स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो, घन्टामा १५ सयवटा छाप्ने

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको हो ।

भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा लिएको छ । यो मेसिनलाई सिस्टमसँग जोड्न नै एक महिना बढी लाग्ने अनुमान छ ।

मेसिन आए पनि यसमा छपाइको काम सुरु गरिहाल्न सकिने अवस्था नरहेको विभागका एक प्राविधिक कर्मचारीले बताए । उनका अनुसार मास प्रिन्टरले घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसकेर नियमित अवस्थामा लैजान सकिने उनको भनाइ छ ।

लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या अहिले ५ लाखभन्दा माथि छ । प्रिन्टमा समस्या कायमै रहेपछि स्मार्ट सवारी लाइसेन्स वितरणमा देखिएको समस्या फुकाउन भन्दै सरकारले मास प्रिन्टर खरिदको निर्णय लिएको थियो । मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ ।

विभागमा मागअनुसार लाइसेन्स बाँड्न नसकिएको ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत दैनिक १५ सय लाइसेन्स प्रिन्ट हुँदैन ।

महिनामा ५० हजार लाइसेन्स पनि प्रिन्ट हुने गर्न नसकिएको विभागका अधिकारीहरु बताउँछन् । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न महिनौं लाग्ने गरेको छ । अहिले विभागका ५ वटा पुरानामध्ये मुश्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक–पटक समस्या आउँछ ।

विभागअनुसार पुरानो मेसिनले आफ्नो ‘लाइफ टाइम’ मा जम्मा एक लाख लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता राख्छन् । तर, करिब ५ लाख लाइसेन्स प्रिन्ट गरिसकेका छन् ।

पुराना मोडलका प्रिन्टरको उत्पादन पनि बन्द भएकाले पार्टपुर्जा पनि पाउन गाह्रो पर्ने गरेको छ । यसका कारण महिनौं पहिले प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई लाइसेन्स दिन विभागलाई धौ–धौ परिरहेको छ । अब मास प्रिन्टर जोडेर सञ्चालनमा ल्याएपछि यस्तो समस्या घट्दै जाने विश्वास विभागको छ ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ ।

कागजी लाइसेन्स हटाएर देशब्यापी रुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेला–बेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।

अहिले झण्डै ५ लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर लाइसेन्स कुरिरहेका छन् । देशभर दैनिक कोटा प्रणाली लागू गरिएका कारण लाखौं सेवाग्राहीहरु लाइसेन्स लिने प्रक्रियामा सहभागी नै हुन पाएका छैनन् । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!