन्छौं । सरसर्ती भन्दा वर्तमान अवस्था अन्यौलपूर्ण छ ।

वर्तमान सरकारको क्रियाकलापलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
वर्तमान सरकारले जनतालाई ढाँटीरहेको हामीलाई अनुभुत हुन्छ । सरकार एउटा कुरा गर्छ, कामकुरा अर्को गर्छ । काठमाडौंका सडकको अवस्थालाई हेरेर सरकार कसरी चलिरहेको छ स्पष्ट देखिन्छ । मन्त्रीहरु चिल्लो गाडिमा हुँईंकिरहेका छन् । जनताहरु उकुस मुकुस बस्न र धुलोधुँवा सहेर यात्रा गर्न विवस छन् । सररबजार अस्तव्यस्त छ । निमुखा जनताले कहीं न्याय पाएका छैनन् । जनता आजित भइसके तर सरकारलाई केही मतलव छैन ।

नेपाल लोकतान्त्रिक पार्टी कस्तो पार्टी हो ?
यो पार्टी बहुल राष्ट्रवादी, जातीय संख्याको आधारमा उत्पीडित वर्ग, क्षेत्र, लिंग सवैलाई समानुपातिक प्रतिनिधित्वको आधारमा राज्य सञ्चालनको हरेक क्षेत्रमा अधिकार दिएर राज्य सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यको साथ अघि बढेको पार्टी हो । यसले ब्रम्हणवादको विरोध गर्छ तर ब्राम्हणको विरोध गर्दैन । किनकी बाहुन पनि उत्पीडनमा छन् । क्षेत्री पनि उत्पीडनमा छन्, जनजाति पनि उत्पीडनमा छन् । केही सीमित ब्राम्हणवादीहरुले मात्रै राज्यको अधिकारमा आफ्नो हैकम जमाएर बसिरहेका छन् । यसको हामी विरोध गर्दै अघि बढीरहेका छौं ।

जनताले लोकतान्त्रि पार्टीलाई कसरी हेरिरहेका छन् ?
पहिलो कुरा जनताको लागि सरकारी निकायाट अधिकार दिलाउने ठाउँमा हामी पुगेका छैनौं । हामीले अर्को तरिकाबाट संगठित भै आवाज बुलन्द गरी अधिकार दिलाउने सवालमा कहीं कतै चुकेको छैनौं । हामीले बुझे अनुसार जनताले हामीलाई सकारात्मक दृष्टिले हेरिरहेका छन् । साथ पनि दिइरहेका छन् । हामी जनताकै माया, ममता र सद्भावबाट अघि बढीरहेका छौं । हाम्रो नीति नियम जनताकै भलाईको लागि हो ।

नेपाल लोकतान्त्रिक पार्टीको नेतृत्वमा रहेका नेताहरु कुन रुपमा जनतामाझ गैरहेका छन् ?
नेपाल लोकतान्त्रिक पार्टी आफ्नो नीति, विचार र एजेन्डालाई लिएर जनतामाझ गैरहेको कुरा हामी स्पष्ट पार्न चाहन्छौं । वर्तमान राजनीतिक अवस्थालाई चिर्दै सडकमा पनि आफ्नो क्षमताले भ्याएसम्म विभिन्न सभा सम्मेलन, कार्यक्रम विभिन्न ठाउँमा इकाइ गठन गरिरहेका छौं । हामी जहाँ जहाँ जान्छौं जनता सकारात्मक रुपमा रहेको पाएका छौं ।

यो पार्टीलाई तल्लो तहसम्म पु¥याउन के के गर्दै हुनुहन्छ ?
केन्द्रीय कमिटि हुँदै प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहमा हामीले विभिन्न कमिटि निर्माण गरेका छौं । पहिले हाम्रो विचार र सिद्धान्त नै जनतालाई बुझाई रहेका छौं ।

नेपाल लोकतान्त्रिक पार्टीको विदेश नीति बताइदिनुस् न ?
हामी सवै मित्र राष्ट्रहरु प्रति सद्भा राख्दछौं । कसैप्रति वैरभाव राख्दैनौं । खासगरी भारत र चीनप्रति भने हामीले नजिकको समदुरीको सम्बन्ध राख्नुपर्छ भन्ने हाम्रो विचार हो ।

नेपाल लोकतान्त्रिक पार्टीको बटमलाईन बताइदिनुस् न ?
हाम्रो पार्टीको बटमलाईन भनेकै बहुल राष्ट्रवाद, जातीय जनसंख्याको आधारमा र उत्पीडित वर्ग र क्षेत्रको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने हो ।

देशमा भइरहेको भ्रष्टाचार र अनियमितता बारे यहाँको विचार कस्तो छ ?
देशबाट भ्रष्टाचार र अनियमितता उन्मुलुन गर्न जनस्तरबाटै खबरदारी गर्ने बेला आएको छ । भ्रष्टाचार निवारणको लागि सम्पूर्ण नेपाली जनता स्वस्फूर्त रुपमा नियम कानुनको ज्ञाता हुनुपर्छ र आफ्नो कामको प्रक्रिया आफैले बुझ्न सक्ने क्षमताको विकास हुनुपर्छ र यो क्षमताको राज्य तहबाट विकास गराउनु पर्छ ।

अब हुने उप निर्वाचनमा तपाईंहरुको पार्टीको स्थान कस्तो रहला ?
हाम्रो पार्टी उप निर्वाचनमा सशक्त रुपमा भाग लिन्छ र स्वच्छ निर्वाचन प्रणालीको लागि आवाज उठाउँछ । र हामी पनि निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा गर्न सहयोगीको भूमिका निर्वाह गर्छौं । हामी आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म निर्वाचमा सहभागी हुन्छौं । उप निर्वाचत हाम्रो पार्टीको पनि जनमत बुझ्ने अवसरको रुपमा हामीले लिनेछौं । हाम्रो स्रोत, साधन र जनशक्ति अनुसार हामी उप निर्वाचन हुने सवै ठाउँमा उम्मेदवार उठाउने छौं ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!