नेपाली सेनामा असन्तुष्टि बढ्यो, सशस्त्रमा अवैध एआईजी

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली सेनामा नयाँ सेनापति नियुक्तिपछि नै नयाँ नियमका कारण नेपाली सेनामा अधिकृतहरुको ‘करिअर’ चौपट हुन थालेको गुनासो छ । बढुवा तथा तालिमसम्म प्रावधानहरु सेनापति परिवर्तन भएसँगै नेपाली सेनामा फेरिन थालेका छन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि नीतिगत रुपमा धेरै हेरफेर गरिसकेका छन् । उनले सुरुमा फाष्टट्रयाक बढुवा प्रणाली हटाए । गौरवशम्शेर राणा सेनापति हँुदा सेनामा यो नियम लागू गरिएको थियो ।

निश्चित पदमा वरिष्ठताभन्दा कार्यक्षमता हेरेर बढुवा गर्ने भन्दै पावरफूल अधिकृतहरुको फास्टट्रयाक शैलीमा बढुवा गर्न थालियो ।

जसकारण ठूलो संख्यामा सैनिक अधिकारीहरु बढुवा नभई रुँदै घर जानुपर्ने अवस्था आयो । कतिपय त अदालतसमेत पुगे । प्रधानसेनापति थापाले त्यो नियम हटाए । यसलाई धेरैले सकारात्मक रुपमा नै लिएका छन् ।

तर, थापाले लागू गर्न लागेको अर्को प्रावधानले भने सेनामा असन्तुष्टि देखिएको छ । स्टाफ कलेज गरेका मेजरहरुलाई गुल्मको इन्चार्ज नदिने नियम बनाएका छन् ।

स्टाफ कलेज पास गर्न नसकेकाहरुलाई नयाँ एउटा तालिम दिएर उनीहरुलाई मात्र गुल्मपति बनाउने नियम कार्यान्वायनमा अघि बढेको छ । यसले सेनामा क्षमतावान जनशक्तिमाथि अन्याय गरेको भनेर सेनापतिको आलोचना भएको छ ।

स्टाफ कोर्स नगरेका अधिकृतहरु मेजरबाट माथि बढुवा हुन पाउँदैनन् । स्टाफ कोर्स गर्न नसकेपनि कतिपय राम्रा अधिकृत हुने र उनीहरुले जागिर छोड्ने सम्भावना रोक्न भन्दै नयाँ प्रस्ताव अघि बढाइएको हो ।

जसअनुसार स्टाफ कोर्स गरेका र भविष्यमा माथि पुग्ने अधिकृतहरुको भने गुल्मपति हुने सम्भावना न्यून भएको छ । जसले सेनामा निराशा छाएको छ ।

सेनामा अधिकृत तहमा भर्ना भएकामध्ये करिब आधाले मात्र स्टाफ कलेज गर्न सक्छन् । वर्षमा करिब एक सय अधिकृत सेनामा भर्ना हुन्छन् । तर, स्टाफ कलेजको कोटा नै करिब ५०/६० जनाको मात्र रहेको छ । जसअनुसार ठूलो संख्यामा सैनिक अधिकारी मेजरबाटै अवकाश पाउँदछन् ।

सशस्त्रमा अवैध एआईजी
७५ हजारको फौज रहेको नेपाल प्रहरीमा गृह मन्त्रालयले तीन जना मात्र एआईजी राखेको छ । नेपाल प्रहरीमा तीन एआईजी पर्याप्त हुने गृहको निष्कर्ष छ । तर, त्यही गृह मन्त्रालयले ३६ हजारको फौज रहेको सशस्त्र प्रहरी बलमा समेत तीन जना एआईजी राखेको छ ।

सशस्त्रमा दुई जना मात्र एआईजीको दरबन्दी भएकोमा एक जनालाई अवैधरुपमा राखिएको छ । हाल सशस्त्रमा पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल एआईजी छन् । उनीहरुमध्ये पौडेल हुँदै नभएको दरबन्दीमा काम गरिरहेका छन् । हाल उनको सरुवा प्रशासन तथा मानव स्रोत साधन विभागमा भएको छ ।

नेपाल प्रहरीमा भने तीन एआईजी भएपछि दुई जनालाई मात्र काममा खटाइएको छ । एआईजी धिरु बस्न्यातलाई कारवाहीस्वरुप सुरक्षा परिषद्मा थन्क्याइएको छ । प्रहरी एकेडेमीमा हुँदा ठेकदारसँग पैसा मागेको अडियो प्रधानमन्त्री कार्यालयमा पुगेपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

जसकारण प्रहरी मुख्यालयमा एकै एआईजी चार विभाग हेर्नुपर्ने अवस्था छ । एआईजी ठूले राईले प्रशासन, मानवस्रोत, कार्य र अपराध अनुसन्धान विभाग चारै वटा विभाग हेर्दै आएका छन् । एक एआईजीहरुले सबै विभाग हेर्नु परेपछि मुख्यालय भद्रगोल बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

डिआईजी मनोज न्यौपानेलगायतले नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा हुने प्रयास गरे पनि सफल हुनसकेका छैनन् । लबिङ गर्दागर्दै उनीहरुको अवकाश मिति नजिकिएको छ ।

उता सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी थप्न प्रयास चलिरहेको छ । डिआईजी सुरज श्रेष्ठले यस्तो चलखेल गरेका हुन् । हाल एआईजी भएपछि आईजिपी हुने सम्भावना भएकाले उनले चलखेल गरेका हुन्, दृष्टिमा उल्लेख छ ।

तर, दरबन्दी थप नभए उनी पदावधिको कारण केही महिनापछि डिआईजीबाटै अवकाश पाउनेछन् । उनले अवकाश पाएको एक महिनापछि मात्र एआईजी नारायणबाबु थापाले अवकाश पाउने छन् ।

यदि एआईजी थापाले उनकै लागि एक महिनाअघि नै राजिनामा दिएमा मात्र उनको भाग्न खुल्नेछ । आईजिपीको पदावधि चारबाट तीन वर्षमा घटाएर श्रेष्ठलाई आईजिपी बनाउने खेल पनि सशस्त्र प्रहरीमा चलिरहेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!