सुबिसु केबल नेटको क्लियर टिभी वीरगञ्ज ब्रान्चमा प्रशासनद्वारा छापा

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्सा, वीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको सुबिसु केबल नेटको क्लियर टिभी वीरगञ्ज ब्रान्चको सेट लाइट केवल प्रालिमा प्रशासनले छापा मारेको छ ।

तर मोलतोलपश्चात कुरो मिलेको समाचार बाहिर आएको छ । सूचना तथा प्रसारण विभाग, जिल्ला प्रशासन कार्यालय पर्सा, कर कार्यालय, हुलाक कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सुबिसु केबल नेटको क्लियर टिभी वीरगञ्ज ब्रान्चको सेट लाइट केबल प्रालिमा छापा मारेको थियो ।

केही महिनाअघि क्लियर टिभीझैं वीरगञ्जमा हाम्रो टिभी समेत सञ्चालनमा रहेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले हाम्रो टिभीको कार्यालयमा छापा मारेपछि कल बाइपास गरेको आरोपमा सञ्चालकलगायत केही व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाइएको थियो भने कार्यालय समेत सिल गरिएको थियो । तर यस्तै उजुरीको आधारमा सोमबार सूचना तथा प्रसारण विभागबाट समेतको टोलीले छापा हाने पनि सेटिङमा सिल नै नगरी फिर्ता भएको हो ।

सेट लाइट केवल प्रालिमा केही वरिष्ठहरुको समेत सेयर भएको कारण मोलतोल हुनसक्ने बताइएको छ । सो उजुरीमा सुबिसु केबल नेटको क्लियर टिभी वीरगञ्ज ब्रान्चको कम्पनीको वीरगञ्जमा रहेको चारवटै कार्यालयमा अवैध नेटवर्किङ गरी राजस्व छली गर्दै केबलबाट नै सेटलाइट केबलद्वारा सञ्चालन हुने कार्यक्रमहरु प्रसारण गरिरहेको उजुरी परेको थियो । तर छापा मार्दा एउटा मात्रै कार्यालयमा छापा मारिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा छापा हानिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।

उनले छापा मारीपश्चात् केही कागजातहरु नियन्त्रणमा लिएको बताए । उनले कागजपत्र जफत गरी छानबिन गरिरहेको बताए पनि कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी छापामारी भएको स्रोतको दाबी छ ।

क्लियर टिभीको सेट लाइट केबल प्रालिले लगाएको तारमा जिल्ला प्रशासन कार्यालय पर्साले बन्द गराएको हाम्रो टिभीको साथसाथै मेरो टिभीको समेत रिसिभर सञ्चालनमा आएको परीक्षणबाट प्रष्ट भएको छ ।

क्लियर टिभीको स्मार्टकार्ड नै प्रयोग गरी प्रसारण भइरहेको प्रष्ट भएको छ । रिचार्ज गर्न स्मार्टकार्डको पिन नम्बर आवश्यक पर्छ तर पिनविना नै रिचार्ज हुने गरेको ग्राहकहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले असार १९ गते बुधबारको दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवास्थित सञ्चालनमा रहेको हाम्रो टिभीमा छापामारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छापामारीमा गुन्डागर्दी शैलीमा कागजातहरु नियन्त्रणमा लिनुको साथै सिल समेत गरेको थियो ।

तर ठीक त्यस्तै सञ्चालनमा रहेको क्लियर टिभीको सेट लाइट केबल प्रालिमा छापामारी गरे पनि मोलतोलपश्चात् टोली फिर्ता भएको बताइएको छ । छापामारी भएको बेला केबल सञ्चालक र छापामारीमा संलग्न टोलीसँग केहीबेर भनाभन समेत भएको थियो ।

नेपालको नियम कानुन सबै जनताको लागि बराबर रहेको प्रचारप्रसार गरिए पनि पैसाको बलमा नियम कानुनलाई धज्जी उडाउँदै प्रशासन समेत मौन बस्नु विडम्बनाको विषय बनेको छ ।

यसअगाडि वीरगञ्जकै हाम्रो टिभीमा प्रशासनले छापा मार्दा कुनै पनि कल बाइपासका सामानहरु नभेटिएको, हालसम्म हाम्रो टिभीको कार्यालयमा प्रशासनले सिल लगाई कुनै पनि अनुसन्धान नगरेको र सोमबार मात्रै सूचना तथा प्रसारण विभागको टोलीले सो हाम्रो टिभीको सिल खोली अनुसन्धान गर्ने भनिएकोमा केही नगरी यतिकै फर्केका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!