विश्वकप क्रिकेट फाइनल, न्यूजील्यान्डले ब्याटिङ रोज्यो

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लन्डन, इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको छ, तर खेल पूरै ५० ओभरको हुनेछ ।

टस जितेपछि बोल्दै न्यूजील्यान्डका कप्तान केन विलियम्सनले हल्का बादल लागेपनि आफूहरुले ब्याटिङ रोजेको बताउनुभयो । “यो निकै जोखिमपूर्ण निर्णय हो तर यो मैदानमा पहिले ब्याटिङ गर्नु नै ठीक हो । आकाशतर्फ हेर्दा भने सबै चकित पर्छन् ।”

इङ्ल्यान्डका कप्तान इअन मोर्गनले टस नजितेकोमा पछुतो नलागेको बताउँदै यो खेल ५०–५० छ र मैले टस जितेको भएपनि बलिङ पहिले गर्ने थिएँ भन्नुभयो ।

यो प्रतियोगिता जसले जिते पनि दुबैका लागि पहिलो विश्वकप उपाधि हुनेछ । दुबै टिमले यसअघि एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।

यसअघि न्यूजील्यान्डले भारतलाई र इङ्ल्यान्डले अस्ट्रेलियालाई पराजित गरी फाइनलमा पुगेका थिए ।

इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इअन मोर्गन (कप्तान), बेन स्टोक्स, जस बट्लर, लियाम प्लन्केट, क्रिस वोक्स, अदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका छन् ।

त्यस्तै, न्यूजील्यान्डको टिममा मार्टिन गप्टिल, हेन्री निकोल्स, केन विलियम्सन (कप्तान), रस टेलर, टम लथाम, जिम्मी नीसाम, कोलिन डी ग्रान्ड्होम, मिचेल सान्टनर, म्याट हेन्री, लकी फर्गुसन र ट्रेन्ट बोल्ट रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!