विराटनगरमा विमलकुमारद्वारा अबैधरुपमा सुपारी र मरिचको आयात/ भन्सार कार्यालय नाजवाफ

- July 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बिराटनगर
अवैधरूपमा सुपारीका कारोबार गर्दै आएका विराटनगरका व्यवसायीहरू अवैधरूपमा मरिच आयातमा लागेको पाइएको छ । भन्सार नाका र गैरभन्सार नाका भएर विराटनगर अवैधरूपमा सुपारी आयात गर्दै आएको उनीहरू पछिल्लो समय मरिच आयातमा संलग्न भएको पाइएको छ । विराटनगरमा लामो समयदेखि सुपारीको कारोबारमा संलग्न रहेका व्यापारीहरू अहिले मरिचको व्यापारमा लागेका छन् । विगतमा विदेशी सुपारी आयात गरी नेपाली सुपारीको पहिरन लगाएर भारत निकासी गर्दै आएका केही व्यापारीहरू अहिले मरिचको नयाँ धन्दामा संलग्न हुनथालेका हुन् । अहिले ती व्यापारीहरूले तेस्रो मुलुकबाट मरिच ल्याएर नेपालको मरिच भन्दै भारत निकासी गर्नेगरेका छन् । विषेश गरी तेस्रो मुलुकबाट आयात गरी नेपाल ल्याइएको उक्त मरिच र भारतबाट नै आयात भएको केही मरिच मिसावट गरी पुनः भारततर्फ नै निर्यात हुनेगरेको पाइएको छ ।

केही समय यतादेखि भारतीय बजारमा मरिचको माग उच्च भएकाले नेपाली व्यापारीहरू सुपारीको धन्धा छोडेर मरिचको व्यापारमा संलग्न भएका हुन् । समाचारस्रोतका अनुसार नेपाली व्यापारीहरूले तेस्रो मुलुकबाट आयात गरी ल्याएको गोल मरिचको भाउ पछिल्लो समय भारतमा एक्कासी घटेपछि मरिच आयातका पोख्त खेलाडीहरू अहिले सडकमा आइपुगेका छन् । सुपारी आयातमा डनका रूपमा चित्रीत दिनेश राठी र मरिचका खेलाडी विमलकुमार जाजोडीया अहिले आयात गरेको मरिच के गर्ने भन्ने ध्याउन्नमा केन्द्रित हुनथालेपछि मरिच आयातको नयाँ धन्दा सार्वजनिक हुनपुगेको हो ।

विराटनगर भन्सारको उच्च स्रोतका अनुसार अहिले विराटनगर भन्सार नाका भएर भियतनाम, इण्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र मलेसियाबाट आयात हुने मरिचको माग भारतमा उच्च रहेको कुरा बताइएको छ । तर भारतीय बजारमा नेपालबाट निर्यात हुने गोल मरिचको भाउ एक्कासी घटेपछि आयात गरिएको मरिच के हुने हो भन्न नसक्ने अवस्था आएको कुरा भन्सार उच्च स्रोतले बताएको छ । जसको काराण अहिले आएर एक्कासी विराटनगर भन्सारनाकामा मरिचको आयातमा केही कमी भएको कुरा भन्सार स्रोतले बताएको छ ।

एक वर्ष अगाडि विराटनगरका मरिच व्यवसायी विमलकुमार जाजोडियाले भियतनामबाट नेपाल ल्याउने क्रममा रहेको १५ टन मरिच भारतको फारविसगञ्जमा लुटिएपछिको घटना सार्वजनिक भएसँगै मरिचको धन्धाका बारेमा नयाँनयाँ रहस्यहरू खुल्नथालेका थिए । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०६१ सामलमा नन्दन इम्पेक्सका नाममा व्यापारी विमलकुमार जाजोडियाले ३०१६४९०२५ नम्बरको भ्याट दर्ता कायम गरी उक्त ट्रेडिङ कम्पनीमार्फत मरिचको आयातमा संमग्न रहेको कुरा थाहा भएको छ ।

उक्त फर्मबाट आयात भएको मरिच लोड कन्टेनर भारतकै पुणिँया जिल्लामा खाली कन्टेनर फेला परेको थियो । उक्त घट्नापछि मरिच आयातका बारेमा नयाँनयाँ तथ्यहरू सार्वजनिक भएका हुन् । पछिल्लो समय मरिच आयातमा सुपारी खेलाडी दिनेश राठी र विमलकुमार जाजेडिया अग्रपंक्तिमा रहेको दाबी समाचारस्रोतले गरेको छ । कुनै समय यी व्यवसायी सुपारी आयातमा खप्पीस खेलाडी मानिएको कुरा बताइएको छ । पछिल्लो समय सरकारबाट सुपारी निकासी बन्द गरेपछि विकल्पका रूपमा गोल मरिच आयातमा व्यवसायी आकर्षित भएको कुरा व्यवसायीकै भनाइ रहेको छ । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!