बामदेवले सुरु गरे ओलीविरुद्ध मोर्चाबन्दी

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेता वामदेव गौतमको पहलमा मोर्चाबन्दी सुरु गरेका छन् ।

गौतमको सक्रियतामा अन्य नेता एक जुट भएर ओलीलाई एक्ल्याउने अभियान सुरु भएको छ । गौतमले ओलीलाई एक्ल्याउन अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेको निकटस्थ स्रोतले बताएको छ ।

नेताहरुलाई एउटै ठाउँमा राखेर भेटघाटको वातावरण समेत गौतमले मिलाएको स्रोत बताउँछ । ओली नेतृत्वको सरकारका कारण पार्टी बदनाम भएको भन्दै गौतमको पहलमा नेताहरुले ओलीलाई गलहत्याएर आफुहरु मिलेमतोमा सत्तामा पुग्ने रणनीति बनाएका छन् ।

वामदेवको पहलमा एक्ला एक्लै र सामूहिक भएका भेटघाटमा नेताहरुले सरकारको कामकारबाहीले पार्टीलाई दुरगामी असर पार्ने निष्कर्ष निकालेका छन् । भविष्यमा सरकारको नेतृत्व देखि पार्टीको नेतृत्व कस्ले लिने सम्मका विषयहरुमा छलफल भएका छन् ।

स्रोतका अनुसार भविष्यमा प्रचण्ड, नेपाल र खनालमध्ये एकले पार्टी र सरकार संचालन गर्ने सम्मका विषयहरुमा छलफल केन्द्रित भएको छ । ओलीको पछिल्लो भूमिकाप्रति असन्तुष्ट बनेका नेपाल, खनाल र गौतमले प्रचण्डलाई मनाएर नयाँ सहमति बनाउन खोजेका हुन् ।

सरकार संचालनमा ओली र प्रचण्डबीच विगतमा भएको आधा आधा कार्यकालको सहमतिको विषयबारे चर्चा परिचर्चा भइरहँदा वामदेव नयाँ रणनीतिमा लागेका हुन् । उनले नेताहरु प्रचण्ड, नेपाल र खनाललाई पार्टी र सरकारको जिम्मेवारी लगायतमा सहमति बनाउन भूमिका खेल्दै आए ।

ओलीलाई पार्टी अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका गौतम ओलीकै रणनीतिमा बर्दियाबाट पराजित भएपछि ओलीसंग रुष्ट बन्दै आएका छन् । ओली निकटस्थहरु वामदेवलाई चुनाव हराउन लागेको विषय चर्चामा आयो ।

आफैले अध्यक्ष जिताउन भूमिका खेल्दा समेत धोका पाएको भन्दै गौतम रुष्ट भएका हुन् । उनले ओलीसँग दूरी बढाएर प्रचण्डसँग निकटता राखे । गौतम अहिले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालको समर्थन दिलाउन लागिपरेका छन् । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!