ताम्राकार हाउसभित्र ग्राहक अपमानित :वास्तविक मूल्यभन्दा अत्यधिक महंगोमा मोबाइल बिक्री

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बढ्दो सूचनाको प्रविधिसँगै जीवनयापन गर्ने तरिकामा समेत परिवर्तन भएसँगै अत्यधिकमात्रामा भएको मोबाइल सेटको मागको फाइदा उठाउँदै मोबाइल खरिदकर्ताहरु दैनिकजसो ठगिनपुगेका छन् । एकातर्फ ‘मोबाइल हब’को रुपमा विकसित गरिएको न्युरोडको पाकोस्थित ताम्राकार हाउसमा पछिल्लो समयमा अस्वस्थ प्रतिस्पर्धाकै कारण मोबाइल खरिद गर्न गएका उपभोक्ताहरु अपमानित समेत हुनुपरेका घटना बाहिरिएको छ ।

गत साता सो हाउसभित्र मोबाइल सेट खरिदकै लागि भनी गएका काठमाडौं नयाँ बानेश्वरका रमेश लामा ताम्राकार हाउसको गेटदेखि नै मोबाइल व्यवसायीहरुको घेरामा परी तानातान र आफ्नो पसलमा खरिद गर्न आउन दबाब दिएपछि आफू अपमानित भएको भन्दै बाहिरएको सो हाउसमै व्यवसाय गर्ने एक व्यवसायीले नाम नलेख्ने शर्तमा बताए । उनले भने, ‘सुरुका केही वर्ष यो कम्प्लेक्सभित्र मर्यादित व्यवसाय हुने गरेको थियो, ग्राहकहरु आफूखुसी कुनै पनि पसलमा जाने र जानकारी लिने गरेकोमा केही महिनादेखि यसभित्र अस्वस्थ प्रतिस्पर्धाकै कारण ग्राहकहरुलाई अपमान गरिँदै आएको छ, यो अवस्थामा सुधार नभए व्यवसाय विस्तारै बन्द हुने समेत देखिएको छ ।’ 

हाल विदेशमा उत्पादन भएका जुनसुकै ब्राण्डको पनि मोबाइल ताम्राकार हाउसभित्र पाउने भएकाले उपभोक्ताहरु आउने गरेको तर पछिल्लो समयमा व्यवसायीहरुकै कारण यस कम्प्लेक्सभित्रको व्यापारमा समेत गिरावट आएको व्यवसायीहरुको भनाइ रहेको छ । पाको, न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा हुने अवैध क्रियाकलापदेखि वास्तविक मूल्यभन्दा अत्यधिक मूल्यमा व्यवसायीहरुले मोबाइल सेट समेत बिक्री गर्दै आएको पाइएको छ । नेपाली बजारमा मोबाइलको बिक्रीमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएकाले एकातर्फ उपभोक्ताहरु अपमानित हुनुपरेको छ भने अर्कोतर्फ व्यवसायीहरुले आफ्नै लगानीलाई नोक्सानीमा पु-याउने काम हुँदै आएको केही व्यवसायीहरुको भनाइ रहेको छ । विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिनथालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको रहेको छ।

प्रतिस्पर्धा खुल्ला अर्थतन्त्रको एउटा पूर्वशर्त भए पनि त्यस्तो प्रतिस्पर्धाको नियत स्वच्छ हुनुपर्छ र त्यसको लाभ ग्राहक, बिक्रेता, उत्पादक र समग्र बजारले प्राप्त गर्नुपर्नेमा त्यसो नगरी एकै दिन कमाउने झैँ गरेर ग्राहकलाई समेत अपमानित हुने काम तत्काल रोक्न समेत सरोकारपक्षको माग रहेको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । अस्वाभाविक रुपले मूल्य घटाएर सुरुमा बजार प्रवेश गर्ने तर केही समयमै बजारबाट हराउने प्रवृत्तिले गर्दा बजारप्रतिको विश्वास नै हराउने खतरा रहेको व्यापारीहरु बताउँछन् । अनधिकृत रुपमा बजारमा भित्रिएका मोबाइल फोनहरुले बजार बिगारिरहेको अवस्थामा व्यवसायीबाटै अस्वस्थ प्रतिपस्र्धा गर्दैै आएको आरोप पनि व्यापारीकै रहेको छ ।

भन्सार तथा राजस्व छलेर मोबाइल आयात गर्ने र बजार भाउभन्दा धेरै महंगोमा मोबाइल बिक्री गरे पनि सरकारलाई बुझाउनुपर्ने कर भने बुझाएको पाइएको छैन । अस्वस्थ प्रतिस्पर्धाले बजारमा विकृति समेत ल्याउनेमा मोबाइल आयातकर्ता तथा बिक्रेताहरु दुवै सहमत रहे पनि अवैधरुपमा नेपाल भित्रिएका मोबाइल सेटहरुको आफूखुसी मूल्य राखी बिक्री समेत तिनै आयातकर्ता तथा बिक्रेताहरुबाट हुँदै आएको छ । यसरी बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाले बजारलाई नै बिगारेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दिपक मलहोत्राको ठहर रहेको छ । नक्कली तथा कमसल फोनहरु बिक्रीलाई मोबाइल बिक्रेता तथा खुद्रा व्यापारी मिलेर बिक्री हुँदै आएको छ । 

बोर्ड झुन्डाएकै भरमा रोयल्टी पाउने, पसल खोलेर ब्रान्डको आम्दानी हुने र उधारोमा आउने भएकाले मोबाइल बिक्रीभन्दा अन्य तरिकाबाट फाइदा कमाउने लोभले अस्वस्थ प्रतिस्पर्धालाई थप मलजल गरिरहेको व्यवसायीहरुको भनाइ छ । मोबाइल फोन बिक्रीलाई थप व्यवस्थित बनाउनका लागि बिक्रेताका लागि निर्देशिका वा आचारसंहिता बनाउन समेत केही व्यवसायीहरुले माग गरेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार संस्थानले भने सो बारे कुनै चासो देखाएको भेटिएको छैन । सो संस्थानबाट एउटा निश्चित मापदण्ड बनाएर बजारलाई व्यवस्थित गर्ने जनाए पनि सो कार्य अहिलेसम्म हुनसकेको छैन । हाल नेपालमा २ सय ५० वटा मोबाइल ब्रान्डहरु उपलब्ध छन् र त्यसलाई ग्राहकसम्म पु-याउन करिब तीन हजारभन्दा बढी बिक्रेताहरु रहेको अनुमान गरिएको छ । 

मोबाइलको माग नेपाली बजार आकाशिएको फाइदा उठाउँदै गैरकानुनी तवरबाट नेपालमा सामान भित्र्याउन समेत प्रतिस्पर्धा नै चलेको छ । यसको प्रमुख कारण चिनियाँ ब्रान्डको सहज उपलब्धता र सहुलियत मूल्य भएकै कारण सो देशमा उत्पादन भएका गुणस्तरहीन मोबाइल सेटहरु नेपाली बजारमा अत्यधिक मात्रामा पाउने गरेको छ । यसले ग्राहकलाई रोजीछाडीको अवस्था त सिर्जना गरेकै छ, साथै बजारमा चिनियाँ ब्रान्डबीच नै प्रतिस्पर्धाको माहोल बन्दै गएको छ । सामसुङ नेपाली बजारका साथै अन्तर्राष्ट्रिय मोबाइल बजारमा अत्यधिक बिक्री हुने माग हुने सेटमा पर्ने गरेको छ । तर पछिल्लो समयमा सो कम्पनीको सेट हुबहु उत्पादन गरी नेपाल भित्र्याएर महंगोमा बिक्री गरिँदै आएको पाइएको छ । 

संख्यात्मक रूपमा हेर्ने हो भने त नेपालको मोबाइल बजारमा चाइनिज ब्रान्डकै सेट अत्यधिक मात्रामा बिक्री हुँदै आएको छ । नेपालमा ५० जति ब्रान्डले स्मार्टफोन बिक्री गरिरहेका छन् । जसमध्ये एकदर्जन चिनियाँ ब्रान्ड नै राखेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेन, सिंगापुरलगायत ६१ देशबाट मोबाइल आयात हुने गरेका छन् । नेपालमा आयात भएका ४९ लाख ९० हजार मोबाइल सेटमध्ये ९० प्रतिशत हिस्सा चीनको रहेको छ । मूल्यका आधारमा चीनबाट आउने मोबाइलले ७६ प्रतिशत ओगटेको अनुमान गरिएको छ । चीनबाट मात्र १३ अर्ब ९२ करोडको मोबाइल गत आवमा भित्रिएको तथ्यांक केन्द्रले राखेको छ । 

अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट मोबाइल सेटको आयातमा दिँदै आएको ४० प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) सुविधा हटाएर मोबाइल सेटमा थप पाँच प्रतिशत अन्तःशुल्क लगाउने निर्णय गरेसँगै अवैधरुपमा नेपालमा सेट ल्याउने कार्यमा तीव्रता पाएको हो । ग्रे मार्केटबाट आयात भएका मोबाइल तराईको सीमावर्ती बजारमा मात्रै होइन काठमाडौं र पहाडी भेगमा समेत पाइन थालेको छ। 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!