सेवक नेपाल नामक एजजीओको ठगीधन्दा : मन्त्री दुलाल अभियान्ता रहेको भन्दै सहयोग संकलन, भएन कारबाही

- July 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल एक गैरसरकारी संस्थाको अभियन्ता रहेको भेटिएको छ । बहालवाला मन्त्री यसरी कुनै पनि गैरसरकारी संस्थाको अभियन्ता बन्नु पदीय दुरुपयोग हो । मन्त्री दुलाल ‘सेवक नेपाल’ भन्ने गैरसरकारी संस्थाको अभियन्ता भएको भन्दै स्वागतसहितको पोस्टर सो संस्थाले सार्वजनिक गरेसँगै उनको आलोचना भएको छ । काठमाडौं महानगरपालिका ७ चाबहिल ठेगाना राखेर ओखलढुंगा, रामेछाप, काभ्रे, म्याग्दी इलाम र दोलखा र सिन्धुपाल्चोक जिल्लामा विभिन्न गतिविधि गर्दै आएको सो एनजीओको अभियन्ताका रुपमा मन्त्री दुलालको फोटो प्रयोग गरी प्रचार गर्दा समेत अधिकारिक धारणा उनको मन्त्रालयबाट आउनसकेको छैन ।

एनजीओको अभियन्ता बनेपछि पटक–पटक सो मन्त्रालयले सार्वजनिक गरेको ०५७–२४५६७८ नम्बरको टेलिफोनमा सम्पर्क गर्दा ‘सर्किटको व्यस्तताका कारण सम्पर्क हुन सकेन’ भन्नेमात्र सन्देश आउने गरेको छ । सो सम्बन्धमा मन्त्री दुलालका सहयोगी सीपी दुलालले भने, ‘सेवक नेपाल भन्ने गैरसरकारी संस्थाको अभियन्ता भनी सामाजिक विकासमन्त्री युवराज दुलालको नाम र फोटोसहितको कार्ड बनाई सामाजिक सञ्जालमा विज्ञापन देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, उक्त विज्ञापनप्रति विभिन्न टीकाटिप्पणी समेत भइरहेको पाइएकोले यस भ्रामक विषयमा मन्त्रीज्यूको कुनै संलग्नता नभएको र यसबारे छानबिन समेत भइरहेको छ ।’ उनले मन्त्री दुलाललाई थाहा नै नदिई प्रचार गर्दा समेत किन आधिकारिक भनाइ सार्वजनिक गरेन भन्ने प्रश्नमा केही बताउन चाहेनन् ।

मन्त्री दुलालले ३ नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त र विकासयुक्त बनाउन अहोरात्र खटिनेछु भन्दै मन्त्री पदको जिम्मेवारी लिएकै दिन आफ्नो भनाइ राखेका थिए । तर बहालवाला मन्त्री भएकै समयमा गैरसरकारी संस्थाको अभियन्ता भएर प्रचारमा आउँदा समेत अहिलेसम्म सो संस्थाको छानबिन समेत हुनसकेको छैन । रेमन्त नाथ नाम गरेका व्यक्ति सो संस्थाको अध्यक्षको रुपमा रहेको पाइएको छ । सो संस्थाको आधिकारिक वेबसाइटमा समेत संस्थाको टिमबारे गोप्य राखिएको छ । युएचएआईडी नामको विदेशी आईएनजीओबाट सञ्चालनमा रहेको सो सेवक नामको संस्थाले अनाथ र असहाय बालबालिकाहरुको खोजी, उद्धार तथा दिगो संरक्षणको निम्ति भन्दै २०७० असार ६ गतेदेखि नेपालमा विभिन्न गतिविधि गर्दै आएको छ । सो संस्था दक्षिण कोरियाबाट ‘अनाथ बालबालिका संरक्षण कोष’ नामक संस्था स्थापना गरेर विभिन्न व्यक्ति तथा संस्थासँग चन्दा असुली गर्दै आएको छ । 

संस्थाले अमेरिका, इजरायल, क्यानडा, मलेसिया, साउदी अरेबियालागयतका देशबाट समेत रकम संकलन गर्दै आएको भेटिएको छ । २०७२ साल साउन २६ गते नेपाल सरकारको ऐनअनुसार दर्ता गरी ‘सेवक नेपाल’ नाम राखी रकम संकलन कार्यलाई तीव्रता दिँदै आएको छ । सो संस्थाका अनुसार ओखलढुंगा, रामेछाप, काभ्रे, म्याग्दी इलाम र दोलखामा २५ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । उक्त संस्थाले देशमा भइपरी आउने प्रकोप तथा दैवीप्रकोपका नाममा समेत सहयोग संकलन गर्दै आएको पाइएको छ । हालै सो संस्थाले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका– ९ मा ६ रोपनी ११ आना जग्गा खरिद गरी बालआश्रम निर्माण गर्ने भन्दै सहयोग संकलन गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । सो संस्थाले अभियन्ताको रुपमा आबद्ध भई मासिक रुपमा आर्थिक, नैतिक, तथा अन्य सहयोग गर्नेलाई मात्र अभियन्ताको रुपमा लिने गरेको पाइएको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।  । 

५० हजार रुपैयाँभन्दा माथि आर्थिक लगायत अन्य सहयोग गर्नेलाई सो संस्थाको विशेष सहयोगी र अभियन्ता बनेर ५० हजार रुपैयाँभन्दा माथि सहयोग पु-याई अभियान छोडेका अभियन्ताहरुलाई पनि यस संस्थामा विशेष सहयोगीको रूपमा लिइने भन्दै वेबसाइटमा उल्लेख गरेको छ । अभियन्ताहरुबाट प्राप्त सदस्यता शुल्क तथा परोपकारी मनहरुले इच्छाले दिएको सहयोग नै यस संस्थाको आयस्रोत हुने भन्दै सो संस्थाको वेबसाइटमा उल्लेख गरेको भए पनि अहिलेसम्मको कुनै पनि गतिविधि र आर्थिक पारदर्शिता भने गरेको छैन । सो वेबसाइटमा हिसाब–किताबमा पारदर्शिता र अपारदर्शिताको कुरो सबैभन्दा अगाडि आउने भन्दै सोबाट आफ्नो संस्था मुक्त हुने भएकोले यसलाई सुरुका दिनदेखि नै व्यवस्थित र पारदर्शिता बनाउँदै आइरहेको उल्लेख गरिएको छ तर आजसम्मको कुनै पनि हिसाबकिताबको विवरण वेबसाइटमा राखिएको छैन ।

यसैगरी, गैरसरकारी संस्था ‘सेवक नेपाल’ले प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाललाई अभियन्ता भएको भन्दै अवैधरुपमा सहयोग संकलन गर्दै आएको भेटिएको छ । बहालवाला मन्त्रीलाई विना अनुमति सो संस्थाले आफ्नो अभियन्ता भएको भन्दै पोस्टर बनाई सार्वजनिक गरेपछि जारी गरेको विज्ञप्तिमै गल्ती रहेको भेटिएको छ । २०७६ असार ५ गते आइतबार बेलुकीपख सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा ६ गते भन्दै ‘त्रुटि भएकोमा सच्याइएको’ भन्दै जारी विज्ञप्तिमा आफूखुसी नाम र फोटो राखी अभियन्ताको रुपमा अन्य सहयोगीहरुलाई देखाई चन्दा असुली गर्दै आएको आरोप समेत सो संस्थालाई लागेको छ ।

पत्र संख्या उल्लेख नगरेको तर चलानी नम्बर १०९ उल्लेख भएको ‘जोसँग सम्बन्ध राख्दछ’ भन्दै प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री माननीय युवराज दुलाल (सरद) ’सेवक नेपालको अभियन्ता भनी उहाँको अनुमतिविना त्रुटिवश कार्ड छापिई सामाजिक सञ्जालतिर पुगी सर्वसाधारणमा पर्न गएको भ्रम तथा मन्त्रीज्यूलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।’ 

सो विज्ञप्तिमा अगाडि भनिएको छ’, सेवक नेपाल’ले नेपालका अनाथ बालबालिकाको क्षेत्रमा गर्न लागिरहेको कार्यको सन्दर्भमा सल्लाह लिने दौरानमा उहाँले दिनुभएको उच्च साथ र सदाशयताप्रति हाम्रा साथीहरुले उहाँ आबद्ध हुने भएको भन्ने गलत बुझाई रही अभियन्ता भनी कार्ड छापिएको तर भूलचुक सामाजिक सञ्जालतिर पुगेको व्यहोरा जनाउँछौं ।’ अध्यक्ष गंगादेवी पौडेलको नामबाट जारी भएको सो विज्ञप्तिअनुसार सो संस्थाले उच्च पदमा रहेका व्यक्तिसँग भेट गर्ने र भेटपछि अभियन्ता भएको भन्दै अवैध रकम संकलन गर्दै आएको सो घटनाबाट खुलेको छ ।

सो संस्थाको वेबसाइटमा चाबहिल ७ काठमाडौं ठेगाना उल्लेख गरिएको छ भने विज्ञप्तिमा एम्बेसी मार्ग बालुवाटार ४, काठमाडौं भनी उल्लेख गरेसँगै सो संस्थाद्वारा अनाथ बालबालिकाको नाममा रकम संकलन गर्दै आएको पाइएको छ । यसरी भूलवश सामाजिक सञ्जालमा मन्त्री दुलाल ‘सेवक नेपाल’ भन्ने गैरसरकारी संस्थाको अभियन्ता भएको भन्ने पोस्टर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्नुले पनि सो संस्थाद्वारा उच्चपदस्थ कर्मचारीको नामममा अवैध धन्दा चलाउँदै आएको पुष्टि हुन्छ । काठमाडौं महानगरपालिका ७ चाबहिल ठेगाना राखेर ओखलढुंगा, रामेछाप, काभ्रे, म्याग्दी इलाम र दोलखा र सिन्धुपाल्चोक जिल्लामा विभिन्न गतिविधि गर्दै आएको सो एनजीओको अभियन्ताका रुपमा मन्त्री दुलालको फोटो प्रयोग गरी प्रचार गर्दै आएको छ । अछाम जिल्लाका रेमन्त नाथ नाम गरेका व्यक्ति सो संस्थाको अध्यक्षको रुपमा रहेको स्रोतले जनाए पनि विज्ञप्तिमा भने गंगादेवी पौडेल अध्यक्ष भन्दै जारी गरिएको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । 

सो संस्थाको अधिकारी वेबसाइटमा सञ्चालक टिमको पहिचान गोप्य राखिएको छ । यूएचएआईडी नामको विदेशी आईएनजीओबाट सञ्चालनमा रहेको सो सेवक नामको संस्थाले अनाथ र असहाय बालबालिकाहरुको खोजीउद्धार तथा दिगो संरक्षणको निम्ति भन्दै सञ्चालनमा रहेको छ । सो संस्था दक्षिण कोरियाबाट‘ ‘अनाथ बालबालिका संरक्षण कोष’ नामक स्थापना गरेर विभिन्न व्यक्ति तथा संस्थासँग चन्दा असुली गर्दै आएको आरोप लागेको छ । सो संस्थाले अमेरिका, इजरायल, क्यानाडा, मलेसिया साउदी अरेबियालगायतका देशबाट समेत रकम संकलन गर्दै आएको आरोप लागेको छ । सो संस्थाका अनुसार ओखलढुंगा, रामेछाप, काभ्रे, म्याग्दी इलाम र दोलखामा २५ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए पनि सोको कुनै आधिकारिक प्रमाण सार्वजनिक गरेको छैन। 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!