बासुकलाको १४ औं स्मृति सभा ताथलीमा :ज्येष्ठ नागरिक र विद्यार्थी सम्मानित

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हरिसुन्दर छुकां, भक्तपुर, २४ साउन । स्व. जयराम बासुकलाको १४ औं स्मृति सभा ताथलीमा भएको छ । शिक्षाप्रेमी, विकासप्रेमी एवं समाजसेवीको छविसँगै असल, कर्मठ र अनुशासित कार्यकर्ताको छवि बनाउन सफल स्व. बासुकलाको सम्झनामा शुक्रबार ताथलीको देवी माध्यमिक विद्यालयमा स्मृति सभा भएको हो ।

वि.सं. २००९ साल असार ३ गते ताथलीमा जन्मिई वि.सं. २०६२ साल साउन २४ गते देहावसान भएका स्व. जयराम बासुकला नेपाल मजदुर किसान पार्टीका इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ता एवं साविकको ताथली गाविसका अध्यक्ष थिए ।

आफ्नो जीवनकालमा तीनपटक गाविस अध्यक्ष भएका स्व. बासुकलाको स्मृतिमा जयराम बासुकला अक्षय कोष समितिले आयोजना गरेको सो अवसरमा चाँगुनारायण नगरपालिकाको वडा नं. ८ का दुई ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिएको थियो ।

अभिनन्दित हुनेमा ९९ वर्षीया राधिका राउत र ८५ वर्षीय मीनराज बस्नेत रहेका छन् । सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा २०७५ मा उत्कृष्ट स्तरीकृत अंक(जिपिए) हासिल गरेकी सुमिना त्वातीलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई नेपाल मजदुर किसान पार्टीको सचिव एवं प्रतिनीधिसभा सदस्य प्रेम सुवालले अभिनन्दन एवं सम्मान गरेका थिए ।

सो अवसरमा सांसद प्रेम सुवालले स्व.बासुकलाले पार्टी र भक्तपुरको पूर्वी भेगको विकासका लागि पुर्याएको योगदान कहिले पनि धूमिल नहुने बताउँदै जनप्रतिनीधिहरुले विकासप्रेमी, समाजसेवी र निःस्वार्थी भावनाका धनी बासुकलाको जीवनलाई आदर्श मानी काम गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा उनले संसदमा नेपाल मजदुर किसान पार्टीले अनवरत रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै सरकारले ल्याएको गुठी विधेयक किसानको हित निम्ति भए पनि सरकारले सो विधेयक फिर्ता लिएर सरकारले किसान विरोधी चरित्र देखाएको आरोप लगाए ।

सांसद सुवालले सरकार देश र जनताप्रति वफादार हुन नसक्दा जनताहरु निराश भएको र विकास निर्माणको नाममा ठेकेदार पोस्ने काम गरिरहेको बताउँदै सरकारले आफ्नो नाम अनुसारको काम गर्न नसकेको उल्लेख गरे । उनले हरेक विषयलाई भौतिकवादी देष्टिकोणले ग्रहण गर्नु जरुरी रहेकोमा जोड दिँदै सरकारको रबैयाले भ्रष्टाचार, अनियमितता व्यापक भएको बताए ।

उनले भारतको मोदी सरकारले सोमबार जम्मु–काश्मीर र अक्साई चीनबारे लिएको कदम सार्क देशको हितमा नभएको बताए । ‘सार्क देशहरूको सीमासँगै जोडिएका क्षेत्रहरूमा भारतले गर्ने हरेक सैनिक गतिविधिले सार्क देशका जनता भारतीय थिचोमिचो र विस्तारवादको अनुभव गर्छन् ।

यसकारण सार्क देशहरूका सबै प्रगतिशील र प्रजातन्त्रमा विश्वास गर्ने जनताले भारतको जम्मु–काश्मिर र अक्साई चीनबारे गरिएको सैनिक कारबाही शान्तिपूर्ण र वार्ताद्वारा समस्या समाधान गर्ने उद्देश्यमाथि कुठाराघात हो ।’ उनले भने ।

सांसद सुवालले भारतीय जनता पार्टीको फासीवादी र नाजीवादी नीति एवम् बडाराष्ट्र अहङ्कारवादको विरोध गर्नु जरुरी रहेको बताउँदै नेपालका अन्य राजनीतिक दलहरु यस सन्दर्भमा मौन रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले स्व. जयराम बासुकला उदाहरणीय, असल कार्यकर्ता भएकाले कामदार जनताको निधिको रुपमा रहेको चर्चा गरे ।

उनले स्व. बाुसुकलाको स्मृतिमा आयोजित कार्यक्रमले संघर्षशील जनता र कार्यकर्तालाई उर्जा दिने उल्लेख गर्दै बासुकलाले गरेको प्रत्येक काम र कामको शैलीलाई लिपिवद्द गर्न जरुरी रहेकोमा समेत जोड दिए ।

‘अहिलेको समय पूँजीवादको समय हो, यो व्यवस्थाले मानिसलाई स्वार्थी बनाउँछ, त्यसलाई चिर्नका लागि स्व. बासुकलाको व्यक्तित्वबाट सिक्न जरुरी छ।’ उनले भने ।

कार्यक्रममा सहभागी सम्पूर्णले स्व. बासुकलाको तस्बिरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जलि अर्पण गरेको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य पाण्डव सुवाल, नेमकिपा ताथलीका नारायणभक्त न्हेमाफुकी, चाँगुनारायण नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतले स्व. बासुकलाको योगदानलाई शिरोधार्य गरी निः स्वार्थ रुपमा जनताको सेवा गर्नु नै स्व. बासुकलाप्रतिश्रद्धाञ्जलि हुनेमा जोड दिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!