आधुनिकीकरण परियोजनाअन्तर्गत मकै खेती प्रभावकारी बन्दै;

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालगञ्ज : बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । 

हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिनुभयो ।

तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिँदै आएको छ । 

“पहिले गरिँदै आएको मकैखेती र अहिले परियोजनाले गरेकोमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत जिल्लाका कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषक समूह छनोट गरिएको छ ।

“बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा  बाँकेलाई मकै जोनका रुपमा छनोट गरिएको हो”, रानाले भन्नुभयो ।

बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत गत आवसम्म कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग गरिँदै आएकामा चालू आवदेखि सबै विषयमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । परियोजनाका प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आएका छन् ।

गत वर्षको अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीस्थित मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत सामग्री उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!