अभिभावक हुनु बोझ होइन, अवसर

20

आचार्य लक्ष्मण भण्डारी, हामीले यसअघि अभिभावकका मूल्य, आदर्श, दायित्व र संवेदनशीलताका सम्बन्धमा चर्चा ग¥यौँ । अब विभिन्न व्यक्ति अभिभावकका सन्दर्भमा के भन्छन्, ती विषयमा चिन्तन गरौँ । पूर्वीय परम्परामा आमा र बुबालाई देवतासमान मानिएको छ ।

मातृ देवो भवः, पितृ देवो भवः । किन देवता मानिएका होलान्, बाबुआमा भन्ने कुरा त हामीलाई अवश्य थाहा छ । देवता त्यो हो जसले कुनै आशा, अपेक्षा र सर्त नराखी परोपकार र कल्याणको काम गर्छ । देवताको काम जहिले पनि अर्काकै लागि बाँच्ने हुन्छ, अर्काकै लागि बाँच्ने, हाँस्ने र हँसाउने हुन्छ ।

अभिभावक पनि आफ्ना बाबुनानीका लागि बाँच्दछन्, सोच्दछन्, बालबालिकाको हित, भलाइ र कल्याणभन्दा अर्को उनीहरुको कुनै स्वार्थ हुँदैन । सूर्यलाई हामीले देवता मान्छौँ । सूर्य देवताले कहिल्यै पनि आफ्नो प्रकाश, उज्यालो र न्यानोको पैसा माग्दैनन् । सबैलाई निःशुल्क उपलब्ध गराउँछन् । पैसा तिर्न पथ्र्यो भने कति पथ्र्यो होला ? मानिसले कत्ति पनि पैसा नतिरी सूर्यबाट सबैथोक पाउँछ । त्यसैले, सूर्य देवता भयो र उसको पूजा गरियो ।

धरतीको माटो पनि निःशुल्क पाइन्छ । भन्नुहोला, ‘पैसा तिर्न पर्छ । मानिसले जग्गाधनी प्रमाणपुर्जा लिएर बसेको हुन्छ । कहाँ निःशुल्क पाउनु ?’ धरती आफैँले मेरो पैसा पर्छ भनेको त कहाँ छ र ? मानिसले आफैँले धरतीलाई मेरो र तेरो भनेर खरिदबिक्री गरेको न हो । आकासको बादल पनि पैसा लिएर बर्संदैन, न त हावा नै पैसा लिएर यताउता बहन्छ ।

हावालाई पनि हामी वायु देवता भनेर पूजा गर्दछौँ । माटोलाई पनि धरती माता भनेर पूजा गर्दछौँ । यी सबै देवीदेवताका रुप हुन्, कारण यी सबैका लागि हुन्, निसर्त र निःशुल्क उपलब्ध हुन्छन् र सबैको कल्याणमात्रै गर्दछन् ।

आमाबाबु पनि त्यसैले देवता मानिएका हुन्, कारण यिनको जीवन पनि त्यागपूर्ण हुन्छ । यही त्याग गरेका भएर नै देवता मानिएको हो, सन्तानका लागि त्याग गर्न छोड्नासाथ उनीहरु देवता हुन छोड्छन् । सन्तानसित अभिभावकले यदि सर्त, आशा र अपेक्षा राखे भने ती कहिल्यै सुखी हुँदैनन्, किनकि कहिलेकाहीँ सन्तानले अभिभावकले सोचेजस्तो, आशा र चाहना गरेजस्तै काम नगर्न पनि सक्छन् । त्यतिबेला चौपट्टै पीडाको अनुभूति गर्नुपर्ने हुन्छ ।

जन्म दिएरमात्रै हुँदैन, जुन बाबुआमाको प्रत्यक्ष सहभागितामा जीवनमा सद्गुणहरुलाई अभ्यास गर्ने अवसर पाउँदछ, त्यस्तो बालक नै असल नागरिक हुने हैसियत राख्दछ । बाबुआमाले जन्माए भन्दैमा बालक पण्डित हुन सक्दैन, विद्वान् हुन सक्दैन । पण्डित बन्नका लागि बाबुआमाको असल संस्कार पाएको हुनुपर्दछ ।

मातृपितृकृताभ्यासो गुणीतामेति बालकः ।

नगर्भच्युतिमात्रेण पुत्रो भवति पण्डितः ।।

बाबुआमाको कर्तव्य भनेकै सन्तानलाई सुसंस्कृत बनाउनु हो, पढाउनु हो, लेखाउनु हो । जुन बाबुआमाले छोराछोरीलाई लेखपढ गराएनन्, सदाचार सिकाएनन्, तीमध्ये माता वैरी हुन् भने पिता शत्रुबराबर हुन्छन् । जसरी हाँसहरुका बीचमा बकुल्लो सुहाउँदैन, विद्वान्हरुको सभामा पनि अपठित सन्तान सुहाउँदैन ।

माता शत्रुः पिता वैरी येन बालो नपाठितः । नशोभते सभामध्ये हंसमध्ये वको यथाः ।। छोराछोरीलाई पढाउनुको अर्थ बाबुआमाले सदाचारी बनाउनु हो । आज यति धेरै पढेका छोराछोरी छन्, तर पनि अपठितजस्तै छन् ।

जीवन के हो ? हाम्रो कर्तव्य के हो ? मनुष्य जीवनको गौरव र गरिमा के हो ? के हो, सामाजिक उत्तरदायित्व ? परिश्रम के हो ? यस्ता प्रश्नहरुप्रति हाम्रा छोराछोरी बेखबर छन्, पढेर पनि नपढेजस्तै छन् । यस्तो प्रकारको पढालेखाइको खासै अर्थ हुँदैन ।

कसैले एउटी छोरीलाई सोधेछ— ‘तिम्रो संसार कहाँबाट सुरू हुन्छ र कहाँ गएर सकिन्छ ?’ जवाफमा उसले यसो भनिछ— ‘आमाको काखबाट सुरू भएर बाबाका शरणबाट गुज्रँदै पतिका खुसीका गल्लीहरु हुँदै छोराछोरीका सपनाहरु पूरा गर्दै सकिन्छ ।’ अर्थात्, आमाबाट सुरू हुन्छ र आमा भएर सकिन्छ । आमाको बनेर कर्तव्य निर्वाह गर्नु, सन्तानलाई परिपक्व र योग्य बनाउनु, आदर्श व्यक्तिमा रुपान्तरण गर्नु नै एउटी चेलीको कर्तव्य रहेछ ।

‘अभिभावकको प्रेम भनेको एकमात्र त्यस्तो प्रेम हो, जुन साँच्चै नै निःस्वार्थ, निसर्त र क्षमापूर्ण हुन्छ’— टिपी चाइना भन्ने विद्वान्को यस्तो विचार रहेको छ । उनको भनाइमा अभिभावकको प्रेमलाई अन्य कुनै पनि प्रेमसित तुलना गर्न सकिँदैन । अन्य प्रेमहरु स्वार्थमा आधारित हुन्छन्, आशा र अपेक्षामा आधारित हुन्छन् ।

तर, हाम्रा अभिभावकले हामीलाई त्यसरी गहिरो अपेक्षा र आशा राखेर कहिल्यै स्नेह गर्दैनन् । बालबालिकाले यदाकदा गर्ने गल्तीहरुका कारण रिसाएर कहिल्यै पनि अभिभावकले प्रतिशोधको भावना राख्नुहुँदैन । अभिभावक जत्तिको क्षमाशील अर्को कोही हुन सक्दैन ।

हामी अभिभावकले कहिल्यै पनि आफ्ना छोराछोरीले मेरो लागि यसो गरुन्, उसो गरुन् भनेर आशा गर्नुहुँदैन । छोराछोरीले जति गरे पनि अभिभावकको चित्त बुझ्दैन । जसरी छोराछोरी जति ठूला भए पनि अभिभावकका लागि ती सानै हुन्छन्, त्यसैगरी तिनले जति नै ठूलो सेवा, स्याहार र सम्मान गरे पनि अभिभावकलाई थोरै नै हुन्छ ।

यो सत्य पनि हो, किनकि संसारमा अभिभावक हुनुभन्दा ठूलो कुनै तपस्या हुँदैन । छोराछोरीले हाम्रो यस्तो ठूलो तपस्यालाई नजरअन्दाज पनि गरिदिन सक्छन् । उनीहरुले त्यसलाई सजिलै महसुस गर्न सक्दैनन्, किनकि त्यस्तो तपस्याबारे तिनलाई केही पनि थाहा हुँदैन ।

हेनरी वार्ड विचरले भनेका छन्— ‘हामी आफैँ अभिभावक नहुँदासम्म अभिभावकको माया थाहा पाउन सक्दैनौँ ।’ बालबालिका हुर्काउन, तिनले दिने दुःख र सास्ती खप्न र बारम्बारको तिनको चकचक झेल्न कति गाह्रो हुन्छ भन्ने कुरा तिनले आफैँ अभिभावक भएपछिमात्रै महसुस गर्दछन् ।

हामी कहिलेकाहीँ छोराछोरीलाई सम्झाउँछौँ, तिनलाई हुर्काउन, बढाउन, पढाउन र प्रसन्न बनाउन भोगेका दसहन्डर सुनाउँदै गम्भीर हुन आग्रह गर्दछौँ, तर पनि अत्यन्त थोरै केटाकेटीले मात्रै कुरा बुझेर व्यवहार बदल्छन्, धेरैले भने अभिभावक बनेपछिमात्रै बाबुआमाका ती दुःख महसुस गर्दछन्, किनकि मानिस पढेरभन्दा परेर धेरै जान्ने र बुझ्ने हुन्छ ।

‘जतिबेला तिमीले तिम्री आमाको आँखामा हेर्दछौ, त्यतिबेला तिमीले संसारकै सबैभन्दा पवित्र प्रेम प्राप्त गर्न सक्दछौ’— मिच एलबमका अनुसार आमाको आँखा केवल आँखा नभएर प्रेम र स्नेहको सागर हो । सानो आँखाभित्र अपार स्नेह—सिन्धु भरिएको हुन्छ । यसैलाई मातृत्व भनेर भनिन्छ ।

बाबु नहुँदा छोराछोरीलाई जति दुःख, अप्ठ्यारो र असुविधा हुन्छ, त्योभन्दा कयौँ गुना अप्ठ्यारो आमा नहुँदा हुन्छ । आमासित हुँदा बालबालिका उनको स्नेह–सिन्धुमा पौडन, गोता लगाउन पाएर धन्य भएका हुन्छन् । एकछिन यताउता गए पनि घरमा आउँदा एकछिन आमालाई नदेख्दा केटाकेटी विचलित हुन्छन् । त्यसैले, आफ्नो महत्ता बुझेर आफूभित्र आफ्ना सन्तानप्रति त्यो महान् स्नेहको सिन्धु तयार पार्नु हरेक आमाहरुको दायित्व हुन जान्छ ।

आजका मानिस स्वार्थी भएका छन् । सन्तान सकेसम्म नजन्माउने प्रवृत्ति बढ्दो छ । सौन्दर्यका नाममा स्तनपान गराउन अप्ठ्यारो मान्ने मनोवृत्ति आमाहरुमा हुर्कंदै गएको छ । बालबच्चा पाल्ने जिम्मा के मेरोमात्रै हो ? अथवा ‘आमा’ भएको नाममा मैलेमात्रै छोराछोरी भनेर बसेर हुन्छ ? के मेरो करियर छैन ? के मेरो निजी जीवन हुँदैन ? के मलाई पनि निर्धक्क र स्वतन्त्र भएर घुमफिर हुने अधिकार छैन ?

यस्ता प्रश्नहरु आज चर्को गरी उठेका छन् र यिनकै वरपर आमा अर्थात् मम्मीहरुको जीवनशैली विकसित हुँदोछ । यहीँनेर आमाहरुले निकोलस पार्कको विचारलाई स्मरण गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘अभिभावक हुनु भनेको के होला ?

यो तिमीले गर्ने सबैभन्दा अप्ठ्यारो काम हो, तर बदलामा तिमीलाई यसले निसर्त प्रेमको अर्थ सिकाउँछ ।’ बालबालिका हुर्काउन, तिनलाई लालनपालन गर्न व्यहोर्नुपर्ने दुःख सम्झँदा साँच्चै नै गाह्रो हुन्छ र त्यस्तै जीवन बाँच्न झन् गाह्रो हुन्छ, तर बालबालिकालाई हेरेर चित्त बुझाउन सकिन्छ, किनकि हामीलाई पनि हाम्रा बाबुआमाले त्यसरी नै हुर्काएका थिए ।

‘मेरा अभिभावक मेरा मेरूदण्ड हुन् र छन् । अभिभावकको समूह मात्र यस्तो समूह हो, जसले तिमीले शून्य अङ्क पाउँदा पनि सहयोग गर्दछ र चालीस पाउँदा पनि’— कप ब्रियान्टले यसरी अभिभावकको महिमा गान गरेका छन् । बालबालिकाका हरेक प्रयासमा हौसला दिने सबैभन्दा महान् पात्रहरु भनेका नै बाबुआमा हुन् ।

हाम्रो असफलतामा अधिकांश मानिस हाँस्छन्, ठूलो संसार हाँस्छ, तर हाम्रा बाबुआमा चिन्तित हुन्छन् र हामीलाई अझ राम्रो गर्न प्रोत्साहन दिन्छन् ।

हाम्रा हर अप्ठ्याराहरुलाई सजिलो बनाउन पाएका दुःख यदि तिनले हामीलाई सुनाउने हो भने बल्ल हामी दङ्ग पर्ने थियौँ, तिनले त त्यो सास्तीको ५–१० प्रतिशतभन्दा धेरै कहिल्यै भन्दैनन्, बरू छोराछोरीले मैले गरेको दुःख थाहा नपाए हुन्थ्यो भनेर मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका हुन्छन् । हामी अभिभावक पनि हाम्रा सन्तानका लागि यसरी नै मुटुमाथि ढुङ्गा राखेर भए पनि हाँस्न सक्नुपर्दछ ।

एउटा बच्चाले कहिल्यै पनि मेरा बाबुआमा मदेखि टाढा छन्, मलाई चाहिएको बेलामा सहयोग गर्न सक्दैनन् भन्ने महसुस गर्नुहुँदैन । तिनले बाबुआमालाई आफूसितै भएको महसुस गर्नुपर्दछ । यदाकदा भौतिकरुपले टाढा नै भए पनि नजिक भएको महसुस गर्नुपर्दछ । तिनले पनि ब्राड मेल्टजरले भनेजस्तै ‘थाहा छैन, हामी कति टाढा आइपुगेका छौँ, तर हाम्रा बाबाआमा हामीभित्रै छन्’ भनेर भन्न सकू्रन् ।

‘बाबाको सद्गुण पहाडभन्दा अग्लो हुन्छ भने आमाको सद्गुण समुद्रभन्दा गहिरो’— जापानी भनाइ हो । बाबुआमा सन्तानका लागि यति महान् हुन्छन् र तिनको भूमिका यति विशाल हुन्छ । आमा र बाबाको स्नेहमा पालितपोषित सन्तानले कहिल्यै पनि अभावको महसुस गर्दैन । उसका लागि समुद्रको गहिराइ र हिमाल, पहाडको उचाइभन्दा पनि विशिष्ट बाबाआमाको सान्निध्य हुन्छ ।

तर ‘तपाईंका केटाकेटी तपाईंको उपस्थिति चाहन्छन्, उपहार होइन’—जेस ज्याक्सनले भनेको यो भनाइलाई हामीले कहिल्यै बिर्सन हुँदैन । पैसा, उपहार दिएर बालबालिकालाई केही समयका लागि उल्लु बनाउन सकिएला, फकाउन सकिएला तर सधैँ फकाउन कदाचित् सकिँदैन ।

बालबालिकालाई चाहे पैसा भएर होस् वा नभएर होस्, चाहे उपहार भएर होस्, चाहे नभएर होस्, वश् बाबुआमा नजिकमा उभिदिए हुन्थ्यो भन्ने ठूलो चाहना हुन्छ । त्यस्तो उपस्थिति जस्तो प्रकारको भए पनि होस्, तर बच्चाले फिल गर्नुपर्‍यो । ऊ म एक्लै छु् अथवा बाबाआमा मेरो पहुँचभन्दा पर हुनुहुन्छ भन्ने नपरोस् ।

हाम्रो दायित्व भनेको नै हाम्रा बाबुनानीलाई भोलिका लागि तयार पार्नु हो । यसका लागि उनीहरुको तयारी आजैदेखि हुन जरूरी छ । उनीहरु आज तयार हुन हामी उनका अगाडि सहयोगका लागि तयार भएर देखा पर्नुपर्दछ । तपाईंको जति गहिरो उपस्थिति, त्यति नै ती बलिया !

फ्रेङ्कलिन रूजवेल्ट भन्दछन्, ‘हामी हाम्रा बाबुनानीको भविष्य तयार पार्न त नसकौँला, तर उनीहरुलाई कम्तीमा भविष्यका लागि तयार गर्न भने अवश्य सक्छौँ ।’

हाम्रो दायित्वको मूल यहीँनेर आएर फुट्छ । हाम्रो दायित्व भनेको नै हाम्रा बाबुनानीलाई भोलिका लागि तयार पार्नु हो । यसका लागि उनीहरुको तयारी आजैदेखि हुन जरूरी छ । उनीहरु आज तयार हुन हामी उनका अगाडि सहयोगका लागि तयार भएर देखा पर्नुपर्दछ । तपाईंको जति गहिरो उपस्थिति, त्यति नै ती बलिया !

आउनुस्, अभिभावकीय दायित्व निर्वाहमा कतै नचुक्ने गरी काम गरौँ । बालबच्चालाई हामी उनीहरुदेखि टाढा छौँ र तिनको पहुँचभन्दा पर छौँ भन्ने कहिल्यै नहोस् भनेर सतर्क बनौँ ।

अभिभावक हुनु बोझ होइन, अवसर हो । भाग्यमानी मान्छेमात्रै बालबालिकाको सेवा, सहयोग र सम्मानमा जुट्ने गर्दछन् । जसले बोझ ठान्छ, ऊ असल अभिभावक बन्न सक्दैन । रमाइलोमा बच्चा जन्माउने र झाडी–कान्लातिर मिल्क्याएर भाग्ने क्रूरतम अभिभावकको सङ्ख्या पनि हिजोभन्दा आज बढ्दै छ ।

हाम्रा छोराछोरी जति हामीले सोचेका छौँ, त्यति खराब छैनन् । हामी र तिनको उमेर कम्तीमा पनि २० वर्षको ग्याप त पक्कै छ । हाम्रो जीवनशैली उनीहरुको जस्तो हुन सक्दैन भने तिनको जीवनशैली पनि हाम्रोजस्तो हुनुपर्ने भन्ने के छ ? पहिलो त, पर्याप्त दूरी छ, बाबु पुस्ता र छोरोपुस्ताका बीचमा ।

यी चकचक छन् भने हामी पनि चलमलाउन पाएका छौँ, यिनले चर्को स्वरमा बोलेको बोल्यै गरेर कुरा गर्दा हामी पनि थप एक्टिभ भएर बोल्न पाएका छौँ । यिनकै कारण यताउता गर्ने, गतिशील हुने मौका पाइएको छ । यी आफू पनि चलायमान छन् र मलाई पनि चलायमान बनाएका छन् भनेर खुसी हुनुपर्दछ । त्यसैले, बालबालिका बोझ नभएर हाम्रा लागि दिव्य अवसरहरु हुन् ।

हाम्रा नीतिमा अभिभावकको महिमा गान जसरी गरिएको छ अथवा प्रसिद्ध चिन्तक, विचारकहरुले जसरी अभिभावकका सन्दर्भमा आफ्ना भावना र विचार पोखेका छन्, त्यसरी नै हामी तिनका ती महान् विचारहरुलाई आत्मसात् गर्दै र जीवनमा गहिराइका साथ लागू गर्दै एउटा असल र आदर्श अभिभावक बन्नतिर लागौँ । आफू पनि रमाऔँ र बच्चालाई पनि रमाउने बनाऔँ । चितवन पोष्टका साथमा । 

Facebook Comments

LEAVE A REPLY