प्रतिनिधिसभा : बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमरेशकुमार सिंहले बिरुवा मास्ने, जङ्गल फँडानी गर्ने जस्ता काम बढिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा स्याउका नयाँ बिरुवा चाहिएकाले व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रेम सुवालले कृषिका बारेमा अनुसन्धान गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले उपयोगी अनुसन्धानको काम गर्न नसकेको बताउनुभयो ।

सांसद प्रमोद साहले बिरुवा र जङ्गलको संरक्षणमा विशेष ध्यान दिन माग गर्नुभयो । सांसदले छलफलका क्रममा उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खनालले नार्कले बिरुवामा लाग्ने रोगका सम्बन्धमा अध्ययन गरिरहेको जानकारी गराउँदै बिरुवा संरक्षणका लागि एकीकृत योजना बनाउने तयारी गरिएको सुनाउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!