सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने बेला आयो

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। बिपी कोइराला स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको लगातार तानाशाही बन्दै गएको दाबी गरे।

देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै दूरसञ्चार ऐनसम्म आइपुग्दा सरकार अलोकतान्त्रिक र तानाशाही बाटोमा अघि बढेको स्पस्ट भएको दाबी गरे।

पार्टीको स्थापनादेखि नै कांग्रेस प्रजातन्त्र र उदारवादको पक्षमा उभिँदै आएको बताउँदै देउवाले लोकतन्त्रविरोधी कुनै पनि कार्यविरुद्ध पार्टीले सशक्त प्रतिवाद गर्ने देउवाले बताए। पार्टी नेता बिपी कोइरालाले प्रजातन्त्रविरुद्ध कसैसँग पनि सम्झौता नगरेको स्मरण गर्दै देउवाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टी जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने स्पष्ट पारे।

‘मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै दूरसञ्चार ऐनसम्म आइपुग्दा सरकार अलोकतान्त्रिक र तानाशाही बाटोमा अघि बढेको स्पस्ट भएको छ।’


लोकतन्त्र र संविधानविपरीत आएका सबै विधेयक र ऐन फिर्ता लिन सरकारलाई सचेत गराउँदै देउवाले थपे, ‘फिर्ता लिएनन् भने संसद् चल्न दिँदेनौं। सडकमा जान पनि बाध्य हुन्छौं।’ तत्कालीन एमाले र माओवादी केन्द्रले जस्तो सडकमा रेलिङ भाँच्ने र संसद्मा कुर्सी तोडफोड गर्ने काम भने कांग्रेसले नगर्ने स्पष्ट गर्दै उनले भने, ‘शान्तिपूर्ण ढंगबाट सरकारका गलत कामको विरोध गर्नेछौं।’

बिपी स्मृति दिवसकै अवसरमा युवा नेतृत्व विकास प्रतिष्ठानले सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेता रामशरण महतले राष्ट्रहितको मामलामा कांग्रेस कहिले पनि पछाडि नपरेको बताए। भारत र चीनले लिपुलेक सम्झौता गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटेरै यसबारेमा कुरा राखेको उनले सुनाए।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक सम्झौता गलत भएको र लिपुलेकमा नेपालको दाबी भएको बताएको महतले जानकारी गराए। आफू अन्तर्राष्ट्रिय दाता सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता दिन गएका बेला लिपुलेकबारे कुरा उठाएको उनले बताए।

बिपी कोइरलाले भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध स्थापित गर्नुका साथै आफ्नो अडान स्पष्ट राख्ने गरेको महतले सुनाए। कांग्रेस राष्ट्रवादी पार्टी भएको जनाउँदै उनले थपे, ‘पार्टीलाई अगाडि बढाउन बिपीको आदर्श र आचरणलाई अपनाउनुपर्छ।’ नागरिकबाट । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!