उपचारका नाममा लगातार भ्रष्टाचार

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भ्रष्टाचारको अर्थ आर्थिक अपचलनमात्र हुँदैन, पतित आचरण, नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम, पक्षपातपूर्ण निर्णय र व्यवहार पनि हुन्छ ।

यस अर्थमा भ्रष्टाचारको दलदलमा देशमा प्रमुख दलका नेतादेखि भुइँ तहका कर्मचारीसम्म परेका छन् । मुहान (नेतृत्व) नै फोहोरी भएपछि बाँकी सामाजिक जीवनमा त्यसको गम्भीर असर परिरहेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताधारी नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचारका नाममा राज्यकोषको दुरुपयोग गर्दै सपरिवार विदेश सयरमा गएको प्रकरणसँगै नेतृत्वमा संस्थागत बन्दै गएको भ्रष्ट चरित्र फेरि सतहमा आएको छ । सामाजिक सञ्जाल तथा जमघटहरूमा यसबारे व्यापक आलोचना भइरहेको छ ।

प्रचण्डको राज्यलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनलाई नेपालको अस्पतालमा पनि उपचार गर्न खर्च हम्मे पर्छ भने उनलाई स्वास्थ्य परीक्षण गर्न अमेरिका, सिङ्गापुर जाने पैसा कहाँबाट आउँछ ? भन्दै पूर्वपत्रकार तथा राजनीतिकर्मी रवीन्द्र मिश्रले ट्विटरमा आफ्नो असन्तुष्टि राखेका छन् ।

विदेश जाँदा खर्चका लागि लानुपर्ने डलर कसरी लगेका होलान् भन्ने जिज्ञासासहित विवेकशील साझाका संयोजकसमेत रहेका मिश्रले लेखेका छन्,  ‘प्रचण्डको आम्दानीको आधारमा भन्ने हो भने उनलाई अमेरिका त कुरै छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ । तर उनी सिङ्गापुर, अमेरिका गए । कहाँबाट आयो पैसा ? उपचारका लागि परिवारसहित बारम्बार विदेश जाँदा विदेशी मुद्रा कसरी लगिरेहका छन् ।’

मिश्रको यो जिज्ञासामा आम नेपालीको भावना मिसिएको छ । एकातिर गाउँमा सिटामोलसमेत नपाएर जनता मरिरहेका छन्, अर्कोतिर गरिब जनताका मसिहा भनिने कम्युनिस्ट नेताहरू नै राज्यकोषको दुरुपयोग गर्दै उपचारका नाममा विदेश सयरको गलत परम्परालाई संस्थागत बनाउन लागिपरेका छन् ।

‘हेर्नुहोस्, देश र जनताको चिन्ता गर्दागर्दै रोगी भइयो । अब जनताले उपचार खर्च नब्यहोरे कसले व्यहोर्छ ?’ सामाजिक अभियन्ता छविरमण अधिकारी उपचारका नाममा देखिएको विदेश भ्रमण मोहबारे व्यङ्ग्यात्मक टिप्पणी गर्दै फेसबुकमा लेख्छन्, ‘राष्ट्रको ढुकुटी रित्याउँदै सिङ्गापुर, बैङ्कक, जापान, अमेरिका धाएर करोडौँको उपचार खर्च गर्ने ओली, प्रचण्डहरूले मुलुकमा उपचार नपाएर जनता मरिरहेको तीतो र पीडादायी समाचार पढ्छन् कि पढ्दैनन् ?’

नेपालका अधिकतर दलका नेताहरूमा सामान्य रोगको समेत विदेशी भूमिमा उपचार गराउने होड नै चलेको छ । मुटुको ट्रान्प्लान्टबाहेक प्रायः सबै प्रकारका उपचार नेपालमै सम्भव भए पनि सामान्य स्वाथ्यपरीक्षण तथा रुघाखोकी लाग्दासमेत उपचारका लागि भन्दै नेताहरू विदेश गइदिँदा स्वास्थ्य क्षेत्रमा नेपालको बेइज्जत भइरहेको चिकित्सकहरूको गुनासो छ ।

‘सामान्य उपचारका लागि आर्थिक अभावका कारण आत्महत्या गर्नेसम्मको अवस्थामा रहेका नेपालीहरूका मार्गदर्शक मानिने नेताहरूबाट नै उपचारका नाममा राष्ट्रिय ढिकुटीबाट प्रयोग गरिनु कतिको जायज हो ?’ डाक्टर मुकेशकुमार साहको प्रश्न छ । उनका अनुसार स्वदेशमै हुन सक्ने वा छिमेकी मुलुक भारतमा कम खर्चमा हुन सक्ने उपचारका लागि धेरै खर्च गरेर समुद्रपार जाने सौखिन प्रवृत्तिले अन्तर्राष्ट्रियस्तरमा मुलुकको बेइज्जत भइरहेको छ । ‘उपचार कहाँ गर्ने भन्ने बिरामीको स्वतन्त्रताको विषय हो तर नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन,’ डाक्टर भूपेन्द्रमान बस्नेत भन्छन्, ‘हाम्रा अस्पतालहरू सुविधासम्पन्न भइसकेका छन् । त्यस्तो कुनै रोग छैन, जसको उपचार नेपालमा नहोस् ।’

चार वर्षअघि पूर्वप्रधानमन्त्री झलनाथ खनाल सरकारी सहायतामा उपचार गराउन अमेरिका गएका थिए । त्यहाँ गएपछि थाहा भयो, उनलाई भिटामिन ’डी’ कमी भएको रहेछ । त्यो बेला उनको खुबै आलोचना भएको थियो । यस्ता अनेक उदाहरण छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सिङ्गापुर भ्रमण, एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्यान्ड तथा सिङ्गापुर भ्रमण, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा दुबई भ्रमण, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको अमेरिका यात्रा, काङ्ग्रेस नेत्री सुजाता कोइरालाको सिङ्गापुर र मलेसिया यात्रालाई पनि राज्यकोषबाट उपचारका नाममा गरिएको दुरुपयोग प्रकरणमा जोड्न सकिन्छ ।

राजनीतिक विश्लेषक ध्रुवराज अधिकारीका अनुसार हाम्रो जस्तो देश जहाँ चित्र वाग्लेजस्ता डाक्टरहरू उपचार खर्च अभावकै कारण मर्न बाध्य छन्, तर नेताका बूढीलाई सामान्य ज्वरो आउँदा हङकङ र सिङ्गापुरको अस्पताल पु¥याइन्छ । हुन त, कतिपय नेताहरू उपचारको बहानामा राजनीतिक भेटघाटका लागि पनि विदेशी भूमि पुग्ने गरेका छन्, तापनि उनीहरूले आफू उपचारकै निमित्त विदेश गएको दाबी गरिरहेका हुन्छन् । उनीहरूको यस्तो दाबीमा मुलुकको मेडिकल संस्था र चिकित्सकहरूप्रति विश्वास नभएको मनोविज्ञान झल्किने गरेको छ । नेताहरूको यस्तो आचरणले एकातिर नेपाली डाक्टरहरूप्रति समाजमा अविश्वासको मात्रा बढाएको छ भने अर्कोतर्फ डाक्टरहरू पनि निराश बनेका छन् ।

मुलुकको चिकित्सक र उपचारमा विश्वास नगर्ने विशिष्टहरूको उपचार खर्च सरकारले व्यहोर्नु गलत नजिर भएको चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार यो प्रकरणमा नेता विशेष भन्दा पनि विदेशमा गएर उपचार गरेबापत सरकारी ढिकुटीबाट खर्च कुम्लाउने व्यक्तिगत संस्कार र राज्यको खुकुलो नीति बढी दोष छ । तसर्थ यस्तो संस्कारको कानुनी रूपबाट जबसम्म अन्त्य गरिन्न तबसम्म विशिष्टको उपचारका लागि हुने विदेश यात्रा रोकिने छैन । तर यो क्रम भङ्ग हुनुपर्ने राजनीतिक विश्लेषक ध्रुवराज अधिकारीको टिप्पणी छ । ‘नेपालमा अस्पताल पु¥याएपछि पनि पैसा नहुँदा उपचार नपाएर मर्नेको सूची लामै हुन आउँछ । कुनै–कुनै विशेष रोगबाहेक अरू रोगका लागि विदेश जाने कुरालाई अब राष्ट्रियतासँग जोडेर हेर्न आवश्यक छ,’ अधिकारी भन्छन्, ‘सानो रोगको उपचारका लागि समेत विदेश जाने यो क्रमलाई परम्परामा परिणत हुन दिनुहुँदैन ।’

हालै उपचारका नाममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड राज्यकोषको दोहन गर्दै सपत्नी विदेश गएको सन्दर्भमा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको टिप्पणी छ, ‘उहाँहरूले जनताको मत जिते पनि मन जित्ने काम गर्नुभएको छैन ।’

भ्रष्टाचार नियन्त्रणको अठोट गर्ने नेपाली नेताहरूको निष्ठा र आदर्शलाई उनीहरूद्वारा प्रस्तुत आचरणले कमजोर पारेको टिप्पणी हुँदै आएको छ । त्यसैको एउटा उदाहरण उपचारको नाममा नेताहरू विदेश जाने प्रवृत्ति पनि हो । त्यस्तो उपचार खर्च राज्यकोषबाट बेहोर्ने कार्यलाई निरुत्साहित गर्नैपर्छ । यसका लागि हरेक सचेत जनताले खबरदारीको मात्रा बढाउनु जरुरी छ । नयाँ बिर्मशका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!