अस्पतालका कर्मचारी मदिरा सेवन गरी लठ्ठ

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगंज : नारायणी अस्पताल प्रशासन फाँटका कर्मचारी मदिरा सेवन गरी अस्पतालमा बस्ने गरेको खुलासा भएको छ ।

अस्पतालको प्रसूतिगृह भवनस्थित पुर्जी काउन्टरमा आइतवार राति ड्युटीमा रहेका शिवधनी यादव रक्सी सेवन गरी रातभर काउन्टर बन्द गरी सुतेको भेटिएको छ ।

काउन्टर नै नखोलेपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । राति १० बजेतिर एकजना महिला सेवाग्रही पुर्जी लिन काउन्टरमा जाँदा ड्युटीमैं रक्सी सेवन गरेका यादवले काउन्टरको ढोका र झ्याल बन्द गरेर सुतेको भेटिएको थियो ।

राति साढे १ बजे फेरि अर्का सेवाग्रही टिकट काउन्टरमा जाँदा पनि काउन्टर बन्द भेटिएपछि अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाहरूले अस्पतालस्थित नेपाल प्रहरीको बिटमा खबर गरेका थिए ।

प्रहरी बिटका प्रहरी सहायक निरीक्षक जयकिसुन महतोले अस्पतालका कर्मचारीहरूको सहयोगमा काउन्टरको ढोका फुटाएर भित्र प्रवेश गर्दा पनि यादव रक्सीको नशामा बेहोश भई कुर्सीमा सुतेको अवस्थामा भेटिएका थिए । ड्युटीमै रक्सीसेवन गरी सुतेको अवस्थामा भेटिएका यादवलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, बिर्ता पठाइएको प्रहरी सहायक निरीक्षक महतोले जानकारी दिएका छन् ।

यादवको लापरवाहीका कारण रातभर बन्द रहेको अस्पतालको पुर्जी काउन्टर बिहान साढे ७ बजेदेखि मात्र सञ्चालनमा आएको प्रहरी सहायक निरीक्षक महतोले जानकारी दिएका छन् ।

नारायणी अस्पतालका निमित्ति मेसु डाक्टर सुरेन्द्र चौधरीले ड्युटीमैं मदिरा सेवन गरेको अवस्थामा भेटिएका यादव प्रहरी हिरासतमा रहेको र उनीविरुद्ध अस्पताल प्रशासनले विभागीय कारबाई गर्ने बताए ।

अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्याय अहिले काजमा मन्त्रालय गएकाले उनी फर्केपछि यादवलाई निलम्बन गरि कारबाई गरिने निमित्त मेसु चौधरीले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!