महासंघमा उग्रबन्दै विबाद : सदस्यहरुको विरोधलाई बेवास्ता गर्दै अध्यक्ष राणाद्वारा विशेष साधारण सभाको मिति तय

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानलाई संशोधन गर्ने सम्बन्धमा भएको विरोधले उग्ररुप लिएको छ । केही साताअघि महासंघले डाकेको केन्द्रीय बैठकमा विधान संशोधन गर्नकै लागि विशेष साधारणसभाको मिति तय गर्न भनिएपछि सुरु भएको विवादले उग्र रुप लिएको हो । गत साताको बुधबार बसेको बैंकमा पूर्वअध्यक्ष पशुपति मुरारकाले अहिलेको समयमा विधानलाई संशोधन गर्नु/गराउनु उचित नहुने भन्दै सो प्रस्तावको विरुद्धमा बोलेपछि एकाएक बैठक हलमा विवाद भएको थियो ।

विधान संशोधनका संयोजक चण्डीराज ढकालले पूर्वअध्यक्ष मुरारकालाई धेरै नबोल्न निर्देशन दिएपछि विवादले उग्ररुप लिएको थियो । सो समयमा कुनै निर्णय नै नगरी सकिएको बैठक गत शुक्रबार ३१ गते बसेसँगै विरोधका बाबजुद पनि विशेष साधारणसभाको मिति अध्यक्ष भवानी राणाले तोकेकी छन् । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई रोक्ने गरी महासंघले विधान संशोधनका लागि यही कात्तिक २९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । ।

गोल्छा समूहले बैठकमा फरक मत राखे पनि सो मतलाई बेवास्ता गर्दै महासंघको शुक्रबार बसेको कार्यसमिति बैठकले विशेष साधारणसभाको मिति तोकेको हो । सो निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष मुरारका, कार्यकारिणी सदस्यद्वय रञ्जित आचार्य र कृष्ण दुलालले प्रस्ताव तयार नपारी विशेष साधारणसभा तोक्ने निर्णय विधानविपरीत रहेको भन्दै विरोध गरे पनि सो विरोधलाई बेवास्ता गरी अध्यक्ष राणाले मिति तय गरेको आरोप लागेको छ । 

विशेष साधारणसभामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान उल्ट्याउने प्रस्ताव संशोधनका लागि सभामा पेस गरिँदै छ । कार्यसमिति बैठकमा महासंघकी अध्यक्ष राणाले सुरुमा विशेष साधारणसभा तोक्ने प्रस्ताव राखेकी थिइन् । अघिल्लो कार्यसमिति बैठकमा गोल्छाप्रति नरम व्यवहार देखाएकी राणाले शुक्रबारको बैठकमा भने विशेष साधारणसभाको मितिमै बढी केन्द्रित भएर बैंठकलाई अगाडि बढाएको एक सदस्यले बताएका छन् । दुई साताअघिको बैठकमा अध्यक्ष राणाले विधानबमोजिम नै जानुपर्ने भन्दै विधान संशोधनका लागि पहिला प्रस्ताव तयार पारेर छलफलका लागि पठाएपछि मात्रै मिति तोक्ने विधानमा रहेको प्रक्रिया पूरा गर्नुपर्ने पक्षमा बोले पनि अहिले एकाएक सो भनाइलाई समेत बेवास्ता गरेर विरोधका स्वरलाई कुनै सुनुवाइ नगरी मिति तोक्ने कार्य भएको सदस्यको भनाइ रहेको छ । 

विशेष साधारणसभाको मिति तोक्ने पक्षमा उपाध्यक्षद्वय किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ थिए । बैठकमा एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालले कुनै धारणा नराखी बसेका थिए । अघिल्लो बैठकमा विशेष साधारणसभा तोक्ने उदेश्य पूरा नभएपछि विशिष्ठ सदस्य चण्डीराज ढकालले राणाको बाँकी कार्यकाल नै पूरा गर्न नदिने भन्दै धम्की दिएपछि एकाएक सो सभाको मिति तोकिएको दाबी स्रोतको रहेको छ । यसैबीच, कृषि उद्यम केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै कोषाध्यक्षबाट ज्ञानेन्द्रलाल प्रधानले महासंघको कोषाध्यक्षबाट राजीनामा दिएपछि सो पदमा निरक केसीलाई चयन गरिएको छ । अध्यक्ष राणाको अध्यक्षतामा ३१ गते शुक्रबार बसेको कार्यसमित समितिको १३औं बैठकबाट केसीलाई सो पदमा चयन गरेको जनाएको छ । 

केन्द्रमा भएको अनियमितताको सूचना बाहिर चुहाएको भन्दै आरोप लगाएपछि प्रधानले राजीनामा दिएका थिए। उनले छानबिनका लागि आग्रह गरेको भए पनि कुनै छानबिन नगरी केसीलाई सो पदमा नियुक्त गरिएको थियो । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि कुनै अनुसन्धान नै नगरी केन्द्रमा भएकोे भ्रष्टाचार मुद्दा सामसुम पारेर केसीलाई कोषाध्यक्षमा ल्याइएको आरोप एक पक्षको रहेको छ । महेशलाल प्रधानको पालामा केन्द्र स्थापना भएको थियो । 

केन्द्रमा सरकार र गैरसरकारी संस्थाले रकम विनियोजन गर्न थालेका छन् । केन्द्रको रकम वर्षेनी बढ्न थालेपछि यसको वास्तविक प्रयोग भन्दा दुरुपयोग बढी हुन थालेको छ । गैरसरकारी संस्था र सरकारले समेत बजेट उपलब्ध गराउने केन्द्रमा चरम अनियमितता भएको आरोप लागेको छ । एक गाउँ एक उत्पादन लगायतका कार्यक्रममा रकम खर्चिने भन्दा भ्रमण र भत्तामै बढी दुरुपयोग हुने गरेको पाइएको छ। स्रोतका अनुसार केन्द्रको ब्यालेन्स सीटनै दुई वटा बनाउने गरेको आरोप लागे पनि सो सम्बन्धमा भने कुनै छानबिन गरिएको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!