खर्चको विषय पनि शंकास्पद ! प्रधानमन्त्री ओलीको साथमा अन्सारी किन पुगे ?

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं | प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सिङ्गापुरमा हुने उपचार खर्च ओली स्वयम्ले व्यवस्थापन गर्ने भनी सरकारी दाबी सार्वजनिक भएपनि उनका साथमा देखिएका एक पात्रको कारण उनको उपचार खर्चको विषय पनि शंकास्पद बन्न पुगेको छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नव्यहोर्ने बताएको केहि दिनपछि प्रधानमन्त्रीको टोलीमा विवादास्पद नेशनल मेडिकल कलेजका सञ्चालक बशरुद्दीन अन्सारी देखिएपछि प्रधानमन्त्रीको उपचार खर्चको विषय पनि विवादमा परेको चर्चा चल्न थालेको छ । 

प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली र अन्सारीको काँधमा काँध मिलाएर सिंगापुरमा घुमघामको तस्विर सार्वजनिक भएबाट उनको स्वास्थ्य भ्रमणको चाँजोपाँचो उनै अन्सारीले मिलाएको हुनसक्ने चर्चा चलेको हो ।

नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको उपचार खर्चको व्यवस्था गर्नका लागि अन्सारी सिंगापुर गएका हुन् ।

नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी काठमाडौंमा समेत मेडिकल कलेजको स्विकृतिका लागि सरकारमा रहेकाहरुलाई प्रभावित पार्न लागिपरेको अवस्थामा उनी ओलीका साथमा देखिनुले झनै चर्चा चलेको हो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराइरहेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!