नेता वामदेव गौतम फेरि चुनावमा उठ्नेबारे चर्चा सुरु

- August 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेकपाका नेता वामदेव गौतम चुनावमा उठ्नेबारे फेरि चर्चा सुरु भएको छ । पूर्वपर्यटनमन्त्री तथा नेकपाका युवानेता स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ बाट वामदेवलाई चुनाव लड्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेको समाचार आएको छ ।

अध्यक्ष ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेको पनि समाचारमा जनाइएको छ । आफू चुनाव लड्ने मुडमा नभएको भन्दै गौतमले सो क्षेत्रमा अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिन आग्रह गरेको बताइएको छ ।

तत्कालीन पर्यटनमन्त्री एवं नेकपाका प्रभावशाली युवानेता रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएलगत्तै सो क्षेत्रमा वामदेव गौतमलाई टिकट दिइनुपर्ने तर्क नआएका होइनन् ।

तर, गौतमले तत्काल त्यसको प्रतिवाद गर्दै आफू कुनै पनि हालतमा सो क्षेत्रमा चुनाव नलड्ने बरु स्व. रवीन्द्रकी पत्नी विद्यालाई नै सो क्षेत्रमा टिकटका लागि पहल गर्ने बताएका थिए ।

उनले फेरि आफ्नो त्यही भनाइलाई दोहो¥याएका छन् । यदि समाचारमा जनाइएजस्तै कुरा साँचो हो भने वामदेवको यो निर्णयको स्वागत गर्नुपर्छ । उनको यो निर्णय सकारात्मक र स्वागतयोग्य छ ।

तर, समाचारमा उनले सम्पूर्ण रूपमा आफ्नो सम्भावनालाई नकारेका छैनन् । उनले यति मात्र भनेका छन् कि ‘अहिले मेरो मुड छैन ।’ राजनीति हो, भोलि उनको मुड बन्ला ।

उनका पक्षमा पार्टी पंक्तिको दबाब होला वा उनका वरिपरिका कार्यकर्ताले उनलाई यो अवसर फुत्कन नदिन दबाब सिर्जना गर्लान् । कुनै बहानामा आफ्नो निर्णयबाट पछि हट्नुपरेको कमरेड गौतमले स्पष्टीकरण दिनु नपरोस् । वामदेव कमरेड आफ्नो अडानमा अडिग रहनु नै स्वयं र पार्टीका लागि पनि फाइदा हुनेछ ।

बर्दिया–१ बाट चुनावमा पराजित भएपछि वामदेवले प्रतिनिधिसभामा जानका लागि गरेका सबै प्रयास असफल भइसकेका छन् । ती प्रयासहरू किन असफल भए भन्ने कुराको विवेचना हुनु जरुरी छ । ती प्रयासहरू माथिल्लो तहका नेताका कारण वा पार्टीभित्रको कुनै गुटका कारण असफल भएका थिएनन् ।

आमकार्यकर्ताको दबाबका कारण नै सबै नेताहरूले चाहँदाचाहँदै पनि गौतमलाई प्रतिनिधिसभामा लान नसकिएको यथार्थ हो ।

नवलपरासी, डोल्पा, प्युठान हुँदै काठमाडौंसम्म उनका लागि ठाउँ रोजिएका हुन् । काठमाडौं–७ मा त कुरा अन्तिम चरणसम्मै पनि पुगेको हो । तर ती कुनै पनि ठाउँका कार्यकर्ता र मतदाताले कमरेड वामदेवका पक्षमा अभिमत दिएनन् । बरु, कतिपयले उनको विपक्षमा विद्रोह नै गर्ने अवस्था आयो ।

आखिर वामदेवजस्तो उच्च तहको नेताका लागि तल्लो तहका कार्यकर्ता र आममतदाताका मनमा यस्तो भावना किन ? प्रश्न गम्भीर छ ।

कम्युनिस्ट आन्दोलनमा निःसन्देह वामदेवको ठूलो लगानी छ । उनले आफ्नो लामो जीवन यसैमा समर्पण गरेका छन् । तर उनको त्यो त्याग र समर्पणलाई उनको एउटै गल्तीले धुलिसात बनाइदिएको छ । वामदेवलाई लागेको सबभन्दा ठूलो चार्ज हो पार्टी विभाजन ।

आमवामपन्थी कार्यकर्ता र शुभेच्छुकका नजरमा उनको सबभन्दा ठूलो.अपराध नै २०५४ सालको पार्टी विभाजन हो । जसलाई तल्लो तहका कार्यकर्ता र आममतदाताले भुल्न सकेका छैनन् । यदि २०५४ मा पार्टी विभाजन नभएको भए २०५६ सालको आमनिर्वाचनमै बहुमत वा दुई तिहाईको कम्युनिस्ट सरकार निर्माण हुने कुरामा आम पार्टी कार्यकर्ता विश्वस्त छन् ।

आज पनि चिया पसलदेखि भोज पार्टीहरूका उनको प्रसंग उठ्नेबित्तिकै दुई कुराले उनलाई आमजनताले सम्झन्छन्, एक पार्टी विभाजन, अर्को सुनकाण्ड । आज कमरेड वामदेवको त्यही आमछवि बनेको छ । उनको पार्टी निर्माणमा कति भूमिका छ त्यो पार्टी कार्यकर्ताका लागि चासोको विषय बन्दैन ।

तर, पार्टी विभाजनले एमालेको एकल सरकारको सम्भावनामा तुषारापात भएको कुरा आमकार्यकर्ताका लागि नोटिसको विषय बन्छ । आज पनि उनका पछाडि उनको नाममा एकार लगाएर रिस पोख्ने जनता र कार्यकर्ताको ठूलो पंक्ति छ । यसो भन्दा वामदेव कमरेडलाई नमीठो लाग्न सक्छ । तर, सत्य यही हो ।

गौतम जुन पात्र वा प्रवृत्तिका रूपमा परिचित छन्, वास्तविकता त्यस्तो पनि होइन । यसका धेरै कारक छन् । उनलाई पार्टीभित्र गुटका नेताहरूले समेत बेलाबेलामा उपयोग (दुरुपयोग ?) गर्ने गरेका छन् । पार्टी पंक्तिमा माथिदेखि तलसम्मै सदैव उनलाई दुरुपयोग गरिँदै आइएको छ ।

वामदेवका नाममा जस आफू लिने र अपजस जति उनको पोल्टामा हालिदिने काम हुँदै आएको छ । तर यस्तो प्रवृत्तिलाई गौतमले कहिल्यै चिन्न सकेनन् । उनी एक हक्की नेताका रूपमा सदैव थिए र छन् तर उनको यही स्वभावलाई पार्टी पंक्तिमा सधैं दुरुपयोग गरिँदै आइएको छ ।

अर्कातिर उनका सल्लाहकारहरू योग्य र इमानदार छैनन् । उनीहरू पनि वामदेवको नाम भजाउनमै मस्त छन् । उनी शक्तिमा हुँदा उनको वरिपरि सल्बलाउने अनुहारहरू मात्र नियाल्ने हो भने पनि उनी कस्ता मान्छेको घेराभित्र छन् भन्ने स्पष्ट हुन्छ । उनलाई अप्ठेरो अवस्थामा निःस्वार्थ साथ दिने र तीतो भए पनि यथार्थ बताइदिने कार्यकर्ता उनको यही भजनमण्डलीको कोपभाजनमा पर्छन् ।

गौतमको आमरूपमा जुन छवि बनेको छ, त्यो उनका आसेपासेहरूले बताउने हिम्मत गर्दैनन् । र, जसले सुनाउनेछन् तिनको विश्वास गौतमलाई हुनेछैन, किनकि आजसम्म वामदेवले आफ्ना आलोचकलाई धैर्यपूर्वक सुनेको इतिहास छैन ।

वामदेव स्वयंमा असल हुँदाहुँदै पनि खराब संगतले उनलाई पनि खराब नै सिद्ध गर्दै गएको छ । उनले जुनजुन विवादास्पद काम गरेका थिए ती उनको व्यक्तिगत स्वार्थभन्दा पनि पार्टी वा सामूहिक स्वार्थका लागि थिए् ।

उनले पार्टी विभाजन गरेको ऋण पार्टी एकताका लागि गरेको अथक प्रयासले केही हदसम्म चुक्ता गरिसकेको छ । तर, यो कुरा बुझ्ने र बुझाउने कसले ? गौतमले विगतको गल्तीको सावाँ त छोडौं अहिलहेसम्म ब्याज मात्र तिरिरहनुपरेको छ ।

उनी चुनावमा असफल हुनुको प्रमुख कारण पनि यही नै हो । आगामी चुनावमा पनि वामदेवलाई यही चार्जले पराजित गर्ने पक्का छ । किनकि, तत्कालीन एमालेका आमकार्यकर्ताले वामदेवको २०५४ को छविलाई भुल्न सकेका छैनन् ।

गौतमले एमाले माओवादी एकताका लागि खेलेको भूमिका त्यसका अगाडि गौण बनिदिएको छ । उनको अथक प्रयासले नै यो एकता सम्भव भएको हो । तर, यस कुरालाई प्रचारप्रसार कसले गरिदिने ? किनकि, उनीसँग यो कामका लागि उनलाई सहयोग गर्ने मान्छे नै छैन । उनीसँग जो छन्, लोभीपापी, भ्रष्ट र दरिद्रहरू छन् ।

उनीहरूलाई गौतम बदनाम भए केही फरक पर्दैन तर उनी सफल हुँदा त्यसको प्रतिफल चाहिएको छ ।
यस्तो परिस्थितिमा कमरेड गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गर्नु स्वागत र सम्मानयोग्य कुरा हो । यदि चुनाव लड्ने परिस्थिति बनेमा पनि वामदेवले अब चुनाव लड्ने सपना कमसेकम अर्को आमचुनावसम्म देख्नुहुन्न ।

बरु, पार्टी एकतालाई मजबुत बनाउँदै पार्टी आफ्नो छवि सुधारमा ध्यान दिनु जरुरी छ । त्यसैले, वामदेवले अहिले चुनावी झन्झटमा फसेर रहेबचेको साख गुमाउनुभन्दा उनले अघि सारेको पार्टी एकताको प्रक्रियालाई सही टुंगोमा पु¥याउनु नै अहिलेका लागि उत्तम विकल्प हुन सक्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!