बैंकलाई मर्जरमा जान तोकेरै निर्देशन; चिरञ्जिवी नेपाल

- August 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बैंकहरुलाई बलियो बनाउन र वित्तीय अराजकता रोक्न मर्जरको आवस्यकता रहेको राष्ट्रबैंकले बताएको छ ।

गभर्नर चिरञ्जिवी नेपालले बैंकहरु मर्जरको आवश्यकता रहेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा मौद्रिक नीति र बैंक मर्जरको आवश्यकताबारे भएको छलफलमा बताएका हुन ।

राष्ट्र बैंकले बैंकको संख्या घटाउन प्रोत्साहन गरेपनि बैंकको संख्या नघटेकोले बैंकको नाम नै तोकेर निर्देशन दिन सक्ने गर्भनर नेपालको भनाई छ ।

वित्तीय क्षेत्र स्थायित्व भयो भने देशलाई फाइदा पुग्छ भनेर नै बैंक मर्जर गर्न खोजेको नेपालले बताए । निक्षेपकर्ताको निक्षेप सुरक्षाका लागि राष्ट्र बैंकले द्धितीय ग्राहक सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको नेपालले जानकारी दिए ।

समितिको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले मूल्यवृद्धिलाई एउटा सीमामा राख्नेगरी मौद्रिक नीति तयार गरेको बताउँदै देश संघीयतामा गएपछि कर कसरी उठाउने, कति खर्च गर्ने भन्ने आधारमा मौद्रिक नीति तय गरेको जानकारी दिए ।

उनले बैंकहरुको संख्या धेरै हुँदा वित्तीय अपराध बढेको उल्लेख गर्दै बैंक सञ्चालनको लाइसेन्स दिए अनुसार नियमन गर्न कठिन भएको बताए । बैंकहरु गाभिदा सहुलियत दिने व्यवस्था गर्ने बताउँदै उनले बैंक मर्जर हुँदा निक्षेपकर्ता ठगिने समस्या कम हुने उल्लेख गरे ।

नागरिकहरुमा वित्तीय पहुँच पु¥याउनका लागि प्रत्येक स्थानीय तहमा शाखा विस्तार गर्ने र त्यसका लागि बैंकहरुले राष्ट्रबैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरिएको उनले बताए ।

२२ वटा पालिकाहरुमा बैंक शाखा विस्तार गरिएपनि पालिकाहरुको मुकामबारे विवाद रहेका कारण ढिलाइ भएको बताउँदै सचिव खनालले राष्ट्रबैंकसँग अनुमति नलिई शाखा खोल्ने व्यवस्थाले सजिलो पारेको बताए ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्भनर नेपालले निजी भएपनि बैंक तथा वित्तीय संस्था सरकारको हुने बताए ।

उनले निजी वा सरकारी जस्तो भएपनि बैंकको सीइओ राष्ट्र बैंकबाट टेष्ट गरेर पठाउने प्रक्रिया सुरु गर्ने उल्लेख गरे ।

संसारमा जुनसुकै बैंक धरासायी भएपनि त्यसको जिम्मेवारी सरकारले लिने उदाहरण दिँदै उनले विश्व बैंकबाट ७ अर्ब ऋण लिएर धरासायी बैंकलाई माथि उठाउन जिम्मेवारी बहन गरेको बताए ।

अन्य देशमा केन्द्रीय बैंकले सीइओ नियुक्त गर्ने उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अभ्यास गर्ने बेला भएको बताए । ४ वर्ष अघि ४८ उत्पादनमूलक क्षेत्र रहेकोमा अहिले ६० पुगेको बताए । 

गर्भनर नेपालले केन्द्रीय बैंकको स्वीकृतिबिना बैंकले व्याजदर बढाए राष्ट्र बैंकमा उजुरी गर्न समेत आग्रह गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!