ओली सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड कार्यकारी अध्यक्ष !

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो कार्यविभाजनले विवादको वीजारोपण गरेको छ ।आइतबार राति बालुवाटारमा बसेको बैठकले वरीयता हेरफेर, विशेष जिल्ला कमिटी गठनदेखि जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्ज तोक्ने काम गरेको थियो ।

कार्यविभाजन र वरीयता हेरफेरमा ‘किनाराकृत’ गर्न खोजिएको भन्दै नेपाल पक्षले लिखित असहमति दर्ज गर्ने तयारी गरेको स्रोतको दाबी छ ।नेपाल पार्टी कामकै सिलसिलामा पार्टी अध्यक्षसँगै जनकपुरमा छन् । जनकपुरबाट फर्किएलगत्तै सचिवालयमा असहमति लिखितरूपमा दर्ज गर्न लागेको उनी निकट केन्द्रीय नेताहरूले जानकारी दिए ।

“वरिष्ठ नेता नेपाल सोमबार जनकपुर जानुभएको छ । जनकपुरबाट फर्किएलगत्तै लिखितरूपमै असहमति पेश गर्ने तयारी छ, सम्भवतः मंगलबार सचिवालयमा पेश हुनेछ,” स्रोतले पुष्ट्याइँ ग¥यो ।

नेता नेपालले विधानअनुसार ‘एक व्यक्ति एक पद’ लागु गरिनुपर्ने, तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा जितेर आएका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलाई सोही भूमिकाका साथ सचिवालयमा ल्याइनुपर्ने, एउटा उपमहासचिवलाई महासचिवमा पदोन्नति गर्दा अर्का उपमहासचिव घनश्याम भुसाललाई बाहिर राखिन नहुनेलगायतका विषय समेटेर लिखित असहमति पेस गर्न लागेको स्रोतको भनाइ छ ।

युवा, मजदुर, विद्यार्थी, महिलालगायत ६ जनवर्गीय संगठन (जवस)को इन्चार्ज, सहइन्चार्ज नियुक्तिप्रति पनि नेपालको विमति छ । ती जवसमा ओलीले एकलौटी गरेको नेपाल पक्ष नेताको भनाइ छ ।आइतबारको बैठकमा चौथो वरीयताका नेता झलनाथ खनाललाई तेस्रोमा बढुवा गर्ने अजेण्डा प्रस्तुत गरेलगत्तै नेपालले ओलीलाई ‘षड्यन्त्र गरेको’ आरोप लगाएका थिए ।

“हिजो मलाई अघि राखेर झलनाथ खनालविरुद्ध षड्यन्त्र गर्नुभयो, आज उहाँलाई राखेर ममाथि षड्यन्त्र गर्नुभयो,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेता खनाललाई आफूभन्दा अगाडि वरीयता दिनुपर्ने कुरामा नेपालको विमति त थिएन तर अध्यक्ष ओलीले षड्यन्त्रको सिद्धान्त अवलम्बन गरेको उनको निचोड थियो ।झलनाथको वरिष्ठता ओलीले नै मिचेका हुन् नेपाल निकट नेताका अनुसार पार्टी अध्यक्ष ओली नयाँ षड्यन्त्रको सिद्धान्तका ‘आविश्कारक’ हुन् ।

“हिजो एकीकरणका बेला झलनाथलाई वरिष्ठ नेता होइन, सचिवालयमा पनि राख्न हुँदैन भन्ने उहाँ नै हो । माधव नेपाल र वामदेव नभएको भए झलनाथ सचिवालयमा पनि हुनुहुन्नथ्यो । त्यतिबेला झलनाथको राजनीतिक, आर्थिक आचरणमाथि प्रश्न उठाइयो तर नेपालले प्रतिवाद गर्नुभयो । पार्टी अध्यक्ष भइसकेका नेतालाई माइनस गर्न मिल्दैन दोस्रो वरिष्ठता दिनुपर्छ भन्ने नेपाल नै हो,” उनी निकट नेताको दाबी छ ।

बीचमा वामदेव गौतमलाई किनाराकृत गर्न ओली त्यसैगरी लागे तर नेपालले प्रतिवाद गरेपछि ओली हच्किएको ती नेता बताउँछन् ।

“अहिले झलनाथलाई वरीयतामा अगाडि ल्याउने प्रस्तावक आफैँ बन्नुभयो, बुझिनसक्नुको कुरा छ,” नेपाल निकट नेता आश्चर्य व्यक्त गर्छन् ।तर, खनालको वरीयतामा नेपाल पक्षको कुनै विमति नरहेको र अजेण्डा अघि बढाइएपछि नेपालले शुरूमै समर्थन गरेको उनी पक्षीय नेताको भनाइ छ ।

“विधि र पद्धतिको पक्षमा नेपाल शुरूदेखि नै हुनुहुन्छ । विधानमा टेकेर गरेको निर्णयप्रति उहाँको विमति रहँदैन,” नेपाल पक्षका नेता भन्छन् ।

शक्ति सन्तुलनमा अदलबदल

‘शीतल निवास सक्रिय भएपछि’ नेकपाका शक्ति सन्तुलनमा उलटफेर आएको नेकपा स्रोत बताउँछ ।ओली खुमलटार गठबन्धन (प्रचण्ड– नेपाल, झलनाथ–वामदेव)प्रति ओली–ईश्वर पोखरेल ध्रुव निकै रुष्ट थियो ।

रातिराति बैठक बस्ने, पार्टीभित्र ध्रुवीकरण पैदा गर्ने, सरकार, पार्टी नेतृत्वलाई कमजोर बनाउने र आफू हावी हुन खोजेको भन्दै ओली ‘ठेगान लगाउने समय’को खोजीमा थिए ।पछिल्लो पटक शीतल निवास (राष्ट्रपति विद्यादेवी भण्डारी) सक्रिय भएपछि ओलीको अभिष्ट पूरा भएको नेपाल पक्षको बुझाइ छ ।

त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातामन्त्री रघुवीर महासेठको घरमा वामदेव गौतम, महासचिव विष्णु पौडेलसहितका नेताहरूको बैठक बसेर तयारी गरेको नेपाल पक्षका नेताहरूको भनाइ छ ।

“एकताका बेला पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद राखौँ भन्दा, समाजवादमा जानुपर्ने छ जबजको कुम्लो बोकेर हुन्छ भनेर औँलो ठड्याउने वामदेव एक्कासी जबजकै प्रवक्ता कसरी बने ?यसमा शीतल निवासले पर्याप्त खेलेको छ,” नेपाल निकट नेताको भनाइ छ ।

नेपाल पक्षका नेताहरूको दाबीअनुसार आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाका कारण ओलीको मनोविज्ञान बदलिएको छ ।उनको मनोबल पनि खस्किएको छ । यद्यपि उनले मुखरित गरेका छैनन् । आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै ‘पाँच वर्षसम्म आफैँ प्रधानमन्त्री रहने’ सन्देश प्रवाह गरे । सम्बोधनकै क्रममा बढेको स्वास र अनुहारको भावभङ्गिमाले बेलाबखत त्यसको खण्डन गथ्र्यो ।

नेपाल पक्षको दाबीअनुसार ओली यही भदौ पाँच गते बिहीबार उपचारका लागि पुनः सिंगापुर जाँदैछन् । त्यसबाट फर्किएलगत्तै प्रचण्डलाई एकल अध्यक्ष सुम्पने तयारी गरेको स्रोतको भनाइ छ ।१३ महिनापछि सहमतिअनुसार सरकारको नेतृत्व पनि हस्तान्तरण गर्नेछन् ।

‘पार्टी र सरकारको उधारो चेक पाएपछि फुरूङ्ग हुँदै’ प्रचण्ड ओली कित्तामा उभिन पुगेको नेपाल पक्षको बुझाइ छ ।

यही कारणले हुनुपर्छ– आइतबारको बैठकमा अध्यक्षद्वयको कार्यविभाजनको कुरा पनि नेपालले उठाएका थिए । एउटा अध्यक्ष सरकार प्रमुख रहेकाले अर्को अध्यक्षले पार्टी अध्यक्षको कार्यकारी भूमिका पाउनुपर्ने उनको भनाइ थियो ।तर, प्रचण्डले ओलीकै बोलीमा लोली मिलाउँदै ‘अहिले ओलीको इच्छाअनुसार हुने’ बताएका थिए ।

माधव नेपाललाई के घाटा ?

स्पष्ट छ, नेकपाभित्र यतिबेला नेता नेपाल पार्टी अध्यक्षका दाबेदार होइनन् । न त प्रधानमन्त्रीको नै हुन् ।

अतः पार्टीभित्रको पछिल्लो समीकरण (ओली–प्रचण्ड–झलनाथ–वामदेव र ईश्वर पोखरेल)ले तत्कालै कुनै प्रभाव नपार्ने नेपाल पक्षको बुझाइ छ ।

“नेपाल ‘कर्नर’मा पारिएका हुन् । तर, कमजोर छैनन्,” उनी निकट नेताको बुझाइ छ ।त्यसका लागि उनले गत असोज ५ गते सचिवालयको बैठकले गरेको निर्णयको उदाहरण पस्किए।

“त्यतिबेला ओली–प्रचण्ड गठबन्धनले नेपाललाई प्रदेशको इन्चार्ज सहइन्चार्ज गठनमा किनाराकृत गरेको थियो । तर, नेपालले इन्द्रेणी फुडल्याण्डमा स्थायी कमिटीको भेला बोलाएर असहमतिमात्रै राखेनन् । पार्टी एकता प्रक्रिया झण्डै दस महिना अवरुद्ध गराइदिए,” नेपाल निकट नेता भन्छन् ।

“ओलीले नेताका विरुद्ध पटकपटक षड्यन्त्र गर्दै आएकाले र त्यसको सिकार एकपछि अर्को नेता भइरहेकाले आगामी महाधिवेशनसम्म यही गठबन्धन रहिरहनेमा शंका गर्न सकिन्छ । त्यसकारण नेपाल हतोत्साही हुनुहुन्न,” नेपाल पक्षका नेताको बुझाइ छ ।वामदेवलाई उपाध्यक्ष रोक्न पूर्वमाओवादी केन्द्रको ‘लबिइङ’

शुक्रबार र आइतबारको सचिवालय बैठक पार्टी एकता विस्तारका लागि भन्दा पनि पूर्वएमाले पुनर्गठनका लागि भएको पूर्वमाओवादी केन्द्रको बुझाइ छ । जुन बैठकले पूर्वएमालेका नेताहरुलाई महत्वपूर्ण विभाग, जवस इन्चार्ज, सहइन्चार्जको भूमिका दिइयो भने पूर्वमाओवादी केन्द्रलाईछाडिएका जवस र विभाग दिइएको थियो ।

वामदेव ओली गुटको पिलरका रूपमा प्रकट हुँदै एकाएक शक्तिशाली भूमिकामा देखिएपछि पूर्वमाओवादी केन्द्रका दोस्रो तहका नेता संशय व्यक्त गरिरहेका छन् ।पूर्वमाओवादी केन्द्रका नेतामा दुईवटा डर छ ।

पहिलो, पूर्वमाओवादी केन्द्रको दृष्टिमा ओलीले प्रचण्डलाई पार्टी या सरकारको नेतृत्व सहजै हस्तान्तरण गर्न तयार हुँदैनन् । दोस्रो, सरकारको नेतृत्व परिवर्तन गर्ने बेलासम्म यही गठबन्धन रहिरहन्छ, यही समीकरण टिकिरहन्छ भन्ने छैन । कतै ओलीले वामदेवलाई उत्तराधिकारीका रूपमा त अघि सारेका होइनन्, वामदेवलाई देखाएर ओली पार्टी नेतृत्व सुम्पन अनिच्छिुक देखिने त होइनन् भन्ने भयले लखेटेको छ, पूर्वमाओवादी केन्द्रका नेतालाई ।

त्यसैले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पास हुन नदिन केही नेता सक्रिय रहेको पूर्वमाओवादी केन्द्रसम्बद्ध स्रोत बताउँछ ।पहिलो, वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव विधानअनुकूल छ्रैन । सचिवालयले प्रस्ताव त गर्न सक्छ तर अनिवार्य केन्द्रीय कमिटीले अनुमोद गर्नुपर्छ । कारण– विधान संशोधन, परिमार्जन गर्ने अधिकार केन्द्रीय कमिटीलाई मात्रै छ ।

तसर्थ सचिवालयको प्रस्ताव स्थायी कमिटीमै फेल गराउने र सम्भव नभए केन्द्रीय कमिटीबाट अनुमोदन नगराउने तयारीमा पूर्वमाओवादी केन्द्रका नेता लागि परेका छन् ।त्यसमा नेपाल पक्षका नेताहरूले साथ दिने स्रोतको दाबी छ ।साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!