पशुको उपचारका लागि घर घरमै एम्बुलेन्स सेवा

- August 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रदेश ३ का कृषकले अब पशु बिमारी हुँदा गोठमै उपचार सेवा पाउने भएका छन् । समयमा पशुको उपचार नहुँदा नोक्सानी व्यर्होर्दै आएका किसानलाई लक्षित गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुको उपचारका लागि एम्बुलेन्स सेवा थालेको छ ।

किसानका समस्यालाई ध्यानमा राख्दै मन्त्रालयले बिमारी पशुका लागि एम्बुलेन्स मात्र होइन् । किसानका खेतबारीका माटो परीक्षणका लागि बस सेवा समेत सुरु गरेको छ । माटो परीक्षण घुम्ती प्रयोगशालाको रुपमा रहेको बसले उपकरणसहित प्रदेशका विभिन्न स्थानमा पुगेर माटो परीक्षण गर्ने काम गर्दछ ।
प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार वटा भेटेनरी एम्बुलेन्स र माटो परीक्षण गर्ने बस सोमबार हस्तान्तरण गरेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गरेका हुन् । यससँगै कृषकले अब पशुको उपचार र माटो परीक्षण सहज रुपमा पाउने भएका हुन् ।
चालु आर्थिक वर्षमा सञ्चालन गर्ने गरि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एकएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको मनत्रालयका प्रवक्ता निर्मल गदालले बताए । कुनैपनि समयमा पशुचौपाया बिरामी परेमा सहयोग गर्ने उद्देश्यले एम्बुुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।

एम्बुलेन्सले प्रदेशको विभिन्न जिल्लाका पशुस्वास्थ्य घुम्ती सेवा, पशु उद्दार र उपचार तथा माग बमोजिम कृषक र सहकारी स्तरमा सेवा पु¥याउने मन्त्रालयका प्रवक्ता गदालले बताए । सेवाबाट साना तथा दुर्गम क्षेत्रका पशुपंक्षीपालक कृषकले छिटो, छरितो र गुणस्तरिय सेवा पाउने अपेक्षा रहेको उनको भनाइ छ । एउटा पशु एम्बुलेन्सको ३७ लाख रुपैयाँ परेको गदालले बताए ।

यसैगरी हेटौंडामा माटो परीक्षण प्रयोगशालाको भवन उद्घाटन गरिएको छ । माटो परीक्षण प्रयोगशाला स्थापना नभएका स्थानीय तहहरुका लागि माग अनुसार तत्काल माटो परीक्षण सेवा उपलब्ध गराउन माटो परीक्षण घुम्ती प्रयोगशालाको लागि बसको व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता गदालले जानकारी दिए ।
मन्त्रालयले ८० लाख लागतमा खरिद गरेको भ्यानले दैनिक रुपमा ३० वटा माटोको नमुना स्थलगत रुपमा नै परीक्षण गर्न सकिने प्रवक्ता गदालले बताए । घुम्ती सेवा बसबाट वार्षिक १२ हजार कृषक परिवार लाभान्वित हुने अनुमान रहेको छ । प्रयोगशालामा यसअघि एउटा बसले सेवा दिंदै आएको थियो । राजधानीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!