परिवर नियोजन सङ्घ शाखाद्वार ७५ हजार जनालाई सेवा उपलब्ध

- August 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर, नेपाल परिवर नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।

शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ ।

सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष र २०९ महिला रहेका छन् ।

यसैगरी पाँच हजार ७९७ जना परिवार नियोजन चक्की, सात हजार ६१० जना तीन महिने सुई(डिपो), २५६ जना कपर टि (बाह्र वर्षे) र नरप्लान्ट तथा ९० जना महिला स्थायी बन्ध्याकरण गरेको शाखाले जनाएको छ ।

यस्तै सुरक्षित गर्भपतनतर्फ ३०५ महिलाले सेवा उपलब्ध गराएको छ । तीमध्ये २४ वर्ष मुनिका ७३ जना रहेका छन् । सुरक्षित गर्भपतनका लागि सुनसरी जिल्लाबाट समेत सेवा लिन आउने गरेको प्रमुख दाहालले बताउनुभयो ।

सङ्घले पाठेघरको क्यान्सर जाँच ४५२ जना, गर्भवती जाँच तीन हजार ८५२ र अन्य प्रजनन् स्वास्थ्य सेवा एक हजार १६३ जनालाई उपलब्ध गराएको छ ।

यस्तै परामर्श तथा एचआइभी परीक्षण एक हजार ७३७, सामान्य स्वास्थ्यसम्बन्धी चेकजाँच ३८७, परिवार नियोजनसम्वन्धी परामर्श सेवा ३६ हजार २४७, प्रजनन स्वास्थ्य सम्वन्धी परामर्श १ हजार १६३, वालवच्चाको विभिन्न खोपहरु १२ हजार ३४४ जनालाई सेवा उपलव्ध गराएको छ ।

एचआईभी एड्ससम्बन्धी परीक्षण ५७६ जनाले गराएकोमध्ये कसैमा पनि सङ्क्रमण नदेखिएको प्रमुख दाहालको भनाइ छ । सङ्घमा सेवा लिन सबै समुदायका महिला आउने गरे पनि मुस्लिम महिला ज्यादै कम आउने गरेका छन् ।

सङ्घले गर्भपतन बाहेक अन्य सबै सेवा निःशुल्क प्रदान गर्दै आएको छ । सङ्घले सन् २०१७ मा ७२ हजार ३०० जनालाई सेवा प्रदान गरेको थियो भने यसवर्ष २०१९ मा एक लाखलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रमुख दाहालको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!