एक वर्षमा चार हजार ८० पत्रकारले लिए ‘प्रेस पास’

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् ।

प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ ।

विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था गरिएको छ ।
 
विभागले कोही पनि श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ । बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो ।

विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारहरुले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउनुहुन्छ । “एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारहरुले नवीकरण गर्न नआउने गरेका छन्”, उहाँ भन्नुहुन्छ ।
 
पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण पनि ‘प्रेस पास’ नवीकरणका लागि समस्या पर्ने गरेको उहाँको भनाइ छ । विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!