चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– पदमबहादुर अधिकारी
सङ्खुवासभा, ३० साउन (रासस) ः चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।

चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । विगत दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् ।

चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ । त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ ।

पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढ्पछि यसको व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि किसानहरु चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर  रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो । विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् ।

चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरु उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरुले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् ।  चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ । दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाए छ । तर अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महत्व घट्दै गएको भन्दै कृषकहरु चिन्तित भएका छन् ।

कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारीले यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागिपरेका छन् ।  चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा रु १५ लाखको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ । विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महीना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्केले जानकारी दिनुभयो ।

विषादी प्रयोग गरी उत्पादन भएका रुद्राक्ष बिक्री हुन समस्या भएको समेत उहाँले बताउनु्भयो । गत वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यस वर्ष राम्रा रुद्राक्ष फल्न छाडेको उहाँको भनाइ छ ।  विषादी र क्लिप प्रयोग भएका रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरीद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मै धमिल्याउन चिनियाँ व्यापारी लागिपरेको सङ्घका अध्यक्ष बिसुन्केले बताउनुभयो । विषादी प्रयोग गरेर गुणस्तरीय दाना उत्पादन गर्न अहिले भोजपुर, सङ्खुवासभासभा र धनकुटामा यसको लहर चलेको छ ।

कृत्रिम उत्पादनले चिनियाँ र भारतीय व्यापारीलाई समेत रुद्राक्ष निर्यातमा समस्या हुन थालेको व्यवसायीको गुनासो छ । रुद्राक्षले कृषकका वर्षौँसम्म आम्दानी दिनसक्ने बोटसमेत बिग्रिएको उनीहरुको भनाइ छ ।  बिगारिएको रुद्राक्ष अहिले झुक्याएर चीन र भारत बिक्री भए पनि त्यो लामो समय कायम हुन नसक्ने बताए । विषादी प्रयोग गरेर आवश्यकताअनुसार जति पनि रुद्राक्ष उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा रुद्राक्ष व्यवसाय बन्द हुनसक्ने अवस्था आएको छ ।

विगतमा इण्डोनेशियामा यसरी नै विषादी प्रयोग गरेर कृत्रिम बनाइएको रुद्राक्ष बहुमूल्य रह्यो । तर अर्को पटक गुणस्तरीय रुद्राक्ष उत्पादन नहुँदा व्यवसाय नै बन्द भएको व्यापारीहरु बताउँछन् ।

रुद्राक्षको उत्पत्ति
रुद्रःआक्ष मिलेर बनेको रुद्राक्ष शब्दसँग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।

रुद्राक्ष भगवान् शिवसंग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ ।

विज्ञानका दृष्टिमा रुद्राक्ष

रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययन समेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ ।

वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पांचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ ।

प्राचीन ग्रन्थहरुमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवं घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरुको पुष्टि भएको पाइन्छ ।

विद्युतीय शक्ति
अध्ययनहरुबाट यसमा विद्युत् चुम्बकीय, अर्धचुम्बकीय तथा औषधीय गुण भएको कुरा पुष्टि भएको छ । वैज्ञानिकहरुका अनुसार यसको औषधीय क्षमता विद्युत् चुम्बकीय प्रभावबाट पैदा हुन्छ । रुद्राक्षको विद्युत् चुम्बकीय क्षेत्र एवं तेज गतिको कम्पन आवृत्ति स्पन्दन देखेर वैज्ञानिक समेत आश्चर्यचकित भए ।


यसकारण घनत्व बढी

वैज्ञानिकहरुबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्नीजÞ, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तत्व पाइए । यी तत्वको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ ।

पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाकोसिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवं फंगस प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आकलनसमेत गरेका छन् । चीनमा गरिएको अध्ययनअनुसार रुद्राक्ष यिन—यांग ऊर्जाकाबचि सन्तुलन कायम राख्न सहयोगी हुन्छ ।
नगर कार्यसमिति चयन
यसैबीच, रुद्राक्ष कृषक र व्यापारीहरुको एक भेलाले १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ ।

समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, उपाध्यक्ष मिलन राई, महासचिवमा महेश तामाङ, सचिव सुवास श्रेष्ठ र कोषाध्यक्षमा बिन्दा शर्मा भण्डारी चयन हुनुभएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!