सुदूरपश्चिममा जलविद्युत् : क्षमता १८,१४९ मेगावाट, उत्पादन ४१ मेगावाट

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी : सुदूरपश्चिममा जलविद्युतको उत्पादन क्षमता १८ हजार १४९ मेगावाट रहेको छ।विद्युत उत्पादनको यो क्षमता मुलुकको छ वटै प्रदेशको तुलनामा सबैभन्दा बढी हो। मुलुकभरिको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिममा मात्रै छ। त्यसैले यो प्रदेश जलविद्युतमा धनी मानिएको छ।

प्रदेशको आर्थिक स्तरलाई समृद्ध बनाउन सक्ने गरी सुदूरपश्चिममा विद्युत उत्पादन क्षमता रहे पनि त्यसको सदुपयोग हुन सकेको छैन। प्रदेशमा हालसम्म जम्मा ४१.८ मेगावाट जलविद्युतमात्रै उत्पादन भएको छ। जुन कुल उत्पादन क्षमताको ०.२ प्रतिशमात्रै हो।

सुदूरपश्चिम प्रदेशमा रहेको जलविद्युत सम्भावनालाई सदुपयोग गर्न सकेमा यो प्रदेशको कायापलट हुने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपालका महासचिव आशिष गर्गले जनाए। जलविद्युत आर्थिक वृद्धि र आर्थिक रुपान्तरणको एक महत्वपूर्ण साधन रहेको उनले बताए।

धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको दीगो विकासका लागि जलविद्युत’ विषयक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा जलविद्युतको क्षमता, हालसम्म भएको उत्पादन लगायतको बारेमा चर्चा गरिएको थियो। कार्यक्रममा ३० मेगावाटको चमेलिया खोला, ८.५ मेगावाटको नौगाड र ३.३ मेगावाटको कपाडीगड गरी ४१.८ मेगावाट विद्युत उत्पादन भएको जनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट क्षमताको नौ वटा जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यसैगरी, ५४ मेगावाट क्षमताको छ वटा जलविद्युत आयोजनाको पिपीए भइ निर्माणको तयारी भइरहेको छ। तीन हजार ६१४ मेगावाट क्षमताको २० वटा जलविद्युत आयोजना अध्ययनको चरणमा रहेको छ। यसैगरी, १०६ मेगावाट क्षमताको चारवटा जलविद्युत आयोजना पनि नेपाल अध्ययनको चरणमा रहेको छ।

१२ वटा योजना नेपाल सरकारको बास्केटमा छन्। जसको क्षमता ९४ मेगावाट छ। १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी, ६ हजार ८०० मेगावाटको पञ्चेश्वर, ७५० मेगावाटको पश्चिमसेती लगायतका ठूलो जलविद्युत आयोजना सुदूरपश्चिममा रहेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अनुसार बझाङमा जिउलीगाड (एक मेगावाट), कालङ्गा (१५.३ मेगावाट), कैलालीमा कापडीगाड (३३ मेगावाट), दार्चुलामा मकरीगाड (१० मेगावाट), नवगाड (एक मेगावाट), माथिल्लो नवगाड (आठ मेगावाट) जलविद्युत आयोजना निर्माण भइरहेको छ। यसैगरी, बझाङमा सनिगाड (१०.७ मेगावाट), माथिल्लो कालङगाड (३८.८ मेगावाट) र डोटीमा माथिल्लो गड्डीगाड (१.५ मेगावाट) जलविद्युत आयोजना निर्माण भइरहेका छन्।

प्रदेशमा पिपिए भइ निर्माणको तयारीमा रहेका जलविद्युत आयोजनामा बझाङमा जागडीगाड सानो सुनीगाड, डोटीमा माथिल्लो गड्डीगाड, दार्चुलामा नवगाड र चमेलिया रहेका छन्।

सुदूरपश्चिममा विद्युत उत्पादनका लागि प्रति मेगावाट करिब २० करोड रुपैयाँ खर्च हुनेछ। क्षमतानुसार विद्युत उत्पादनका लागि करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्चिनु पर्ने औंल्याइएको छ।

सुदूरपश्चिम पश्चिममा जलविद्युत सम्भावना धेरै रहे पनि उत्पादन थोरै भएको ऊर्जा स्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर इञ्जिनियर गोकर्णराज पन्थले बताए।नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ।

विद्युत उत्पादनका लागि पुँजी लगानीको व्यवस्थापन, विदेशी लगानीको आकर्षण, विद्युत खरिद सम्झौता गर्नमा चुनौती रहेको पन्थले बताए। प्रशारण लाइनको निर्माण गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न पनि समस्या रहेको उनको भनाइ थियो। यसैबीच, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले तीनदेखि २० मेगावाटसम्मका जलविद्युत आयोजना प्रदेश सरकारले बनाउने बताए।

कार्यक्रमको उद्घाटन गर्दै उनले विद्युत आयोजना निर्माणका लागि प्रदेश सरकारले ऐनको मस्यौदा तयार पारिसकेको उल्लेख गरे। ‘हामी नेपाल सरकारले बनाउने एकीकृत ऐनको पर्खाइमा छौं’, मन्त्री बोहराले भने, ‘केन्द्रले ऐन नबनाउँदासम्म हामीले बनाउन नमिल्ने भएकाले छ। महिनादेखि मस्यौदा थन्क्याएर राखेका छौं।’

प्रदेश सरकारले जलविद्युत आयोजना निर्माणका लागि गतआर्थिक वर्षमा सम्भाव्यताको अध्ययनसमेत गरेको मन्त्रीको भनाइ थियो। ‘तर कार्यान्वयन गर्नमा केही कानुनी जटिलता छ’, उनले भने।

सुदूरपश्चिममा जलविद्युत आयोजनाको सम्भावना धेरै रहेको छ। तर सम्भावना छ मात्रै भन्नुभन्दा अब तत्परताका साथ अगाडि बढ्न आवश्यक रहेको मन्त्री बोहराको भनाइ छ। उनले प्रदेश सरकारले पहिलो पटक ल्याएको अल्पकालीन बजेटमा पनि जलविद्युतको सम्भाव्यता अध्ययनका लागि चासो दिएको थियो।

‘अल्पकालीन बजेटमा सरकारले एक मेगावाटसम्मको जलविद्युत आयोजनाको अध्ययन गरेको थियो’, मन्त्री बोहराले अगाडि थपे, ‘तर एकदेखि तीन मेगावाटसम्म जलविद्युत स्थानीय सरकारले बनाउने भनिएपछि त्यसमा हामी अगाडि बढ्न सकेनौं।’ यसैगरी प्रदेश सरकारले तल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारसँग सहमति माग गरेको छ।

तल्लो चमेलियालाई प्रदेश सरकारले आफैँ निर्माण गर्ने भन्दै चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा पनि समावेश गरिएको मन्त्री बोहराले बताए। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर गोकर्णराज पन्थले सुदूरपश्चिममा जलस्रोतको पर्याप्त सम्भावना रहे पनि त्यसको उपयोग हुन नसकेको उल्लेख गरे।

प्रदेशमा भएका स्राेत साधनको पनि प्रयोग गर्न नसक्दा खोलाका पानीको स्रोत पानीमै प्रयोग भइरहेको जयपुथ्वी नगरपालिका बझाङका नगरप्रमुख वीरेन्द्र खड्काले बताए। उनले जलस्रोतमा सरकारी र निजी क्षेत्रबाट लगानी भएमात्र प्रदेशमा भएको जलस्रोत प्रयोगमा आउने बताए।

सुदूरपश्चिम प्रदेशमा आर्थिक समृद्धि र विकासका लागि जलविद्युतको ठूलो सम्भावना रहेको बझाङ जिल्ला समन्वय समितिका सभापति खडकबहादुर खडकाले बताए। ‘तीन तहकै सरकार कार्ययोजना बनाएर जलविद्युत आयोजनाको निर्माणमा ध्यान दिन आवश्यक छ’, उनले भने। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!