नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधनको सकस : उद्योग वाणिज्य महासंघमा फुटको सङ्केत

41

रोशन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्ने समय नजिकिँदै गएसँगै सो संस्थाभित्र झांगिँदै गएको विवादकै कारण बढ्दै गएको अस्वस्थ खेलले पछिल्लो समयमा फुटको संकेत देखिन थालेको छ । दुई वर्षअघि मात्र संशोधन गरेको महासंघको विधानबाट भवानी राणा अध्यक्ष चयन भएदेखि नै महासंघमा सुरु भएको विभाजन र विवादलाई अध्यक्ष राणाले ध्यान नदिएकै कारण अहिले सोही विवादले उग्ररुप लिनपुगेको सदस्यहरुको आरोप छ । राणालाई अध्यक्ष बनाउन महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखेर विद्यमान विधानलाई संशोधन गरी महासंघमा आफ्नो दबदबा राखिराख्न विवादित व्यक्ति पूर्वअध्यक्ष चण्डीराज ढकाल सफल भए पनि संस्थाको साख गिर्दो अवस्थामा छ । 

गत वर्षको साधारणसभाबाट महासंघका पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, पशुपति मुरारकाको समूहले भवानी राणालाई अध्यक्ष बनाउन विधानको प्रजातान्त्रिक विधिलाई लत्याउँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने, फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति पाँच वर्षपछि पदाधिकारीमा निर्वाचन लड्न र निर्वाचित हुन पाउने जस्ता दफाहरू राखेर संशोधन गरेको दुई वर्ष बित्न नपाउँदै सोही समूहका पशुपति मुरारका र चण्डीराज ढकालबीच पछिल्लो समयमा पानी बाराबारको अवस्थामा पुगेका छन् । 

महासंघमा बढ्दै गएको विवादकै कारण केन्द्रका र जिल्ला–नगर उद्योग वाणिज्य संघका कैयौं नेताहरू नेपाल चेम्बर अफ कमर्सको सदस्य लिई सक्रिय हुनथालेका छन् । यसले संस्थाको साखमा गिरावट आएको प्रष्ट हुन पुगेको छ । त्यस समयदेखि नै पूर्वअध्यक्षहरूले वाणिज्य महासंघ पूर्वअध्यक्ष परिषद् गठन गरेर गतिविधि गर्दै आएका छन् । विद्यमान विधानअनुसार महासंघको अध्यक्ष हुने पालो शेखर गोल्छाको रहेको छ । तर, सोही विधानलाई फेरि संशोधन गर्ने भन्दै चण्डीराज ढकालले बैंठकमा प्रस्ताव राखेपछि विवादले उग्ररुप लिन पुगेको थियो । 

भवानी राणा अध्यक्ष भएपछि अधिकांश समय चर्चा र विवादमामात्र आइरहेको महासंघ फेरि एकपटक चर्चामा आएको छ । महासंघभित्रको सबैभन्दा प्रभावशाली निकाय कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको भन्दै तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानको संलग्नता पुष्टि भएसँगै कार्यकारिणी समितिमा चर्को आलोचना भएपछि उनले राजीनामा दिएका थिए । आरोप प्रत्यारोपसँगै अगाडि बढेको महासंघमा अनियमितताको आरोपसँगै विधान संशोधनले चर्चा पाएको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । 

महासंघमा लामो समयदेखि गुट/उपगुटमा विभाजन भएर स्वार्थको राजनीति हुँदै आएको छ । अढाई दशकअघि तत्कालीन अध्यक्ष विनोद चौधरी दोस्रो कार्याकालका लागि अध्यक्षमा हारेदेखि सुरु भएको गुट/उपगुटले अहिले अझ तीव्रता पाएको छ । अध्यक्षमा हारेपछि चौधरीले महासंघकै समानान्तर संस्था नेपाल उद्योग परिसंघको स्थापना गरेर अध्यक्ष भई महासंघ फुटाएका थिए । अहिले सो संस्थामा चण्डीराज ढकालको विधानविपरीत क्रियाकलापका कारण महासंघ फुटको संघारमा पुगेको केही सदस्यहरुले बताएका छन् । 

महासंघभित्र रहेको दुई गुटको नेतृत्व दुई पूर्वअध्यक्षहरुले गरिरहेका छन् । अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाबीच संवादहीनताकै अवस्था छ भने पछिल्लो समयमा ढकाल र मुरारकाबीच ठूलै टकराव सुरु भएको छ । दुई गुटको नेतृत्व पूर्वअध्यक्ष चण्डीराज ढकाल तथा अर्को समूहको नेतृत्व निवर्तमान अध्यक्ष पशुपति मुरारकाले गरिरहेका छन् । महासंघमा लामो समयदेखि राज गरिरहेका ढकाल अध्यक्ष राणाको कार्यकाल अर्को वर्ष चैतमा सकिएपछि पनि आफ्नो राज जारी राख्न चाहिरहेका छन् । ढकालले वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्षमा निर्वाचित भएको खण्डमा आफ्नो योजना पूरा हुन नसक्नै देखेपछि अनेकौं खेल खेलिरहेको आरोप मुरारका पक्षको रहेको छ । 

महासंघले विशेष साधारणसभा बोलाएर विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान हटाउने विषयलाई प्रमुखताका साथ उठाएपछि सोको विरोधमा निवर्तमान अध्यक्ष मुरारकाको समूहले बैठकमै असहमति गरेसँगै विवाद चर्किएको हो । पूर्वअध्यक्ष ढकाल जो आफैं विधान संशोधन समितिका संयोजक हुन् । उनले आफ्नो यही शक्तिलाई हतियार जसरी प्रयोग गरिरहेका छन् र परिणाम कोषाध्यक्ष प्रकरणजस्ता घटना भइरहेका छन् । जिल्ला नगरमा पकड राख्ने ढकाल तिनै संघलाई उपयोग गरेर विधान संशोधन गर्न चाहन्छन् । तर, यस विषयमा मुरारका समूहले खुलेरै विमति राखेपछि ढकाल अहिले मुरारका समूहमाथि खनिएको एक सदस्यले बताए । वस्तुगततर्फका उपाध्यक्ष चन्द्र ढकाल भने यस विषयमा ढुलमुले व्यवहार देखाउँदै आएका छन् । कतिपय सदस्यहरु एकपटक गोल्छालाई अध्यक्ष बनाएर भएपछि मात्र विधान संशोधनमा जानु उचित हुने बताउँदै आएका छन् भने अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायत अन्य केही सदस्यहरु ढकालको पक्षमा उभिएका छन् ।

यसैबीच ढकाल समूहले मुरारका समूहमाथि कृषि उद्यम केन्द्रको विवाद अघि सारेर अख्तियारमा मुद्दा हाल्नुको उद्देश्य अध्यक्ष राणालाई पदच्यूत गरेर गोल्छालाई कार्यवाहक अध्यक्ष बनाउन सो विवाद गरेको आरोप सार्वजनिक रुपमै लगाइरहेको छ । वर्षाैंदेखि एउटै व्यक्तिको निश्चित स्वार्थको वरिपरि महासंघ घुमिरहनु आफैंमा लज्जाजनक परिस्थिति भएको भन्दै सो कार्य तत्काल बन्द गरिनुपर्ने माग सदस्यहरुको रहेको छ । सो संस्थाभित्र निर्वाचित हुनेले अर्को पक्षलाई पेलेर जाने र अर्को पक्षले निर्वाचित नेतृत्वलाई असहयोग गर्ने अलोकतान्त्रिक परिपाटीको शिकार हुँदै आएको छ । अहिलेको विवाद भनेकै विधान संशोधनका नाममा कसैलाई नेतृत्वमा आउन नदिन गरिएको षड्यन्त्रको प्रतिशोध नै हो भन्ने आरोप मुरारका समूहको रहेको छ । 

निजी क्षेत्रको छाता संगठनको हैसियतमा रहेकाले महासंघले निजी क्षेत्रको भावना नीति निर्मातासम्म पु-याउने गहन जिम्मेवारी समेत पूरा गर्नसकेको छैन । महासंघको केन्द्रीय कार्यालय टेकुमा गत साउन १५ गते बुधबार बसेको कार्यकारिणी समितिको १२औं बैठक कक्षमै चण्डीराज र पशुपतिबीच भएको दोहोरो वाक्युद्धका कारण आजसम्मकै विवादित बैठक बन्नपुगेको कार्यकारिणी समितिका एक जना सदस्यले बताएका छन् । महासंघको सो बैंठकको एजेन्डामा ‘विधान संशोधन’को प्रस्ताव ५ नम्बर एजेन्डामा राखिएको थियो । सो नम्बरमा ‘विधान संशोधन कार्यदलका संयोजकबाट विधानसम्बन्धी प्रगतिको जानकारी’ रखिने प्रस्तावलाई बैठकको सुरुमै पशुपति मुरारकाले असहमति जनाएपछि विवाद सुरु भएको हो ।

कार्यकारिणी समितिको बैठकमा संशोधनका लागि तयार भएको विधानका बारेमा कार्यकारिणी समितिको बैठकमा छलफल हुनुपर्दछ भन्ने र हुनुपर्दैन भन्ने मत प्रकट भएपछि कार्यकारिणी समितिको बैठक चर्काचर्की नै परेको थियो । महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य ढकालले ३२ वर्षअघिको मुद्दाको फाइल खोलेर अनेक तिकडम गरी महासंघको अध्यक्ष बनाइएका पशुपति मुरारकाले चण्डीराज ढकालविरुद्ध मत जाहेर गरेपछि चण्डी बैठक कक्षमै रिसाएका थिए । यसरी बैंठकमा ढकाल महासंघको ५१औँ साधारणसभाको म्यान्डेट र भावनाविपरीत प्रस्तुत भएकाले कार्यकारिणी समितिको बैठकमा चर्काचर्की हुन पुगेको थियो । 

यसरी महासंघको विवादलाई मिलाउनेभन्दा पनि झन् भड्काउने खेल अहिले चलेको छ । सो सम्बन्धमा पटक–पटक महासंघको अध्यक्ष राणालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् भने । यसै सम्बन्धमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले संस्थालाई कुनै पनि व्यक्ति र समूहको निहित स्वार्थअनुसार सञ्चालन गरिनु गलत भएको र विद्यमान विधानविपरीत केही पनि कार्य गर्नु गराउनु गलत भएको भन्दै हामीले बैठकमा विमति राखेको बताउँदै आएका छन् । मुरारकाले संस्थाको विधान गतिशील हुनुपर्छ तर संशोधन केका लागि र त्यसले के प्रभाव पार्न सक्छ भन्नेबारे स्पष्ट हुनुपर्ने भन्दै बैंठकमा मत राखेका थिए । मुरारकाले भनेका थिए, ‘संस्था भनेकै त्यसको विधान हो जसले संस्था सञ्चालनको विधि निर्धारण गर्छ त्यसैले कुनै व्यक्तिलाई लक्षित गर्नुभन्दा पनि सबैले संस्थाको हितलाई ध्यानमा राख्नु मुख्य जिम्मेवारी हो ।’ कुनै एक व्यक्तिलाई महासंघको नेतृत्वमा लैजाने वा जानबाट रोक्ने उद्देश्य राखेर संस्थाको विधान संशोधन गर्ने हो भने त्यसको असर संस्थामाथि पर्ने मुरारकाले बताएका थिए । 

महासंघको विधानको दफा ६६ को उपदफा १९ ‘क’ र १९ ‘ख’मा विधान संशोधनको प्रस्ताव साधारणसभामा पेस गर्नुअगाडि कार्यकारिणी समितिबाट प्रस्तुत हुने संशोधनको प्रस्ताव रायसहित साधारणसभा सुरु हुनुभन्दा तीन महिना अगाडि सदस्यहरुबीच प्रस्तुत गर्नुपर्ने प्रावधान उल्लेख गरिएको छ । उपदफा १९ ‘ख’ मा संशोधन प्रस्ताव ४ महिना अगाडि नै कार्यकारिणी समितिमा छलफलमा ल्याउनुपर्ने भन्ने उल्लेख छ । विधानअनुसार महासंघले यदि विधान संशोधन गर्ने हो भने त्यसको मस्यौदा यतिबेलासम्म कार्यकारिणी समितिमा छलफल भइसकेको हुनुपर्ने थियो । महासंघको वार्षिक साधारणसभा आउँदो चैत २८ गते हुँदै छ । त्यसअघि नै जिल्लाको निर्वाचन हुन्छ र त्यसको तयारी पुसदेखि सुरु हुने भएकाले निर्वाचनको तयारी सुरु भएपछि विशेष साधारणसभाबाट विधान संशोधन गर्न विद्यमान विधानअनुसार मिल्दैन ।

विद्यमान विधानअनुसार समय नभए पनि महासंघको विधान संशोधनका लागि भने ३५ वटा बुँदा संशोधन गरिने प्रस्ताव राखिएको छ । सो बुदाँमध्ये वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने हालको व्यवस्था हटाउने वा उक्त व्यवस्था एक/दुई कार्यकाल यथास्थानमा राख्ने विकल्पसहितको प्रस्ताव पठाएको छ । समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासंघको गरिमा अभिवृद्धि हुने हुँदा अध्यक्षको निर्वाचन गर्न उपयुक्त देखिएको भन्दै समितिले सो बुँदा उल्लेख गरेको छ । गत बुधबार बसेको कार्यसमिति बैठकमा विधान संशोधनको प्रस्ताव नपठाएको भन्दै समितिका संयोजक ढकालको आलोचना भएपछि आगामी कार्यसमिति बैठक बस्नुअघि प्रस्ताव पठाइएको महासंघले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY