उपप्रधानमन्त्री पोखरेल तथा निर्मल निवाससम्बद्ध सूत्रसँग सम्पर्क

- August 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  नेपालमा ‘अनुमान पत्रकारिता’ र ‘हनुमान पत्रकारिता’को प्रभाव ज्यादा रहेको पुष्टि एकपटक फेरि भएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासमै पुगेर भेट गरेको भन्ने तथ्यहीन खबरलाई महत्वका साथ प्रचार गरिएपछि नेपालमा ‘अनुमान पत्रकारिता’ को प्रभाव ज्यादा रहेको पुष्टि हुन पुगेको हो ।

प्राप्त जानकारीअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल गत शुक्रबार (साउन १७ गते) बिहान साढे आठ बजे निर्मल निवासको मूलढोका भएर बाहिरिँदै गरेको देखिएका थिए ।

यसरी निर्मल निवासको मूल ढोकाबाट बाहिरिएको देख्ने बित्तिकै सामाजिक सञ्जालहरूमा ‘पोखरेलले राजा भेटेको’ भन्ने सन्देश देखापर्न थाल्यो र सोही आधारमा कतिपय सञ्चारमाध्यमहरूले पोखरेल र राजाबीच भएका ‘संवादको व्यहोरा’ भन्दै समाचारसमेत सम्प्रेषण गरे ।

वास्तवमा उपप्रधानमन्त्री पोखरेल निर्मलनिवासपरिसरमा पुग्नुको प्रयोजन बेग्लै रहेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री केपी ओलीको आग्रहमा केही समययता पोखरेलले नेपाल ट्रस्टको संयोजकको पनि जिम्मेवारी सम्हालेका छन् ।

आफूले ट्रस्ट संयोजकको जिम्मेवारी सम्हालेपछि पोखरेलले ट्रस्टको जमिनलाई शिक्षा, स्वास्थ्य र पर्यटनका लागि प्रयोग गर्ने सोच बनाएको बताइन्छ ।

त्यस निम्ति स्थलगत अध्ययन गरी ट्रस्टका जमिन तथा घरहरूको अवस्थिति बुझेर उपयोगसम्बन्धी धारणा बनाउन पोखरेल त्यस दिन काठमाडौंमा रहेका ट्रस्टको जमिनमा सरकारी टोलीसहित पुगेका थिए ।

निर्मल निवास परिसरसँगै जोडिएको एक रोपनी १४ आना जमिन पनि ट्रस्टको भएकोले उनी अवलोकनका निम्ति त्यहाँ पुगेका थिए । उक्त जमिनमा पहिले नेपाली सेना बसेको र अहिले सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ ।

सोही जमिनको स्थिति बुझ्न त्यहाँ पुगेका पोखरेल फर्कंदा खेरि निर्मलनिवासकै मूल ढोकापट्टि निस्किएका थिए । सोही दिन उनले राजकुमारी प्रेरणाले दाइजो पाएको घर तथा जमिन र सोल्टी होटेलसँगै जोडिएर रहेको ट्रस्टको जमिनको पनि अवलोकन भ्रमण गरेका थिए । पोखरेलले हेटौँडा, धनकुटा, पोखरा र सुर्खेतलगायतका स्थानमा रहेको ट्रस्टको जमिन पनि हेर्ने कार्यक्रम बनाएको बुझिएको छ ।

यसरी एउटा अर्कै प्रयोजनले उपप्रधानमन्त्री पोखरेल निर्मल निवासपरिसरमा पुगेको भए पनि ‘अनुमान पत्रकारिता’ले यसलाई संसयपूर्ण राजनीतिक घटनाका रूपमा प्रचारबाजी गरेको छ, घटना र विचारमा उल्लेख छ  ।

उपप्रधानमन्त्री पोखरेल तथा निर्मल निवाससम्बद्ध सूत्रसँग सम्पर्क गर्दा दुवै तिरबाट राजासँग भेटघाट भएको पुष्टि हुन सकेन । राजासँग निर्मल निवासमा भेटवार्ता भएको हो भन्ने हाम्रो प्रश्न सुन्नेबित्तिकै पोखरेल केही क्षण हाँसे र भने, ‘ए ! बाहिर त्यस्तो चर्चा पो भएछ ।’ 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!