चेल्सीसँग हार्‍यो बार्सिलोना

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

टोकियो : प्रिसिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस महारथी बार्सिलोनालाई पराजित गरेको छ । जापानको टोकियोमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले भर्खरमात्र टोलीमा अनुबन्ध भएका चर्चित खेलाडी एन्टोइन ग्रिजम्यान र डी जोङलाई मैदानमा उतारेको थियो । खेलमा सुरुआती अग्रता चेल्सीले लिएको थियो ।

टमी अब्राहमले ३४औं मिनेटमा गोल गर्दै चेल्सीको उत्साह थपेका थिए । दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । ८१औं मिनेटमा चेल्सीका रोस बार्केलीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले डीबक्स छेउ नेल्सन सेमेडोले दिएको पासमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिमसम्म चेल्सीको दबाबमा परेको बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे ।

राकिटिकले करिब २० यार्ड टाढाबाट आकर्षक गोल गरेका थिए । पहिलो हाफमा कमजोर देखिएको बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको खेल खेले पनि हार टार्न सकेन । बार्सिलोनाले टोलीका स्टार खेलाडी एवं कप्तान लियोनल मेसीबिना चेल्सीसँग खेलेको थियो । कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलबाट बाहिरिएपछि केही निराश बनेका मेसी अहिले बिदामा बसेका छन् ।

टोलीका आशा गरिएका ग्रिजम्यानले चेल्सीविरुद्ध खासै प्रभाव जमाउन सकेनन् । प्रिसिजनका लागि बार्सिलोनाले चेल्सीसँग पहिलो खेल खेलेको हो । प्रिसिजन तयारीका लागि चेल्सी केही समयदेखि जापानमा छ । यसअघि शुक्रकार खेलिएको खेलमा चेल्सी जापानको कावासाकी क्लबसँग १–० गोलले पराजित भएको थियो । अन्नपुर्ण पोष्टबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!