सुदूरपश्चिम प्रदेशका अस्पतालहरू डाक्टरविहीन

- August 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुन थालेका छन्। नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न थालेको छ। यहाँबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ। अन्यत्रबाट भने एक जना मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए। ‘रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल खाली हुने भएकाले हामीले रमाना दिएका छैनौं’, उनले भने, ‘तर, २१ दिनभित्र रवाना दिनै पर्ने प्रावधान छ।’ उनका अनुसार संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा समायोजन भएकाले अस्पताल डाक्टरविहीन भइरहेको विषयमा पत्र पठाइएको छ।

सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन्। ११ औं तहका डाक्टर पाण्डेय, १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीबाहेकका डाक्टरको सरुवा भइसकेको छ। प्रशासनका अनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ ११ औं तहका अशोक श्रीपाइली, फिजिसियन तथा १० औं तहका शेरबहादुर कमर, नवौं तहका दिनेश शिवाकोटी, नवौं तहकै होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको पदस्थापन भेरी अस्पतालमा भएको छ। १० औं तहका कपिल गौतमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रमोद जोशीको पदस्थापन कान्ति बाल अस्पताल काठमाडौंमा भएको छ।

महाकाली अञ्चल अस्पतालमा भने तीन विशेषज्ञ डाक्टर कार्यरत रहेकामा दुई जनाको प्रदेशबाहिर पदस्थापन भएको छ। नवौं तहका शम्भुदक्त जोशीबाहेक नवौं तहकैं हरिकुमार श्रेष्ठ पुल दरबन्दी र १० औं तहका श्रीकृष्ण भट्टको पदस्थापन कान्ति बाल अस्पतालमा भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। हरिकुमार श्रेष्ठले अन्तबाट डाक्टर नआउने हो र भएका पनि जाने हो भने अस्पतालको सेवा प्रभावित हुने बताए।

संघीय सरकारमातहत रहेको डडेलधुरा अस्पतालमा भने सबै दरबन्दी रिक्त छन्। मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी मेडिकल अधिकृतले पाएका छन्। नवौं तहका डाक्टर शोभित थापाको पदस्थापन भए पनि उनी ‘असाधारण’ बिदामा बसेका छन। मेडिकल सुपरिन्टेन्डेन्ट डा। जितेन्द्र कँडेलले आठौं तहका डाक्टरको पनि पदस्थापन भएपछि सेवा सञ्चालन गर्न मुस्किल हुने बताए।

मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि विशेषज्ञ डाक्टरको दरबन्दी छ। टीकापुरमा कार्यरत १० औं तहका डाक्टर नरेन्द्र खनालको पदस्थापन स्वास्थ्य सेवा विभागमा भएको छ। मालाखेतीका नवौं तहका डाक्टर शिवराज पनेरूले पनि संघीय सरकारै रोजेका छन्। डडेलधुरा अस्पतालबाहेक अन्य अस्पताल र स्वास्थ्य चौकी प्रदेश तथा स्थानीय सरकारमातहत छन्।

बैतडीमा शल्यक्रिया ठप्प

बैतडी जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्ट खेमराज भट्टको समायोजन डडेलधुराको जोगबुढामा भएको छ। त्यससँगै जटिल खालको प्रसूति सेवा ९शल्यक्रिया० सेवा बन्द हुने भएको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले एनेस्थेसिया असिस्टेन्ट भट्टको सरुवापत्र आएको बताए। ‘रमाना नदिऊँ भने अप्रेसन बन्दै हुन्छ। नदिऊँ भने २१ दिनभित्र दिनै पर्ने प्रावधान छ’, उनले भने। डा। विष्टको समायोजन पनि संघमा भएको छ। उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। ‘करारका दुई डाक्टरको पनि करार अवधि सकिँदै छ’, उनले भने।

स्टाफ नर्सको स्थायी दरबन्दी पनि एक वर्षदेखि खाली छ। ‘तीन जनाको दरबन्दी भए पनि एक पनि कार्यरत छैन’, उनले भने, ‘करारमा राखेर काम चलाएका छौं।’ बैतडीमा जटिलतायुक्त प्रसूति सेवा लिन दार्चुला तथा बैतडीका सेवाग्राही आउने गरेका छन्।

बैतडीको तल्लो सोराड क्षेत्रमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर मेलौलीमा पनि डाक्टर छैनन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा। जीवन क्षेत्री फागुनदेखि बिदामा छन्। उनको संघमा समायोजन भएको हेल्थ असिस्टेन्ट मुकेशकान्त दयालले बताए। १६ वर्षपछि डाक्टर आएपछि खुसी भए पनि अहिले समायोजन भएर जान थालेपछि निराशा छाएको स्थानीय केशवसिंह भाटले बताए। अन्नपूर्णबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!