शान्तिनगरस्थित तरकारी बजारको अनुगमन, सात व्यापारीमाथि कारवाही

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडाँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ ।

केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ ।    
    
किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा पसललाई रु पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो ।    
    
अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिनुभयो ।

तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।    
    
यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ ।

माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिनुभयो ।    
    
राजधानीमा हरिया तरकारीको मूल्यवृद्धि भएसँगै अहिले माछा, मासुको मूल्य पनि अस्वभाविक रुपमा वृद्धि भएको छ ।

एक वर्षअघि एक हजारको हाराहारीमा पाइने खसीको मासुको मूल्य वृद्धि भएर अहिले करीब रु एक हजार ३५० पुगेको छ ।    


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!