योगेश भट्टराईमाथि प्रचारमुखी भएको आरोप

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै प्रचारमुखी भएको आरोप लाग्न थालेको छ ।

नेकपाभित्र तुलनात्मक रुपमा केपी शर्मा ओलीको आलोचक भएकाले ओली नेतृत्वमा दुई तिहाईको सरकार निर्माणका बेला भट्टाईलाई मन्त्री बनाइएको थिएन ।

विद्यार्थीबाट राजनीतिमा होमिएका भट्टराईको सफलता पार्टीको मात्रै नभएर समग्र युवा पुस्ताको सफलता हुने भन्दै नेकपाका एकथरी युवाहरुले उनलाई उचालिरहेका छन् ।

कांग्रेसका युवा नेता पूर्वमन्त्री तथा बर्तमान सांसद गगन थापाले योगेश मन्त्री भएपछि सामाजिक सञ्जालमा लेखेका थिए ‘मन्त्रीको रुपमा तपाईको सफलता तपाई र तपाईको पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरु प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरीमुरी शुभकामना ।’

उनले युवा पुस्ताका राजनीतिकर्मीहरुप्रतिको आशा र विश्वास बढाउने गरी काम गर्लान् वा गर्न नसक्लान् । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डडन मन्त्रालयका कर्मचारीहरुले भने काममा भन्दा बढी प्रचारमा लागेको भन्दै उनको कार्यशैलीको टिप्पणी गर्न सुरु गरिसकेका छन् ।

मन्त्री भएपछि भट्टराईले भनेका कतिपय आमसर्वसाधारणले पत्याउन नसक्ने र उरान्ठेउला निर्णय गरे । यसले उनीबाट गरिएका अपेक्षामा असर परेको देखिन्छ ।

भट्टराईले सार्वजनिक कार्यक्रममै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन २० हजार पर्यटन व्यवसायीलाई खाकासहित टुँडिखेलमा राखेर सपथ गराइने बताएका थिए ।

भिजिट नेपाल २०२० पर्यटन क्षेत्रका लागि जीवनमरणको सवाल भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा व्यवसायीहरुलाई सपथ गराउने दाबी गरे, त्यो असम्भव रहेको धेरैको तर्क छ ।

मन्त्री हुँदा नेताले लिएको सपथ भनेको व्यवसायीले आफ्नो व्यवसायलाई दीर्घकालीन रुपमा टिकाउन काम गर्नु जस्तै हो, एक पर्यटन व्यवसायीले भने, दीर्घकालीन रुपमा टिकाउन राम्रो काम गर्नै पर्ने हुन्छ, यहाँ सरकारले सपथ दिलाएर हुने केही हैन, यस्ता विषयले मन्त्रीलाई कमजोर बनाउनेबाहेक अरु कही उपलब्धि हुँदैन ।

व्यवसायीले सरकारका मन्त्रीहरु दीर्घकालीन प्रभावलाई हेरेर अघि बढ्ने क्षमता नराख्दा जनविश्वास गुम्दै गएको बताउदै आएका छन् ।

मन्त्री भट्टराईले फेसबुक फ्रेम प्रयोग गरेर भिजिट नेपाल सफल पार्नका लागि आह्वान गरेका छन् । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिदिन आग्रह गरेका छन् ।

यो पनि प्रचारमुखी काम मात्र भएको धेरैले आरोप लगाएका छन् । सामाजिक सञ्जालमा रहेका धेरै युवा युवतीले उनको आह्वानलाई स्वीकार गरे पनि त्यसबाट भिजिट नेपालको प्रभाव नदेखिने विज्ञहरु बताउँछन् ।

प्रभावकारी काम गरिने वा विज्ञहरु खटाउने ठाउँमा भने पार्टी कार्यकर्ताहरु हरेक जिल्ला पार्टीको तर्फबाट स्थानीय तहमा जितेका वा प्रतिवर्धामा भाग लिएकाहरुलाई संयोजक नियुक्ति गरिएको छ ।

यसले पनि भ्रमण बर्ष सफल पार्नका लागि कुनै ठोस उपलव्धि नहुने तर्क धेरैको छ । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!