शेखर गोल्छालाई अध्यक्ष बन्न नदिन चलखेल

- August 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको विगतको गौरवमय इतिहास पछिल्लो समय दिनप्रतिदिन गिर्दै गएको छ । आफ्नो स्वार्थका लागि संस्थागत गरिमालाई दाउमा राख्ने सीमित समूहका कारण यो संस्थाप्रति विश्वासको खडेरी लाग्न थालेको छ ।

जसका कारण व्यवसायीहरु महासंघ भन्दा उसका प्रतिस्पर्धी अन्य संस्थातर्फ आकर्षित हुन थालेका छन् । महासंघ केवल एउटा सामान्य संस्था होइन । सरकारकै अग्रसरतामा आर्थिक विकासका लागि खोलेको एउटा सहयात्री पनि हो ।

विदेशी लगानीकर्ताहरुलाई नेपाल भित्र्याउन स्थापना गरेको यो संस्था अहिले आफैं विश्वासको संकटमा परेको छ । जसका कारण विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने महासंघ आफ्नै आन्तरिक विवादबाट माथि उठ्न सकेको छैन ।

महासंघको ३०७६ को अन्त्यतिर हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि एक वर्ष पहिलेदेखि महासंघका व्यावसायिक मुकुट लगाएका राजनीतिक पण्डितहरु खुलेरै चलखेलमा लाग्न थालेका छन् ।

दुई वर्षअघि यस्तै हानथापकाबीच परम्परादेखि चल्दै आएको सिधै अध्यक्षमा निर्वाचित हुने परम्परा तोड्दै आएको सिधै अध्यक्षमा स्वतः बढुवा हुने व्यवस्था गरियो । अहिले फेरि सीमित व्यक्तिको निहित स्वार्थका लागि महासंघको नेतृत्वका लागि चलखेल सुरु भएको हो ।

अघिल्लो पटकको नेतृत्व चयनमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउनुको पछि अरु कुनै तर्कले प्रस्तुत गरिएको थिएन । केवल तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउन रचिएको एउटा नाटक मात्रै थियो ।

तर, एक कार्यकाल पनि नसकिँदै त्यो व्यवस्था फेरि फिर्ता गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने परम्परा तोड्न चलखेल सुरु भएको हो । गत बुधबार विशेष साधारण सभा बोलाउन बसेको कार्यसमिति बैठकमा विशेष साधारण सभा बोलाउने सम्बन्धमा सहमति हुन सकेन ।

बैठकमा सहभागी एक व्यवसायीका अनुसार पूर्वअध्यक्षहरु चण्डीराज ढकाल र पशुपति मुरारकाबीच चर्काचर्की भएपछि विशेष साधारण सभा विना निष्कर्ष स्थगित गरिएको थियो । आफूअनुसारको निर्णय गराउन नसकेपछि पूर्वअध्यक्ष ढकालले विधान संशोधन मण्डलको पदबाट राजीनामा दिए ।

यद्यपि महासंघ स्रोतका अनुसार यो राजीनामा घुर्की लगाउनका लागि मात्रै दिइएको हो । २०७४ कात्तिक ४ गते विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरोको महासंघमा एक कार्यकाल पनि पूरा नहुँदै फेरि पुरानै ढाँचामा निर्वाचनमार्फत अध्यक्ष चयन गर्ने व्यवस्था गर्न पर्ने तर्कको पछि पूर्व अध्यक्ष ढकाल सक्रिय भएर लागेका छन् ।

सधैंभरि महासंघको राजनीतिमा निर्णायक भूमिकामा रहने ढकालकै कारण पछिल्लो समय महासंघ बद्नामीको बाटोमा गएको र यसको साखसमेत गिर्दै गएको महासंघकै अधिकारीहरुले लगाउने गरेका छन् ।

अहिलेको विधानअनुसार अबको महाधिवेशनदखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा बन्ने निश्चित छ ।

तर, गोल्छालाई सहजै अध्यक्ष बन्न नदिन विधान संशोधनको चलखेल सुरु भएको हो । यसभन्दा अघिल्लो कार्यकालमा जस्तै महासंघको विधान संशोधन गर्न महासंघका पूर्वअध्यक्ष ढकाल सक्रिय छन् ।

आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि महासंघलाई लामो समयदेखि अस्थिर बनाउन सक्रिय रहेका ढकालले यसपटक पनि आफू अनुकूलका व्यवसायी नेतालाई महासंघको अध्यक्ष बनाउन चाहन्छन् । त्यसैका लागि आफू अनुकूल निर्णय नहुने भएपछि बुधबारको बैठकमा उनले राजीनामा दिएको नाटक पनि गरे ।

महासंघ स्रोतका अनुसार उनको राजीनामा स्वीकृत नहुने निश्चित नै छ । कसैले कुटेजस्तो र रोएजस्तो गर्ने भन्ने नेपाली उखान जस्तै महासंघमा पनि आफू अनुकूलको नेतृतव जिताउन सकेका उनले राजीनमाको नाटक गरेको मात्रै हो ।

उनको राजीनामा स्वीकृत हुने सम्भावना अत्यन्त कम छ । महासंघको राजनीतिका चाणक्यको रुपमा चित्रण गरिने ढकाल अहिले गोल्छालाई अध्यक्ष नदिने पक्षमा लागेका छन् । गोल्छालाई अध्यक्ष बनाउँदा आफू अनुकूल नेतृत्व नचल्ने सम्भावना देखेर नै ढकाल महासंघको नेतृत्वमा आफू अनुकूलको व्यक्तिलाई जिताउन चाहन्छन् ।

यद्यपि पूर्वअध्यक्षका प्रत्यासी चन्द्र ढकाललगायतले भने गोल्छालाई नै नेतृत्व दिनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् । अहिलेकी अध्यक्ष भवानी राणाले विशेष महाधिवेशन र विधान संशोधनको विषयमा खासै खुलेर कुरा नगरेको भए पनि उनले समेत ढकालकै तर्कमा समर्थन गर्ने सम्भावना रहेको महासंघ स्रोतले जनाएको छ ।

गिर्दै समानान्तर आर्थिक सरकारको साख
नेपाल उद्योग वाणिज्य महासंघलाई केही वर्षअघिसम्म समानान्तर आर्थिक सरकारको रुपमा मान्ने गरिन्थ्यो । प्रादेशिक संरचना हुनुअघिसम्म सबै जिल्लामा शाखा पुगेको र आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ यतिबेला केवल व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रित हुने गरेको छ ।

नेपालमा लगानी भित्र्याउन र आथिृक विकासमा योगदान पुर्याउन स्थापित यो संस्थाको अहिले संघीय गणतन्त्र नेपालमा विस्तारै साख गिर्दै गएको छ । व्यवसायीहरुको अधिकारभन्दा आफ्नो व्यसाय विस्तारका लागि महासंघको दुरुपयोग गर्ने गरेका कारण व्यवसायीहरुको नजरमा समेत महासंघका साख गिर्दै छ ।

पछिल्लो समय सरकारको पृष्ठपोषणमा आफ्नो क्षेत्र विस्तार गर्दै गएको नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तुलनामा विस्तारै साख गिर्दै गएको महासंघमा अहिलेको अस्वस्थ राजनीतिले झनै तल गिराएको महासंघका अधिकारीहरुको गुनासो छ ।

विगतदेखि नै खानदानी प्रतिशोध र गुटबन्दीको सिकार
विगत २० वर्षदेखिको स्थितिलाई फर्किएर हेर्ने हो भने उद्योग वाणिज्य महासंघको नेतृत्वमा एकाध अपवादबाहेक गोल्छा घराना र ज्योति ग्रुपका सदस्यहरु कहिल्यै पछि छुटेको इतिहास देखिँदैन । त्यस्तै महासंघमा चौधरी समूह र गोल्छा समूह भने कहिलै मिलेको इतिहास देखिँदैन ।

यही इतिहासलाई हेर्दा अहिले नेपाल चेम्बर र परिसंघमा आफ्नो प्रभाव जमाइरहेका विनोद चौधरी, शेखर गोल्छाको पक्षमा लाग्न सक्ने देखिँदैन ।

बरु गोल्छालाई समर्थन नगरेपछि महासंघको सदस्यतामा ठूलो हिस्सा ओगटेको उद्योग परिसंघका संस्थापक चौधरीले समेत विधान संशोधनमा मौन समर्थन गर्ने देखिएको छ । महासंघ स्रोत चौधरीले गोल्छा घरानालाई समर्थन गर्न भनेको आश्चर्य नै हुनु रहेको दाबी गर्छ ।

गौरवमय इतिहास र अन्धकारमय भविष्य
आजको नेपाल उद्योग वाणिज्य महासंघको इतिहास खोज्दै जाने हो भने नेपालमा प्रजातन्त्र प्राप्त भएको समयसम्म पुग्न सकिन्छ, तरुणमा उल्लेख छ ।

२००७ सालदेखि सुरु भएको वाणिज्य मण्डल भन्ने संस्था देखि २००८–०९ सालतिर अखिल नेपाल व्यापार संघको नाम हुँदै २००९ सालदेखि नै नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संस्थाको गठन भयो । त्यसैको विकास हुँदै २०२२ सालमा अहिलेको महासंघको उदय भएको हो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!